
विमल लामिछाने
पछिल्लो समय धेरै पत्रकारहरुको आय आर्जनको मुख्य श्रोत नै स्थानीय पालिका भएको छ । पालिकामा प्रपोजल नहाल्ने पत्रकारको संख्या कमैमात्र होला । कि उ पहुँचमा छैन, कि आस्थाको आधारले उसको विपक्षमा पालिकाको नेतृत्व छ । कि उसले बास्तवमा प्रतिपक्षी कलमी धर्मलाई बचाइराखेको छ ।
जसका धेरै प्रपोजल पास भएका छन्, र जसले सबैभन्दा धेरै चाकडी र ब्यापार गरिरहेको छ, जसले एउटा घरानाको पक्षपोषण गरिरहेको देखिन्छ, उही ठूलो स्वारमा पत्रकारिता स्वतन्त्र हुनुपर्छ भनिरहेको सुन्दा समाजमा पत्रकारिता पेशा नै लजाउन थालेको आभाष हुन्छ । के हो स्वतन्त्र पत्रकारिता भनेको ? को छ यो समाजमा स्वतन्त्र मान्छे ? कहाँ भएको छ स्वतन्त्र पत्रकारिता ? कसले गरेको छ त्यसको नेतृत्व ?
भनिन्छ, ‘पत्रकारिता एउटा प्रतिष्ठित र सम्मानित पेसाका साथै जनउत्तरदायी पेसा पनि हो । यसले सञ्चारकर्मको माध्यमबाट विद्यमान विकृति, विसंगति तथा तमाम अँध्यारो पक्षलाई चिर्दै समग्रमा समाजलाई अग्रगमनतर्फ डो¥याउने कार्य गर्दछ ।’ त्यसो हो भने तपाईंको स्वतन्त्रताको खल्लो नाराले यो मिसन पूरा गर्न सक्छ ?
वर्गीय समाजको चरित्र अनुसार हरेक कुरामा वर्गीय पक्षधरता प्रवल भएर अगाडि आउँछ । जनपक्षीय पत्रकार वा पत्रकारिताले सर्वहारा, श्रमजीवी, शोषित र उत्पिडितको पक्षमा आफूलाई उभ्याउँछ । ‘समाज परिवर्तनको मिसन’ बोकेको पत्रकारिताले मात्रै अहिलेसम्म दविएका आवाजलाई सतहमा ल्याउन सहयोग पुगेको छ । आवाजविहीनहरुको वास्तविक आवाज बन्ने काम नै जनपक्षीय पत्रकारिताका पक्षधरहरुले गरेका छन् । देखेको कुरालाई सही र सत्य रुपमा पेश गर्न नसक्ने पत्रकारिता समाज परिवर्तनको पक्षधर अथवा जनपक्षीय हुन सक्दैन । त्यस्तै अनेकन लोभमा फसेर कसैको इसारामा गरिने पत्रकारिता पनि जनपक्षीय हुन सक्दैन ।
नेपालको पत्रकारिताको सन्दर्भमा जनपक्षीय पक्षपोषण भएको वर्गीय पत्रकारिता गरेको भनी दावी गर्ने थुप्रै मिडिया हाउस र मिडियाकर्मी छन् तर उनीहरूले त्यसलाई ट्रेडमार्कको रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । वास्तविक जनपक्षीय पत्रकारिता गर्नेहरुले भ्रमको त्यो पर्दा च्यात्न जरुरी छ ।
वास्तविकता यस्तोपनि हुन सक्छ, स्वतन्त्रको खोल ओडेका पत्रकारले जनपक्षीय पत्रकारलाई नमान्न पनि सक्छन् । यो उनीहरुको दृष्टिकोणको सवाल हो, कित्ता फरक परेपछि यस्तो हुनु अनौठो पनि होइन । वर्ग संघर्ष, त्याग र बलिदानको माझबाट स्थापित जनपक्षीय पत्रकारितालाई बुझ्न र मनन् गर्न त्यही अनुसारको चेतनाको विकास भएको हुनुपर्छ ।
जनपक्षीय पत्रकारिता केवल पल पल भइरहने नयाँ घटना र विविध समाचारमा मात्रै केन्द्रित रहँदैन, यसको दायरा ठूलो र वृहत् हुनुपर्छ । समाजले अगाडि जाने वाटो अब कुन हो ? यहाँको जातीय र क्षेत्रीय र वर्गीय उत्पिडनको अवस्था के छ ? सिंगो समाजलाई कुन वर्गले शासन गरिरहेको छ ? यी र यस्ता गहन विषयहरुको किटान गर्दै जनताको शक्तिलाई अग्रगमनतर्फ अग्रसर गराउन उत्प्रेरित गर्ने कार्य चाकडी पत्रकारितामा बाँचेका स्वतन्त्रको डम्फू बजाउनेहरुबाट सम्भव हुँदैन । यो जनपक्षीय र वर्गीय मिसन पत्रकारिताको चेतबाटमात्रै सम्भव छ ।
पत्रकारितामा व्यवसायिकता पनि जरुरी छ । जिविकोपार्जन गर्दै अझै बढि लेख्ने हुनुपर्छ, पेशा गरिसकेपछि सामान्यतया घर पनि चल्नुपर्छ, तर पत्रकारितालाई कभर बनाएर कालो धन कमाउन होइन ।व्यवसायिक पत्रकारिताको कुरा गरिरहँदा यहाँ अर्को समस्या पनि छ । मालिक पत्रकार र मजदुर पत्रकारविचको अन्तरविरोध । हामीले देखेका छौ कतिपय ठूला लगानीमा सञ्चालित मिडिया मालिक र राती रातभर सोही मिडिया हाउसमा खटिने श्रमजीवी पत्रकार विचको फरक के कस्तो छ । विडम्बना ! कहिलेकाहीँ उ आफैपनि समाचारको हेडलाईन बनिदिन्छ । यस्ता उदाहरण धेरै छन् । एक वर्गले अर्को वर्गको हात बाँध्ने, मूख थुन्ने अवस्था रहदासम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नारा पनि थान्को लाग्नेवाला छैन । यो निश्चित चरण सम्म निरन्तर गुन्जिरहने देखिन्छ किन कि वर्गीय विभाजित समाज व्यवस्था भएको कारण नै उब्जिएको प्रश्न हो ।
हामीले पत्रकारिता किन र कसका लागि गर्ने भन्ने विषयमा प्रष्ट हुन जरुरी छ । हाम्रो पत्रकारितामा समाजले न्याय र समानताको साथै परिवर्तनको आश गरेको हुन्छ । नकि समाज नै वर्गीय भएपछि सोही समाजमा रहेर गरिने पत्रकारिता स्वतन्त्र हुन्छ भन्नु भ्रममात्रै हो ।