विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको संयुक्त आयोजनामा स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्ला र नगर उद्योग वाणिज्य संघका ३० जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको उक्त तालिममा साना मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनदेखि व्यावसायिक योजना तयारीसम्मका विषयहरू समावेश गरिएको थियो।

तालिममा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन, व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, जेन्डर र सोसियल इन्क्लुजन, तथ्याङ्क सङ्कलन तथा नतिजा मापनजस्ता महत्वपूर्ण विषयहरू समावेश गरिएको थियो। सहभागीहरूलाई उदय परियोजना र यसको कार्यक्षेत्रबारे पनि विस्तृत जानकारी प्रदान गरिएको थियो।

समापन कार्यक्रममा सहभागी कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले भने, ‘यो तालिमले दूरदराजमा रहेका उद्यमी व्यवसायीहरूलाई विशेष गरेर साना तथा मझौला उद्योगी व्यवसायीहरूको व्यवसाय विस्तारमा परामर्श दिन सहयोग पुग्नेछ।’
खोटाङ उद्योग वाणिज्य संघबाट सहभागी मदमबहादुर तामाङले तालिमबाट व्यावसायिक योजना बनाउन सिकेको बताए। त्यस्तै धनकुटा उद्योग वाणिज्य संघकी प्रतिनिधि साङ्गहेन्मा राईले महिला उद्यमीहरूको प्रवर्धनमा यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकाअध्यक्ष राजेन्द्र राउतले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकास गर्न महासंघ कोशी क्रियाशील रहेको जानकारी दिए । उनले व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना मझौला उद्यमीहरूको व्यवसाय प्रवर्धन हुने विश्वास व्यक्त गरे।
अध्यक्ष राउतले आउने दिनमा स्टार्टअप सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी पनि दिए।

उदय परियोजनाका बिडिएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसायलाई प्रवर्धनमा सहजता थप्ने विश्वास व्यक्त गरे।

यो तालिम कार्यक्रमले कोशी प्रदेशको औद्योगिक विकासमा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।