नयाँ सूर्योदय गन्तव्य बन्दै ध्वजे डाँडा

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर २ स्थित ध्वजे डाँडामा पर्यटकीय पूर्वाधार विस्तारसँगै सूर्योदय अवलोकन गर्न आउने पर्यटकहरूको संख्या निरन्तर बृद्धि भइरहेको छ । समुद्री सतहदेखि करिब २ हजार २०० मिटर उचाइमा अवस्थित यो डाँडा हाल आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा यहाँ व्यापक पूर्वाधार निर्माण कार्य सम्पन्न भइरहेको छ । प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटमा पैदल मार्गमा सिँडी र भित्ता निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिएका छन् ।

विभिन्न जातजातिको पहिचानका लागि बहुसांस्कृतिक पार्कमा खुर्पेटो र सिलाम्याक्माको स्तम्भ निर्माण गरिएको छ । गुराँसे ध्वजे पटेक पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत बहुसांस्कृतिक प्रतीक पार्क निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर मगरले बताए ।

यस डाँडाबाट पूर्वी हिमशृंखला, हरियाली वनजंगलले ढाकेका पहाड र तराईको फाँटसमेतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुलेको दिनमा कञ्चनजंघादेखि मकालु हिमालसम्मको हिमशृंखला स्पष्ट देखिने भएकाले पर्यटकहरू यहाँ निकै आकर्षित भइरहेका छन् ।

स्थानीय पर्यटन प्रवर्धनका लागि पालिकाले होमस्टे सञ्चालनमा स्थानीयहरूलाई प्रोत्साहन दिइरहेको छ । हाल केही घरधुरीले होमस्टे सेवा सुरु गरिसकेका छन् भने अन्य तयारी अवस्थामा छन् । सडक सञ्जालको विस्तारसँगै डाँडासम्मको पहुँच सहज बनेको छ ।

पालिकाउपाध्यक्ष गिता गुरुङ खेवाले ध्वजे डाँडालाई पूर्वी नेपालकै चर्चित सूर्योदय गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । यसले पर्यटनसँगै रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

युवाहरूले राष्ट्रिय झण्डा फहराएर देशभक्तिको भावना प्रकट गर्ने यो स्थान सांस्कृतिक, भौगोलिक र राष्ट्रिय गौरवका दृष्टिले विशेष महत्व राख्दै पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापना हुँदै गएको छ ।पर्यटकहरूका लागि थप सुविधा प्रदान गर्न पालिकाले भविष्यमा रेस्टहाउस, टी हाउस र खाना पकाउने ठाउँको व्यवस्था गर्ने योजना बनाएको छ । साथै स्थानीय युवाहरूलाई पर्यटन गाइडको रूपमा तालिम दिएर रोजगारीका अवसर सिर्जना गर्ने तयारी छ ।

पछिल्लो समय प्रचार प्रसारको अभावका कारण ओझेलमा रहेको यो डाँडा सामाजिक सञ्जाल र मिडियाको माध्यमबाट व्यापक प्रचार भएसँगै फोटोग्राफी र ट्रेकिङका लागि मनपर्ने गन्तव्य बनेको छ । धनकुटा जिल्लाको चौबीसे क्षेत्रमा पर्ने यो स्थानले निकट भविष्यमा कोशी प्रदेशकै पहिचान बन्ने सम्भावना देखिएको छ ।

मङ्गलबार, १७ असार, २०८२, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर