लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख बजेट विनियोजन

कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेशसभामा आइतबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले विभिन्न स्वास्थ्य कार्यक्रम र पूर्वाधार विकासका लागि उक्त बजेट व्यवस्था गरिएको जानकारी गराए।

बजेट अनुसार, विराटनगरस्थित शैलजा ह्दयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिनेछ। प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। त्यस्तै, औषधि खरिदका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ।

स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्दै प्रदेश सरकारले खोटाङमा प्रसोधन केन्द्र स्थापना गर्न ३ करोड रुपैयाँ विनियोजन गरेको छ। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ।

विद्यालय नर्सिङ स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने प्रदेश ल्याब सुदृढीकरणका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवा सहज र सर्वसुलभ बनाउने लक्ष्यसहित बजेटको प्राथमिकता निर्धारण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।