विराटनगर भन्सारद्वारा ८१ प्रतिशत महशुल संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले गएको आर्थिक वर्षमा ३३ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । गत वर्ष ४१ अर्ब ५५ करोड रुपैयाँ महशुल संकलन गर्ने लक्ष्य पाएकोमा ३३ अर्ब ६२ करोड संकलन गरेको हो । यो लक्ष्यको तुलनामा ८०.९ प्रतिशत प्रगति हो ।

कार्यालयले आर्थिक वर्ष २०८०-०८१ मा ३० अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली गरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा आर्थिक वर्ष २०८१-०८२ मा कार्यालयले ३ अर्ब २७ करोड रुपैयाँ बढी राजश्व असुली गरेको कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार कार्यालयले सामान आयात र निर्यात शीर्षकमा राजश्व असुली गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भन्सार विभागको ऐन र कानुनभित्र रहेर सेवा ग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रवाह प्रदान गर्दा राजश्व संकलनमा प्रगति भएको जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालयले उठायो ५४ करोड बढी राजश्व

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०-०८१ को तुलनामा आर्थिक वर्ष २०८१-०८२ मा ५४ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले आर्थिक वर्ष २०८०-०८१ मा ८ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा गत आर्थिक वर्ष २०८१-०८२ मा ८ अर्ब ८९ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ५ प्रतिशतले बढी हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१-०८२ मा ८ अर्ब ८९ करोड रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले १० अर्ब ७२ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ८ अर्ब ८९ करोड रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा ८३ प्रतिशतले राजश्व असुली भएको हो ।

कार्यालयले आर्थिक वर्ष २०८१-०८२ मा आय कर तर्फ ३ अर्ब ८५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३ अर्ब ११ करोड, मूल्य अभिवृद्धि कर तर्फ २९ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा २३ करोड र अन्तःशुल्क तर्फ ३५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३१ करोड रुपैयाँ संकलन भएको थियो ।

कार्यालयले ब्याज कर तर्फ ३० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३२ करोड रुपैयाँ संकलन गरेको थियो । यो लक्ष्यको तुलनामा २ करोड रुपैयाँ बढी हो । आन्तरिक राजश्व विभागले आन्तरिक राजश्व कार्यालय विराटनगरलाई आर्थिक वर्ष २०८१-०८२ को पुस महिनामा अन्तःशुल्क कर तर्फ ९२ करोड रुपैयाँ थप संकलन गर्ने गरी नयाँ लक्ष्य दिइएको थियो । यस कार्यालय अन्तर्गतका एक दर्जन भन्दा बढी मझौला तथा ठुला करदाताको फाइल काठमाडौँमा ट्रान्सफर भएकोले लक्ष्य भेटाउन नसकेको शाक्यले जानकारी दिए ।

देशको विषम परिस्थितिमा उत्साह पूर्वक राजश्व असुली गर्ने विषयमा आफू सहित कार्यालयका अधिकृत र कर्मचारी इमानदारीका साथ काम गरेको प्रमुख कर अधिकृत शाक्यले बताए ।

साउन २, २०८२, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर