लोड हुँदैछ...

मेनु

मुटुको उपचार गर्ने केन्द्रमा थपियो जनरल सेवा

मुटुको उपचार गर्ने केन्द्रमा थपियो जनरल सेवा

विराटनगर । ‘प्रदेशका नागरिकलाई सरकारले मुटु उपहार दिएको छु’ भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीको कार्यकालमा संचालनमा ल्याइएको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रमा अब जनरल सेवा पनि थपिने भएको छ । आवश्यक जनशक्ति र उपकरणको अभाव र प्रदेश सरकारको असहयोगका कारण लभालिंग बनेको उक्त केन्द्रमा जनरल सेवा सञ्चालन गर्न खोजिएको हो ।
अब यो अस्पतालबाट मुटु उपचार मात्र नभई स्त्रीरोग, बालरोग र जनरल ओपिडी सेवा पनि दिइने छ । प्रारम्भमा मुटु रोग उपचार केन्द्र बनाउने घोषणासहित तामझापका साथ उद्घाटन गरिएको थियो । तर उक्त केन्द्रमा कहिल्यै पनि आवश्यक जनशक्ति र उपकरणहरु उपलब्ध गराइएन । हृदय रोगको निःशुल्क उपचार गर्ने भन्दै चर्चा गरिए पनि त्यो नारामै सीमित बन्न पुगेको थियो । त्यहाँ विरामीहरुको प्रारम्भिक परीक्षण गरी अन्यत्र रेफर गर्ने बाहेक मुटु उपचारमा खास प्रगति हुन सकेन । अब भने कोशी प्रदेश सरकारले अस्पतालको स्वरूप विस्तार गर्दै जनरल सेवा सुरु गरेको छ । कोशी स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार केन्द्रलाई बहुपक्षीय सेवा दिने अस्पतालका रूपमा विस्तार गर्ने योजना अन्तर्गत यो कदम चालिएको हो ।

‘अहिले केन्द्रबाट स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा र जनरल ओपिडी सेवा सञ्चालनमा छन्,’ उनले भनिन्, ‘यसका लागि चिकित्सकहरू खटिसकेका छन्, र सेवाग्राहीहरू पनि आउन थालेका छन् ।’

१६ करोड बजेट, ५० शय्या बनाउने लक्ष्य

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षमा अस्पताल विस्तारका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । साउन १ गतेदेखि अस्पतालमा लेखा प्रमुख र प्रशासन प्रमुख पदस्थापन भइसकेको छ भने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पनि नियुक्त हुनेछन् ।

हाल जनरल सेवाका लागि छात्रवृत्तिमा रहेका चिकित्सकले सेवा दिइरहेका छन् भने फिजिसियनमा ८औं तहका स्थायी डाक्टर खटिएका छन् । सचिव थपलियाका अनुसार हाललाई सबै सेवा निःशुल्क छन्, र छिट्टै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा मन्त्रालय जुटेको छ । स्वास्थ्य बीमा बोर्डसँग छलफल भइसकेको र प्रणाली मिलाउँदै लगिएको उनले बताइन् ।
अस्पतालको नजिकै रहेको प्रदेश स्वास्थ्य प्रयोगशालामा विरामीहरुले आवश्यक परीक्षण गर्ने व्यवस्थासमेत मिलाइने सचिव थपलियाले जानकारी दिइन् ।

अस्पतालमा अहिले ४२ जनाको दरबन्दी स्वीकृत छ, तर कतिपय पद अझै रिक्त नै छन् । लेखा व्यवस्थापनका लागि अन्य अस्पतालबाट कर्मचारी ल्याएर सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दियो ।

नाम परिवर्तनको प्रस्ताव क्याविनेटमा

अस्पतालको नाम अब ‘शैलजा आचार्य हृदय रोग तथा जनरल अस्पताल’ राख्ने तयारी गरिएको छ । यसको लागि मन्त्रिपरिषद् (क्याबिनेट) मा प्रस्ताव लैजाने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । ‘नामकरणको निर्णय केही दिनमै टुंगो लाग्नेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

विडम्बनापूर्ण विगत

उद्घाटनका बेला ‘मुटु उपहार’ भनिए पनि सेवा दिन नसकेको विडम्बना भोग्नुपरेको थियो । तत्कालीन मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा माघ ८ गते यो अस्पताल उद्घाटन गरिएको थियो । सरकार गठनको १०० दिन पुगेको अवसर पारेर विशेष कार्यक्रमकाबीच उद्घाटन गर्दा तत्कालीन मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘प्रदेशका नागरिकका लागि सरकारले मुटु उपहार दिएको हो ।’ उनले आफ्नो घर छेउको मन्दिर बनाउने बजेट कटौती गरेर अस्पताल निर्माण गरेको दाबी पनि गरेका थिए । तर वास्तविकता भने फरक थियो । उद्घाटनपछि महिनौंसम्म अस्पतालमा न जनशक्ति दिइयो न त आवश्यक उपकरण नै । जनशक्ति र पूर्वाधार अभावका कारण मुटु रोगका बिरामीलाई उपचार गर्न नसकेर अन्य अस्पतालमा पठाउने काम मात्र त्यहाँबाट सम्पादन भयो ।

उद्घाटनको समयमै चिकित्सा जनशक्ति, उपकरण, व्यवस्थापन योजना केही पनि नगरिनु सरकारको कमजोरी थियो । त्यसबेला प्रदेश सरकारले उद्घाटनकै लागि करिब पाँच करोड रुपैयाँ खर्च गरेको थियो । अस्पतालको सञ्चालनको योजना ठोस रूपमा अघि नबढाई, जनताको भावना र राजनीतिक लाभका लागि हतारमा उद्घाटन गरिएको भन्ने आरोपसमेत लागेको थियो ।
सचिव थपलियाका अनुसार अस्पतालले निकट भविष्यमा आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ सेवा, ल्याब सेवा, औषधि वितरण लगायतका सुविधा विस्तार गर्दै जानेछ । ‘हामी एक सुदृढ जनरल अस्पताल बनाउने दिशामा अगाडि बढिरहेका छौं,’ उनले भनिन्, ‘जनशक्ति र उपकरण क्रमशः थपिँदै जानेछ ।’

प्रदेश सरकारले केन्द्रलाई ५० शय्याको जनरल अस्पताल बनाउने स्पष्ट योजना सार्वजनिक गरिसकेको छ । तर विगतको अनुभव हेर्दा योजना व्यवहारमा ल्याउन राज्यको इच्छाशक्ति र तयारीप्रति भने आशंका गर्ने प्रसस्त ठाउँहरु छन् । ‘अहिले जुन सेवा बढी माग भइरहेको छ त्यसलाई प्राथमिकता दिएर विस्तार गरिन्छ,’ थपलियाले भनिन्, ‘अहिलेलाई स्त्रीरोग, बालरोग र सामान्य ओपिडी चलिरहेको छ, पछि आकस्मिक सेवा र विरामी भर्ना गरेर विशेषज्ञ उपचार सेवा दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।