विराटनगर । नेकपा एमाले कोशी प्रदेशका नेता बालेश्वर कामतविरुद्ध मोरङ जिल्ला अदालतमा चार वटा मुद्दा दायर भएको छ ।विराटनगर ८ मधुमारा निवासी एमाले प्रदेश कमिटि सदस्य ४१ वर्षीय कामतविरुद्ध उनकै श्रीमती ४० वर्षीया नम्रता काफ्लेले चार वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेकी हुन् ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार नम्रताले बालेश्वरलाई प्रतिवादी बनाएर अंश र सम्बन्ध विच्छेद र घरेलु हिंसाका मुद्दा दायर गरेकी छन् । श्रीमतीले मुद्दा दायर गरेपछि बालेश्वरले १७ वर्षीया जेठी छोरी आफ्नो सन्तान नभएको र श्रीमतिको अबैध सम्बन्धबाट जन्मिएको भन्दै जालसाझीको मुद्दा दिएका छन् । त्यसपछि नम्रताले पुनः उनीविरुद्ध गालीबेइज्जतीको मुद्दा दर्ता गरेकी छन् ।
नम्रताले अदालतमा दर्ता गरेको फिराद पत्रअनुसार २०६१ साल साउन १३ गते उनीहरुको अन्तरजातीय प्रेम विवाह भएको थियो । विवाहको केहि वर्षपछिबाट नै श्रीमानले आफूमाथि शारीरिक र मानसिक यातना दिएको, नाबालक छोराछोरीलाई कुटपिट गर्ने गरेको र पछिल्लो समयमा आफूलाई बन्धक बनाएर राखेको अभियोग नम्रताले बालेश्वरमाथि लगाएकी छन् ।
नम्रताका अनुसार बालेश्वरले उनलाई दशैं–तिहार लगायतका चाडपर्वमा माइती–मावली जान नदिने, घरबाट बाहिर निस्कन नदिने र मोबाइल खोसेर राख्ने, कसैसँग सम्पर्क गर्न नदिने गरेका थिए । ‘आफ्नै घरमा कैदी जीवन सरह बसी छोराछोरी सम्हाली विपक्षीको रातदिनको अत्याचार सहेर बसिरहेको अवस्था थियो,’ नम्रताले फिराद पत्रमा भनेकी छन्, ‘२०८० साल भदौ २९ गते तिजको दिन भाइ लिन आएको बेला आमाचकारी गालीगलौज गर्दै भाईलाई पनि ज्यान मार्ने धाकधम्की दिएकोले माइती जान पाइन । त्यसको केही दिनपछि बालेश्वर घरबाट बाहिर निस्किएको मौका पाएर असोज ३ गते घरबाट निस्केर माइतीको शरणमा पुगेको हुँ ।’
नम्रताका अनुसार त्यसपछि भएको घटना झनै चर्को थियो । १७ फागुन २०८० मा विराटनगर १ मा बाटो हिँंडिरहेको अवस्थामा बालेश्वरले नम्रतालाई ‘अश्लील अपशब्द प्रयोग गरेर गालीगलौज गर्दै निर्घात कुटपिट’ गरेका थिए । ‘बाटोमा हिँड्ने व्यक्तिहरूले छुट्याएको कारणले ज्यान जोगिएको’ नम्रताले फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
श्रीमानको यातना र ज्यादती सहन नसकेपछि नम्रताले विभिन्न मितिमा बालेश्वरविरुद्ध मुद्दा दायर गरेकी छिन् । सुरुमा ५ असार २०८० मा अंश र सम्बन्ध विच्छेद मुद्दा हालेकी उनले ७ असोज २०८० मा मानाचामल मुद्दा दर्ता गरेकी थिइन् । त्यसपछि २४ फागुन २०८० मा घरेलु हिंसामा उनले अर्को मुद्दा दर्ता गराइन् ।
मुद्दा दर्तापछि माइतीमा बस्दै आएकी नम्रतालाई बालेश्वरले ‘मुद्दा फिर्ता लिनुपर्ने र नलिए ज्यान मार्ने धम्की’ दिएको फिरादपत्रमा उल्लेख छ । त्यसपछि बालेश्वरले श्रीमती नम्रता र १७ वर्षीया जेठी छोरीमाथि जालसाजको मुद्दा दर्ता गरेका छन् । उनले जेठी छोरी आफ्नो सन्तान नभएको भन्दै झुक्याएर जन्मदर्ता गराएको आरोप लगाएका छन् । उनीहरुका २ छोरी र एक छोरा छन् । जेठी छोरीपछि जन्मिएका दुई जनाको विषयमा भने बालेश्वरले मुद्दा दर्ता गरेका छैनन् ।
बालेश्वले श्रीमतीमाथि चरम यातना दिएकोले उनले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको निकटहरुले बताएका छन् । त्यसपछि उनले श्रीमतीलाई अंश दिएर अलग हुनुको साटो १७ वर्ष अगाडि जन्मिएकी छोरी आफ्नो सन्तान नभएको भन्दै श्रीमतीको चरित्रमाथि पनि प्रश्न उठाएका छन् ।
अहिले पाँचवटै मुद्दा मोरङ अदालतमा विचाराधीन रहेका छन् । आगामी जेठ ३० गते वादी र प्रतिवादीलाई तारेख दिइएको छ । नम्रताले मुलुकी देवानी संहिता २०७४ का विभिन्न दफाहरूको आधारमा सम्पत्तिको भागबण्डा माग गर्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।
कामतको बारम्बारको धम्की र यातनाको कारण माइतीमा बस्दै आएकी नम्रताले अहिले फोन समेत नबोक्ने पारिवारिक स्रोतले जनाएको छ । बारम्बार धाकधम्की आएपछि उनले फोन बन्द गरेर सामाजिक सञ्जाल पनि सञ्चालन नगरी बसेको बताइएको छ ।
यसअघि अदालतमा मुद्दाको पेशीको लागि पुग्दासमेत कामतले ‘मुद्दा फिर्ता नलिए ज्यान तलमाथि हुने’ धम्की दिएको पीडित पक्षले जनाएको छ । अहिले पनि धाकधम्की आइरहेकोले असुरक्षित महशुस गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
माओवादी जनयुद्धमा सामेल भएका कामत पछिल्लो समयमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरुको माओवादी कार्यकर्ता रहेकै समयमा विवाह भएको थियो ।