विराटनगर । साताको दोस्रो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षत होटल तथा पर्यटन उपसमूहका कम्पनीहरुमा देखिँदा कारोबार रकम तीन महिनायताकै उच्च भएको छ ।
सोमबार कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । आइतबार जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक मात्र बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । यस दिन १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो ।
यस दिन अरू उपसमूहहरुको परिसूचक सामान्य बढ्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक भने साढे ४ प्रतिशतभन्दा बढी बढेको छ । यो उपसमूहमा सूचीकृत ६ वटै कम्पनीहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हा े । यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी र पिपुल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । पियोर इनर्जी दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर बढीरहेको कम्पनीको हो भने पिपुल्स पावर ५० प्रतिशत हकप्रद शेयर समायोजन भएर कारोबारमा आएको कम्पनी हो । त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक साढे ७ प्रतिशत घटेको छ ।
करोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९५ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब साढे ९० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।