बुढीगंगामा मृत भेटिएकी युवतीको पहिचान खुल्न बाँकी, बलात्कारपछि हत्याको आशंका

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीभित्र नग्न अवस्थामा भेटिएको एक युवतीको शव फेला परेको छ। गत शनिबार अपराह्न भेटिएको उक्त शव सडेको र नग्न अवस्थामा थियो । जसले अपराधको आशंका बलियो बनाएको छ।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी २० वर्ष जतिको देखिन्छ। चार दिन बितिसक्दासमेत शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङले युवतीका कपडा, गहना र हातमा लगाइएको ब्यान्ड सार्वजनिक गरेको छ।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनास्थलमा भेटिएको शारीरिक अवस्था र प्रमाणका आधारमा यो ‘दुर्घटना नभइ हत्या नै हो’ भन्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको जानकारी दिइन्।

“शवको पहिचान अझै नखुलेकाले अनुसन्धानमा कठिनाइ छ। तर, हामीले अनुसन्धानलाई सूक्ष्म ढंगले अघि बढाएका छौं,” डीएसपी चुँडालले भनिन्, “सर्वसाधारणको सहयोगबाट पहिचानमा टेवा पुग्ने विश्वासका साथ कपडा र गहना सार्वजनिक गरेका हौं।”

उनका अनुसार घटनास्थलमा मृतकको पाइन्ट, चप्पल, कपालको क्लिपजस्ता सामग्री फेला परेका छन्। शवको कम्मरभन्दा तल कपडा थिएन, जसले बलात्कारपछि हत्या भएको आशंका थप बलियो बनाएको छ।

घटनास्थल बुढीगंगा औद्योगिक क्षेत्र नजिकै रहेको हुँदा मृतक कुनै उद्योगमा काम गर्ने श्रमिक हुनसक्ने अनुमान गरिएको छ। हालसम्म परिवारजनले सम्पर्क न गरेको, हराइरहेका युवतीबारे जानकारी नआएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको यथार्थ पत्ता लगाउन सर्वसाधारणबाट जानकारी लिने काम भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

मङ्गलबार, ३१ असार, २०८२, दिउँसोको ०२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर