इन्जिनियरिङ परीक्षामा सेटिङमै अनियमितता !

पुसोईका केमेस्ट्री ल्याबका कर्मचारीको स्कुटीबाट ८० हजारसहित दुई उत्तरपुस्तिका बरामद

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) अन्तर्गत संचालित इन्जिनियरिङतर्फको छैटौं सेमेस्टरको परीक्षामा आर्थिक घोटाला हुने गरेको पाइएको छ ।

पू.वि. अन्तर्गत विराटनगर–३ मा रहेको पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ(पुसोई) क्याम्पसमा भएको परीक्षामा खटिएका गार्डको स्कुटीबाट ८० हजार रुपैयाँ नगद र दुई थान उत्तरपुस्तिका बरामद भएपछि परीक्षामा व्यापक अनियमितता हुने गरेको रहस्य बाहिर आएको हो ।पुसोईको परीक्षा केन्द्रमा विराटनगर–२ स्थित इष्टर्न इन्जिनियरिङ कलेजको सेन्टर रहेको छ । उक्त परीक्षा केन्द्रमा इष्टर्न इन्जिनियरिङ कलेजका २५० जना विद्यार्थीहरूले परीक्षा दिँदै आएका छन् ।

इन्जिनियरिङतर्फको छैटौं सेमेस्टरको ‘इरिगेसन इन्जिनियरिङ’ विषयको परीक्षा सुरु भएको १२ मिनेटपछि परीक्षामा खटिइएका गार्ड मनिष यादवको स्कुटीको डिक्कीबाट मंगलबार दिउँसो १ बजेर १२ मिनेटमा नगद ८० हजार रुपैयाँ र परीक्षा हलमा वितरण गरिएको दुई उत्तरपुस्तिका बरामद गरिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमाल ठकुरीले जानकारी दिए । ‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रक र उपनियन्त्रकलाई एक गोप्य सूचना आयो । त्यसपछि यहाँबाट टोली गएर परीक्षाको गार्डमा खटिइएको कर्मचारीको स्कुटीको डिक्की खोल्न लगाउँदा प्रहरीसहितको टोलीले दुई उत्तरपुस्तिका र नगद ८० हजार रुपैयाँ बरामद गरेको छ,’ उनले भने ।

यादव पुसेटमा विगत पाँच वर्षदेखि कार्यरत छन् । पियूबाट सम्वन्धन पाएर इन्जिनियरिङ शिक्षा सञ्चालन गर्ने दुई कलेज छन् । विराटनगरको इस्टर्न इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसम) । पुसम विराटनगरको तीनपैनी चोकमा अवस्थित छ । तर, पुसोईको परीक्षा केन्द्रमा इस्टर्न इन्जिनियरिङ कलेजका विद्यार्थी मात्र समावेश थिए ।
परीक्षामा खटिइएका गार्डको स्कुटीको डिक्कीबाट नगदसहित उत्तरपुस्तिका बरामद हुनुले परीक्षामा ठूलो अनियमितता र सेटिङ आशंका स्वयं पियुले नै गरेको स्रोतले बताएको छ । यसअघि पनि पू.वि.ले सञ्चालन गरेको परीक्षामा यस प्रकारको सेटिङ हुने गरेको आशंका त्यहाँका जिम्मेवारी अधिकारीहरुलाई थियो तर प्रमाणित हुने तथ्यको अभावका कारण घटना सार्वजनिक हुन सकेको थिए ।

विश्वविद्यालय स्रोतका अनुसार मनिष यादव परीक्षा केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, बाहिर कसैसँग लेखाएर पुनः अदलबदल गर्ने कार्यमा संलग्न भएको आशङ्का गरिएको छ । यसमा परीक्षासँग सम्बद्ध अन्य कर्मचारीहरूको समेत संलग्नता रहेको हुनसक्ने सम्भावना छ ।इन्जिनियरिङतर्फको छैटौं सेमेस्टरको परीक्षा जेठ १८ गतेदेखि सुरु भएर असार १९ गतेसम्म चल्ने पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका सहनियन्त्रक अजयकुमार साहले जानकारी दिए ।

प्रहरीले गर्नुपर्ने यस घटनाको अनुसन्धान पू.वि.ले बनाएको छानबिन समितिले गर्दा परीक्षामा अनियमितता गर्नेहरूलाई जोगाउने स्रोतले बताएको छ । ‘यसअघि पनि यस्तो घटना बाहिर आएको छ । यसरी परीक्षामा लाखौंको घोटाला गरेर विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । यस्तो घोटालामा पू.वि.का केही कर्मचारीहरूको मिलेमतो रहन्छ । तर, छानबिन समितिमा त्यहीँ भित्रका कर्मचारी संलग्न हुने भएपछि जोगाएर प्रतिवेदन आउने निश्चितप्रायः छ,’ पू.वि. स्रोतले भन्यो ।

‘यस घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान गर्यो भने मात्र को–कसको मिलेमतोमा यस्ता घटना हुन्छन् भन्ने सत्यतथ्य बाहिर आउँछ र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्ने थियो ।’तर, प्रहरीले उनलाई नियन्त्रणमा नलिई मुचुल्का मात्र उठाएर छाडेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार पुसोई कलेजमा ज्यालादारीमा कार्यरत यादवले परीक्षाको समयमा नियमित रूपमा स्कुटी लिएर बाहिर जाने र करिब एकदेखि डेढ घण्टापछि फर्किने गरेका थिए । विश्वविद्यालयको परीक्षा कार्यालयबाट उच्च तहमा फोन आएपछि प्रहरीले यादवलाई नियन्त्रणमा नलिई केवल मुचुल्का तयार पारेर छाडेको थियो ।

मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमोरियाका अनुसार यादवको स्कुटीबाट फेला परेको उत्तरपुस्तिका लेखिएको नभएर खाली थियो । ‘अपराध पुष्टि नभएकाले पक्राउ गर्न सकिएन, तर मुचुल्का तयार पारिएको छ,’ उनले भने ।
उनका अनुसार घटनाको छानबिन विश्वविद्यालयको परीक्षा कार्यालय आफैंले गर्ने बताइएको छ । ‘हामीले कसैलाई परीक्षा दिइरहेका बेलामा रङ्गेहात समातेमा वा झगडा तथा हुलदङ्गा भएमा मात्र पक्राउ गर्न सक्छौं । तर, यस घटनामा त्यस्तो अवस्था देखिएन,’ प्रहरी उपरीक्षक चिमोरियाले भने ।

तीन सदस्यीय छानबिन समिति

पूर्वाञ्चल विश्व विद्यालयले परीक्षामा खटिइएको गार्ड मनिष यादवलाई तत्काल हटाएर घटनाको छानबिन गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रक बालेन्दु हमाल ठकुरीले जानकारी दिए ।‘हामीले गत वर्षदेखि नै परीक्षामा केही गतिविधि हुने देखिएकाले निगरानी गर्दै आएका थियौं । गोप्य सूचना आएपछि मैले नै टोली पठाएको हो,’ उनले भने ।

छानबिन समितिको सदस्यमा आफू पनि रहेकाले केही दिनभित्रमा सत्यतथ्य बाहिर आउने उनले बताए । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताइएको छ । समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ

बिहिबार, ०५ असार, २०८२, बिहानको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर