विराटनगर । स्वास्थ्य बीमा बोर्डको सर्भर प्रणाली अवरुद्ध हुँदा बिरामीहरूले सास्ती पाएका छन् । मंगलबार बिहानैदेखि देशभर नै स्वास्थ्य बीमाको सर्भर डाउन भएको छ । प्रदेशकै ठूलो कोशी अस्पताल र मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बीमाको सर्भर डाउन भएपछि सेवाग्राही र अस्पताल प्रशासन समस्यामा परेका छन् ।
कोशी अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमाको डिजिटल प्रणालीमार्फत बिरामीको विवरण दर्ता र भुक्तानी प्रक्रिया सञ्चालन हुने भएपनि सर्भर लगातार डाउन हुँदा सेवा अवरुद्ध भएको हो । यसले स्वास्थ्य बीमाबाट उपचार गराउँदै आएका बिरामीलाई प्रत्यक्ष असर गरेको छ । ‘बिहानैदेखि बिरामी र आफन्तहरूले चर्को गुनासो गरिरहेछन् तर सर्भर नचलेपछि अस्पतालका कर्मचारी पनि समस्या छन् ।
सर्भर डाउन हुँदा बिरामीहरूलाई न त फाराम भर्न सहज भयो, न त औषधि लिन नै । कतिपयले उपचारका लागि आफ्नो खल्तीबाट खर्च गर्नुपर्यो भने केही बिरामी भने सिधै फर्किन बाध्य भए ।
‘पटक–पटक बोर्डमा जानकारी गराएका छौं तर अहिलेसम्म कुनै समाधान नआएको गुनासो छ,’ कोशी अस्पतालका मेसु डा. रूणा झाले भनिन् । उता, बिरामीका आफन्तहरू भने उपचारमा ढिलाइ भएपछि आक्रोशित देखिन्थे । कतिपयले अस्पताल प्रशासनमाथि अव्यवस्थापनको आरोप लगाउँदै चर्काचर्की समेत गरे ।
स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै गएपनि प्रविधिगत पूर्वाधार सुदृढ नभएकाले समस्या बढ्दै गएको छ । सरकारले डिजिटल प्रणालीको भर परेर योजना त ल्यायो तर आधारभूत तयारी नगरेकै कारण बारम्बार यस्ता समस्या आइरहेका छन् । स्वास्थ्य बीमा बोर्डले देशभरका सरकारी तथा सहकार्यमा रहेका अस्पतालहरूमा अनलाइन प्रणाली लागू गरेको छ । तर, सर्भरको अस्थिरता, डेटा अपलोडको कठिनाइ र प्रविधि अभावका कारण योजना कार्यान्वयनमै चुनौती आइरहेको देखिन्छ । यसैबीच, बिरामीहरू र अस्पताल प्रशासन दुवैले तत्काल सर्भर समस्या समाधान गरी नियमित सेवा सञ्चालनको माग गरेका छन् ।

