धरान । सुनसरीको धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले फायल अपहरण गरेका कारण निर्माण सम्पन्न भएको ४५ वटा योजनाको रकम भुक्तानी हुन नसकेको पाइएको छ ।
उपमहानगरका उपप्रमुख आइन्द्रबिक्रम बेघाका अनुसार नगरप्रमुखले असार १६ गते लेखा शाखाबाट फायल अपहरण गरी आफ्नो कब्जामा राखेको कारण समयमा कर्मचारीले कम्प्युटर ईन्ट्री गर्न नसक्दा ४५ योजनाको ९१ लाख ४९ हजार ६ सय रुपैयाँ भुक्तानी हुन नसकेको हो ।
फायल अपहरण गर्ने मान्छेले यसको जिम्मेवारी लिनुपर्ने भन्दै बेघाले नगर प्रमुखको कारण उपभोक्ताले गरेको कामको भुक्तानी नपाएको बताए । ‘स्थानीय श्रोतको बजेट भएका कारण दायित्व सर्ने सम्भावना छ । तर, बजेट भुक्तानी हुने सुनिश्चित छैन’ उनले भने, ‘उपमहानगरपालिकाको बजेट बनेको भए अर्को मङ्सिरको नगरसभाले स्रोत र बजेट सुनिश्चित गर्नुपर्ने अवस्था हुन्थ्यो । अप्ठ्यारो स्थिति भएको छ ।’
उपभोक्ताले गरेको कामको भुक्तानी नभएपनि साम्पाङको योजनामा नक्कली श्रमदाता खडा गरेर गरिएको धरान–१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यको भने भुक्तानी भएको छ । नक्कली डोर हाजिरी कागजको आधारमा उपभोक्ता समितिले ७ लाख ३१ हजार १५७ रुपैयाँ रकम भुक्तानी लिएको छ ।
श्रमदानको नाममा खडा गरेको किर्ते फायलमा उपप्रमुख बेघाले हस्ताक्षर गर्न अस्वीकार गरेको भएपनि ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईको सहमतिमा भुक्तानी भएको हो । श्रमदानबाट बनेको भनिएको धरान–१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यको नगरपालिका कोषबाट रकम निकाल्न डोर हाजिरी गरिएको पाइएपछि विवाद भएको थियो ।
सोही रकम भुक्तानी नभए अन्य सबै निर्माणको भुक्तानी नहुने भन्दै नगर प्रमुख साम्पाङले लेखा शाखाबाट भुक्तानीको प्रक्रियामा रहेका फायलहरू कब्जामा लिएका थिए । असार २३ गते नक्कली भनिएको काममा भुक्तानी गर्ने सहमति भएपछि उनले फायल फिर्ता गरेका थिए । तर, ४५ वटा फायलको भुक्तानी हुन सकेन ।विवादित श्रमदान भएको भनिएको रकमको चेक धरान–१६ को उपभोक्ता समितिका अध्यक्ष धरान–१४ का प्रसाद राईले बुझेका छन् ।