इहटरी ।सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ ।
कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्टलभन्दा बढी गाँजा बरामद भएको हो ।
लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहान नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।

बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार ७० वटा बोरामा प्याक गरिएको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद भएको छ ।गाँजा बरामद भएसँगै ट्रक र ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३३ वर्षीय सुनील राई र ट्रकमा सवार ३२ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको जानकारी एसपी तिम्सिनाले दिए । चेकजाँचस्थलमा शंकास्पद रूपमा भेटिएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।