विराटनगर । मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा, अनुसन्धान र उत्पादनमा महत्वाकांक्षी योजना अघि सारेको छ । तर, पर्याप्त बजेट अभावका कारण ती योजनाहरू कार्यान्वयनमा गम्भीर चुनौती देखिएको छ ।
विश्वविद्यालयले सन्चो, भिक्स र बाम तेलजस्ता उत्पादनहरू विकास गर्नुका साथै क्यान्सरजन्य रोगका लागि हानिकारक ब्याक्टेरिया मार्ने भाइरस र मधुमेह नियन्त्रण गर्ने जडीबुटीमा आधारित औषधिको अनुसन्धान पनि अन्तिम चरणमा पु¥याएको जनाएको छ । तर, प्रदेश सरकारबाट मागअनुसार बजेट प्राप्त नहुँदा कर्मचारीको तलबसमेत खुवाउन नसक्ने अवस्था आएको विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाषश्री पोखरेलले जानकारी दिए ।
‘हामीले ३७ करोड रुपैयाँ बजेट माग गरेका थियौं, तर प्रदेश सरकारबाट जम्मा १४ करोड मात्र विनियोजन भयो, जुन हाम्रो लक्ष्य र योजनाका लागि अत्यन्तै न्यून हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति पोखरेलले भने, ‘हामीले प्राविधिक शिक्षाको महत्व र उपकरणको मूल्यबारे बुझाउन खोज्दा उल्टै अपहेलित हुनुपरेको छ ।’
मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नै उत्पादन सुरु गर्ने नेपालकै पहिलो विश्वविद्यालय बन्ने प्रयास गरेको उनले बताए । ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणालाई मूर्तरूप दिन विश्वविद्यालयले सन्चो, भिक्स र बाम जस्ता आयुर्वेदिक उत्पादनहरू तयार गरिसकेको छ । जसलाई बजारीकरणका लागि सरकारी अनुमतिको पर्खाइमा राखिएको पोखरेलले जनाए ।
यसका साथै, विश्वविद्यालयले दुईवटा महत्वपूर्ण अनुसन्धानमा आफूलाई केन्द्रित गरेको छ । एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरस पत्ता लगाउने अनुसन्धान अन्तिम चरणमा पुगेको छ । र यो सफल भएमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ ।
यस्तै मधुमेह रोग नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने अनुसन्धान पनि मनमोहन प्राविधिक विश्वविद्यालयमा भइरहेको छ ।विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, र विज्ञान तथा कानुन गरी तीनवटा स्कुलअन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बिबिए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रमहरूले विद्यार्थीलाई आकर्षित गरेको छ ।
सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्र्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्वाकांक्षी लक्ष्य रहेको पोखरेलले सुनाए ।प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ, जसलाई विश्वविद्यालयले अवसरको रूपमा हेरेको छ । तर, उपकुलपति पोखरेलले पर्याप्त बजेट र स्पष्ट योजनाविना यो जिम्मेवारी लिनु थप चुनौतीपूर्ण हुने बताए । ‘यदि सरकारले दृढ इच्छाशक्ति र पर्याप्त बजेटसहित यो योजना अघि बढाएमा पहाडी क्षेत्रको विकास र बसाइँसराइ रोक्न ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।
पत्रकारहरूको जिज्ञासामा उपकुलपति पोखरेलले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक दलको छायाँबाट मुक्त राख्ने प्रतिबद्धता जनाए । ‘यो एउटा पवित्र प्राज्ञिक मन्दिर हो । यहाँ राजनीतिक जुत्ता बाहिरै खोल्नुपर्छ । हामी सेवा आयोगमार्फत निष्पक्ष रूपमा नियुक्ति गर्छौं,’ उनले भने ।
मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा र अनुसन्धानमा नयाँ आयाम थप्ने प्रयास गरे पनि आर्थिक संकट र प्रशासनिक ढिलासुस्तीका कारण संघर्षरत रहेको उनले बताए । प्रदेश र संघीय सरकारले यसको दूरगामी महत्व बुझेर आवश्यक सहयोग नगरेसम्म यसका महत्वाकांक्षी योजनाहरू पुरा गर्न कठिन हुने विश्वविद्यालयले जनाएको छ ।

