विराटनगर । मोरङ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका विद्यार्थीमध्ये ७३.३५ प्रतिशतले सफलता हासिल गरेका छन् । जिल्ला शिक्षा समन्वय इकाई, मोरङका अनुसार शनिबार सार्वजनिक भएको नतिजामा जम्मा १८ हजार १०० जना विद्यार्थीमध्ये ११ हजार ८९१ जना उत्तीर्ण भएका छन् ।
मोरङबाट ४ जिपिए ल्याउने १८ जना, ३.६१ देखि ३.९६ ल्याउने २ हजार २४८ जना, ३.२१ देखि ३.६० जीपिए ल्याउने ४ हजार १२१ जना रहेका छन् । २.८१ देखि ३.६० जीपिए ल्याउने ३ हजार ४०२ जना, २.४१ देखि २.८० जीपिए ल्याउने १ अजार ८६९ जना, २.०४ देखि २.४० जिपिए ल्याउने २३१ जना र १.९५ देखि १.९९ जीपिए ल्याउने २ जना विद्यार्थी रहेका छन् ।
एक विषय लागेको १ हजार ८ सय १ जना रहेका छन् भने दुई विषय लागेका ८८५ जना रहेका छन् ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा मोरङबाट ३९६ विद्यालयबाट छात्र ८ हजार ९५८ जना र छात्र ९ हजार १४२ जना सहभागी थिए । जसमध्ये १६ हजार २११ साधरण, प्राविधिक धार ६१० र ग्रेडवृद्धि १२ सय ७९ जना विद्यार्थी रहेका थिए ।
जसमध्ये १७२ सामुदायिक, २२४ संस्थागत र १५ वटा प्राविधिकधारका विद्यालय रहेका छन् । शिक्षा समन्वय इकाई, मोरङले यस्तो सफल नतिजा ल्याउनमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको साझा भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर अझ सुधार गर्दै लैजान प्रतिबद्धता जनाएको छ ।
यी हुन् ४ जिपिए ल्याउने १८ विद्यार्थी
विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोरङ जिल्लाका १८ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
जिल्ला शिक्षा समन्वय इकाई, मोरङका अनुसार १८ मध्ये सबैभन्दा बढी विद्यार्थी विराटनगर क्षेत्रका रहेका छन् ।
विराटनगरबाट मात्रै १६ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् । त्यसैगरी, पथरीशनिश्चरे नगरपालिकाबाट २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
सबैभन्दा बढी ४ जिपिए ल्याउने विद्यार्थीहरू विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलबाट रहेका छन् । सो विद्यालयका ६ जना विद्यार्थीले पूर्ण अंक ल्याएर शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका हुन् । ती विद्यार्थीहरूमा अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोद्दार, प्रिन्सा साह र स्नेतहल राज साह रहेका छन् ।
यसैगरी, विराटनगरकै सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयका चार विद्यार्थीले पनि ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरूमा प्रिन्सकुमार गुप्ता रौनियार, प्रियांश यादव, समयोग भट्टराई र श्रेय शर्मा रहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीबाट यस्तो उत्कृष्ट नतिजा आउनु गर्वको विषय बनेको छ ।त्यसैगरी, एभरेष्ट स्कुलबाट कृती गोयल र प्रेम खतिवडाले ४ जिपिए ल्याएका छन् भने पोखरिया स्कुलबाट रागिनी न्यौपानेले सोही ग्रेड हासिल गरेकी छन् ।
सगरमाथा स्कुलका सुशोभित न्यौपाने, कान्तिपुर स्कुलकी आयुषा कार्की र जेम्स इन्टरनेशनल स्कुलकी श्रीजल पोखरेल पनि ४ जिपिए हासिल गर्ने सूचीमा परेका छन् ।पथरीशनिश्चरे नगरपालिका अन्तर्गत बाल्मिकी बोर्डिङ स्कुलका आयुष्मा दाहाल र निश्चल न्यौपानेले पनि पूर्ण ग्रेड ल्याएर नगरको शैक्षिक गरिमा बढाएका छन् ।
जिल्लामा सरकारी, निजी तथा सामुदायिक विद्यालयहरूबाट ४ जिपिए ल्याउने विद्यार्थीहरूको संख्या बढ्दै जानु शिक्षा प्रणालीमा भइरहेको सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
जिपिए ४ ल्याउने आयुषालाई कान्तिपुरको सम्मान
विराटनगरको कान्तिपुर माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । ४ जिपिए ल्याउने आयुषा कार्कीलाई नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेको हो ।
पुरस्कार कलेजका प्रिन्सिपल भुवन नेपालले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
विद्यालयले प्रकाशित गरेको विवरण अनुसार, ६० जना परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ११ जनाले ३.६१ देखि ४ जिपिए, ४१ जनाले ३.२१ देखि ३.६० जिपिए र ७ जनाले २.९५ देखि ३.२० जिपिए हासिल गरेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै टप छात्रा आयुषा कार्कीले आफ्नो सफलता विद्यालयको मेहनती शिक्षक, समयमै भएको कक्षा सञ्चालन र सकारात्मक वातावरणको फल भएको बताइन्। उनले भनिन्, “कान्तिपुर स्कुलको पठनपाठनको स्तर निकै उच्च छ । यही कारणले गर्दा मैले ४ जिपिए ल्याउने सफलता पाएको हुँ ।” उनले एसइई परीक्षा पास गरेका अन्य विद्यार्थीहरूलाई पनि कान्तिपुर कलेजमा अध्ययन गर्न सुझाव दिँदै भनिन्, “यहाँका दक्ष र अनुभवी शिक्षकहरूबाट पढ्न पाउनु नै ठूलो अवसर हो ।”
आयुषाले अब विज्ञान संकाय लिएर कान्तिपुर कलेजमै कक्षा ११ मा अध्ययन गर्ने निर्णय लिएको जानकारी दिइन्। उनले कलेजलाई आफ्नो पहिलो रोजाइ बनाएको भन्दै विश्वास व्यक्त गरिन् कि यस संस्थाबाट प्राप्त शिक्षा भविष्य निर्माणमा प्रभावकारी हुनेछ ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भुवन नेपालले आयुषासहित सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै भने, “कान्तिपुर विद्यालय सधैँ विद्यार्थीको समग्र विकासमा केन्द्रित रहँदै आएको छ। हाम्रा शिक्षकको परिश्रम, विद्यार्थीको लगनशीलता र अभिभावकको विश्वासकै कारण आज हामीले यस्तो उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हौँ ।”
प्रिन्सिपल नेपालले आयुषालाई टप गरेकाले विद्यालयले कक्षा ११ र १२ दुबै वर्षका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने घोषणा गरे । उनले विज्ञान तथा व्यवस्थापन दुवै संकायमा कलेजले उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र अब विज्ञान संकायमा अझ विशेष तयारी कक्षाहरू सञ्चालन गरिने जानकारी दिए ।
जिपिए ४ ल्याउने विद्यार्थीले रोजे मेरिल्याण्ड
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए ल्याउने दुई जना विद्यार्थीले विराटनगरमा रहेको मेरिल्याण्ड कलेज अध्ययन गर्ने भएका छन् ।व्यवस्थापन शिक्षामा विगत २३ वर्षदेखि अब्बल मानिँदै आएको मेरिल्याण्ड कलेजले यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय सञ्चालनमा ल्याएसँगै यस कलेजप्रति विद्यार्थीहरूको आकर्षण झनै बढेको हो ।
विराटनगरको बिकेभीएम स्कुलका मौलिक ढकाल र जेम्स इन्टरनेशनल स्कुलकी सृजा पोखरेलले मेरिल्याण्डमै विज्ञान संकायमा अध्ययन गर्ने निर्णय गरेका छन् ।उक्त छात्र–छात्रालाई भर्ना स्वागत गर्दै कलेजका डाइरेक्टर भेषराज पोखरेलले आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिए । “देशका जेनेर प्रतिभाशाली विद्यार्थीहरूले मेरिल्याण्ड रोज्नु हाम्रो लागि गर्वको कुरा हो,’ उनले भने । अर्का डाइरेक्टर प्रदीप भगतले मेरिल्याण्डको प्रतिष्ठा र शिक्षाको गुणस्तरप्रति विद्यार्थीहरूको भरोसा झल्किएको बताउँदै, “यसले हामीमाथि अझ थप उत्तरदायित्व बढाएको छ,” भने ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजमा रहेको अत्याधुनिक प्रयोगशाला (ल्याब), उच्च नतिजा दिने शैक्षिक प्रणाली र उत्कृष्ट पूर्वाधार नै विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने प्रमुख कारण भएको स्पष्ट पारे । उनका अनुसार विज्ञान संकायको सुरुवातसँगै भविष्यमा मेडिकल, इन्जिनियरिङ, बायोटेक्नोलोजी जस्ता क्षेत्रको तयारी पनि सँगसँगै गरिनेछ।
साइन्स डाइरेक्टर शिवनारायण यादवका अनुसार मेरिल्याण्ड कलेजले काठमाडौँको प्रख्यात तयारी संस्थासँग सहकार्यमा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न लागेको छ । ‘कलेजको क्युरिकुलम मात्रै होइन, प्रतिस्पर्धात्मक तयारी पनि एकैसाथ हुने भएकाले विद्यार्थीको भविष्य सुनिश्चित हुने विश्वास हामीले लिएका छौँ,” उनले भने ।
कलेजको नाम, प्रतिष्ठा र अघिल्लो वर्षहरूमा देखिएको उत्कृष्ट शिक्षण शैलीका कारण हरेक वर्ष विद्यार्थी तथा अभिभावकमाझ यस कलेजको लोकप्रियता बढ्दो छ। व्यवस्थापन शिक्षामा लिएको अनुभव, व्यवस्थापनको दक्षता, अनुभवी शिक्षकहरू र विद्यार्थी केन्द्रित वातावरणको कारण मेरिल्याण्ड कलेजले लगातार सफलता हासिल गर्दै आएको छ।

