विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीलाई वडाध्यक्षले ‘गाउँपालिका बाउको सम्पत्ती हो ?’ भनेर प्रश्न गरेपछि दुई जना वडाध्यक्ष निलम्बनमा परेका छन् ।

गाउँपालिका अध्यक्ष माझीले गाउँसभामा अनुशासन भङ्ग गरेको आरोप लगाउँदै दुई जना वडाध्यक्षलाई सभामा सहभागी हुनबाट ७ दिनका लागि निलम्बन गरेका हुन् ।अध्यक्ष माझीले बिहीबार एक पत्र जारी गर्दै वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरी र वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरीलाई ७ दिनसम्म गाउँसभामा आउन नपाउने आदेश दिएका हुन् । गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६(४) अनुसार यस्तो आदेश गरिएको हो ।

पत्रमा गाउँ सभाको १७ औं बैठकमा उनीहरूले अनुशासन भङ्ग गरेको, अपमानजनक शब्द बोलेको र सभाको प्रतिष्ठामा धक्का पु¥याएको आरोप लगाइएको छ । निलम्बित दुवै वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् । गत मंसिरमा भएको उपनिर्वाचनमा माओवादी केन्द्रबाट माझी अध्यक्षमा निर्वाचित भएपछि कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले लगातार असहयोग गर्दै आएका छन् ।

निलम्बनमा परेका वडाध्यक्षहरूले भने आफूहरूले प्रक्रियागत प्रश्न उठाउँदा अध्यक्षले निरंकुश तरिकाले कारबाही गरेको दावी गरेका छन् । पालिका अध्यक्ष माझीले भने गाउँ सभामा भएको अभद्र व्यवहार र पालिकाको कामकारबाहीमा निरन्तर गरिएको अवरोधको कारण निलम्बन गरेको जनाएका छन् ।

‘अध्यक्षको कुरा नमान्ने, आफ्नै हिसाबले बोल्ने, टेबल ठोक्ने, चुप लाग्न आग्रह गर्दा पनि अटेर गर्ने जस्ता गतिविधि भए’, उनले भने, ‘अझ सभाको अध्यक्षता गर्नेमाथि तथानाम बोल्ने काम भयो । गाउँ सभा सञ्चालन ऐन र कार्यविधिको ठाडो उल्लंघन भयो । यस्तो अराजकतालाई पालिकाले सहन सक्दैन ।’

आफूलाई ‘पालिका तिम्रो बाउको हो ?’ भन्ने जस्ता अमर्यादित कुरा गरेकोले निलम्बन गर्नुपरेको माझीको भनाइ छ । पछिल्लो १८ पटक कार्यपालिका बैठक बोलाउँदा जम्मा २ वटा बैठक मात्र राम्रोसँग सम्पन्न भएको भन्दै उनले १६ वटा बैठक उनीहरूकै कारणले असफल भएको बताए ।

२०७९ को निर्वाचनमा विजयी तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनपछि भएको उपनिर्वाचनमा माझी विजयी भएका थिए । उनी निर्वाचित भएपछि पालिकामा विभिन्न विवादहरू उत्पन्न हुँदै आएका छन् ।पालिकामा उपाध्यक्षसहित एमाले जनप्रतिनिधिको बहुमत छ । अध्यक्षको निर्वाचन हुनु अगाडि उपाध्यक्षले कार्यबहाकको रुपमा पालिकाको नेतृत्व गरेकी थिइन् । त्यो खोसिएपछि एमालेमा छट्पटी भएको आरोप माओवादीका जनप्रतिनिधिले लगाउँदै आएका छन् ।