विराटनगर । विराटनगरमा रहेका उच्च माध्यमिक विद्यालयहरूले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि प्रवेश परीक्षा राखेका छन् । एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई लक्षित गरी यहाँका उच्च माध्यमिक विद्यालयहरूले बुधबार प्रवेश परीक्षा राखेका हुन् ।
शिक्षादीप कलेज
शिक्षादीप कलेजमा भर्ना हुनका लागि विज्ञान संकायमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका छन् । विज्ञान संकायका लागि भएको परीक्षामा ८ सय सिटका लागि लिइएको परीक्षामा करिब २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका विज्ञान संकायका को–अर्डिनेटर नविन रायले जानकारी दिए ।

कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीहरूले प्रवेश परीक्षा दिएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी गराए।
कोशी प्रदेशको राजधानी विराटनगरको शिक्षादीप कलेजमा कोशी र मधेस प्रदेश बाहेक पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीहरूले प्रवेश परीक्षामा सहभागिता जनाएका हुन् । बिहान र दिउँसो गरी २ सिफ्टमा अध्ययनका लागि ८०० विद्यार्थीलाई मात्र भर्ना लिइने प्रिन्सिपल खड्काले बताए ।
एभरेस्ट कलेज
विराटनगर–५ स्थित एभरेस्ट कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि ५१७ जनाले आज प्रवेश परीक्षा दिएका छन् । सीमित सिटमा मात्र भर्ना लिने एभरेस्टले विज्ञान र व्यवस्थापन संकायका लागि प्रवेश परीक्षा लिएको हो ।
एभरेस्ट कलेजले विज्ञान संकायमा चार सेक्सनका लागि १४० जना र व्यवस्थापन संकायको तीन सेक्सनमा १०५ जना मात्र विद्यार्थी भर्ना लिइने बताएको छ ।
प्रवेश परीक्षा दिने विद्यार्थीहरूमध्ये ४ जीपीए ल्याउने ५ जना – प्रेम खतिवडा, कृति गोयल, श्रेय शर्मा, संयोग भट्टराई र अर्पण रोयले प्रवेश परीक्षा दिएका हुन् ।एभरेस्टले एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ भने कक्षा कोठालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वातानुकूलित र पूर्ण डिजिटलाइज बनाएको छ । यस्तै प्रविधिको पूर्ण उपयोग गरेको छ ।
सुविधासम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापकहरू, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा पर्याप्त खेलकुद र अतिरिक्त क्रियाकलापले विद्यार्थी तथा अभिभावकलाई मोहित बनाउँदै आएको छ । ‘हामी विद्यार्थीको संख्या धेरै बनाउन नभएर हाम्रा विद्यार्थीलाई उत्कृष्ट बनाउन चाहन्छौं,’ प्रिन्सिपल टिकाराम पुरीले भने, “हामी हाम्रो कोटा अनुसार मात्र विद्यार्थी भर्ना लिनेछौं ।’
यस्तै एभरेस्टले यस वर्षदेखि विद्यार्थीलाई युगसापेक्ष अगाडि बढाउन एआई (कृत्रिम बुद्धिमत्ता), साइबर सेक्युरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भएको छ ।
हरेक विद्यार्थीको शैक्षिक उन्नयन रोकिन नपाओस् भन्नका लागि ’माई सेकेण्ड टिचर’ एप्लिकेसनको उपयोग गरेको छ। जसबाट विद्यार्थीहरूले मोबाइल तथा ग्याजेटका माध्यमबाट कलेजमा सिकेका कुराहरूलाई दोहो¥याई–दोहो¥याई अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने कलेजले जनाएको छ ।
माई सेकेण्ड टिचरले विद्यार्थीहरूलाई नबुझेसम्म सिक्न प्रेरित गर्ने मात्र नभएर ग्याजेटको सही सदुपयोग गर्न समेत अभिप्रेरित गर्दै आएको छ । यसैगरी एभरेस्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीका लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरू नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरू सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।
ग्रिनल्याण्ड कलेज

विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल म्यानेजमेन्ट र व्यवस्थापन संकायका गरी १ हजार ५१ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।
प्रिन्सिपल दाहालका अनुसार ७ सय ५० विद्यार्थी भर्ना गर्ने बताइएको छ। कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अंक र प्रवेश परीक्षामा पाएको अंकको आधारमा छुट दिइने प्रिन्सिपल दाहालले बताए ।