मेरिल्याण्ड कलेजले सुरु गर्‍यो विज्ञान संकाय, व्यवस्थापनजस्तै बनाउने लक्ष्य

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले सोमबार आयोजना गरेको कार्यक्रमबाट व्यवस्थापन र विज्ञान संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई औपचारिक स्वागत गरेको हा ।
यस वर्ष कक्षा ११ मा व्यवस्थापन संकायमा ६६३ जना र विज्ञान संकायमा २०३ जना विद्यार्थीहरुले मेरिल्याण्ड रोजेका छन् । व्यवस्थापन संकायमा देशभरका अग्रणी शिक्षालयमध्ये एकका रूपमा परिचित मेरिल्याण्ड कलेजले यसै शैक्षिक सत्रदेखि आधुनिक प्रयोगशालासहित विज्ञान संकायको पठनपाठन सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजले शिक्षामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राख्दै देशभरबाट अब्बल विद्यार्थीहरुलाई आकर्षित गर्न सफल भएको बताए । ‘शिक्षा मार्फत विद्यार्थीको सम्भावना उजागर गर्न हामी सधैं प्रतिबद्ध छौं,’ उनले भने, ‘यस वर्षदेखि विज्ञान संकाय पनि सुरु गरेका छौं, जसलाई व्यवस्थापन जस्तै अब्बल बनाउने हाम्रो लक्ष्य छ ।’

उनले एसईई परीक्षामा ४ जीपीए ल्याउने चार जना विद्यार्थीले मेरिल्याण्ड रोज्नु गर्वको विषय भएको बताए । तीमध्ये दुई जना व्यवस्थापन र दुई जना विज्ञान संकायमा भर्ना भएका छन् । ‘हामीले ४ जीपीए ल्याउने विद्यार्थीसहित प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई कलेजको तर्फबाट सम्मानित गरेका छौं,’ ढकालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि केएमसी कलेज बागबजार काठमाण्डौंका प्रिन्सिपल डा. नगेन्द्र अर्यालले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै विज्ञान संकायको सुरुवातले कलेजको शैक्षिक दायरा अझ विस्तार हुने विश्वास व्यक्त गरे । ‘मेरिल्याण्डले अब विज्ञानमा पनि उत्कर्ष हासिल गर्ने अपेक्षा छ,’ उनले भने, ‘नयाँ भर्ना भएका विद्यार्थीहरुलाई म सफलताको शुभकामना दिन्छु ।’
कार्यक्रममा मेरिल्याण्ड कलेजका संचालक पिके झाले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुको भविष्य निर्माणमा कलेजको भूमिकालाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता जनाए । अर्का निर्देशक डा. मनोज गुप्ताले कलेजको पूर्वाधार, शैक्षिक रणनीति, सहकार्य कार्यक्रम लगायतका विषयमा विस्तृत जानकारी दिए ।
कलेजले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिन आइबीएम कम्पनीसँग सहकार्य समेत सुरु गरेको छ । कलेजको तर्फबाट प्रिन्सिपल ढकाल र आइबीएमको तर्फबाट डाइरेक्टर कृष्ण पाण्डेले सहमतिमा हस्ताक्षर गरेका हुन् ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन निर्देशक भेषराज पोखरेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक सांस्कृतिक प्रस्तुति राखी उपस्थित अभिभावक, अतिथि र सहपाठीहरुलाई मनोरञ्जन दिलाएका थिए ।
मेरिल्याण्ड कलेजले हरेक वर्षको जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउने विश्वास गर्दै गुणस्तरीय शिक्षाका साथ नयाँ अध्यायको सुरुवात गरेको कलेजका अध्यक्ष ढुंगेलले बताए ।

साउन ५, २०८२, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर