विर्तामोड । मनसुनको सुरुवातीसँगै झापामा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ । वैशाखपछि मात्रै जिल्लामा ३९ जनामा डेंगीको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
विर्तामोड, दमक र गौरादहमा डेंगी संक्रमण पुष्टि भएको छ । विर्तामोडमा ३७ जना, दमक र गौरादहमा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख रमेश बारकोटीले जानकारी दिए ।
सबै पालिकाले तथ्यांकगत रुपमा रिपोर्ट गरिनसकेकोले संक्रमितको संख्या बढ्ने अनुमान छ । जिल्लामा अघिल्लो वर्षमा मात्रै चार हजार हाराहारी नागरिकमा डेंगीको संक्रमण देखिएको थियो भने दुई जनाको मृत्यु भएको थियो । यो वर्ष पनि मनसुनको सुरुवातसँगै जिल्लामा संक्रमण देखिने क्रम बढेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।