विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी छिन् । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्यो, भेटघाट गर्दै गर्नुपर्यो, के छ जनताको विचार, आकांक्षाहरूरु नयाँ पुस्ता के चाहन्छन्? त्यसलाई पूरा गर्न, राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ । नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’
भण्डारीले एमालेको भाबी अध्यक्षका रूपमा तपाईंले गुटगत राजनीति शुरू गर्नुभएको भन्ने टिप्पणी छ नि भन्ने प्रश्नमा आफूले कुनै गुटगत राजनीति नगरेको बताइन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ?,’ उनले भनिन् ‘अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’
जहाँ जसरी हुन्छ काम गर्ने भन्दै भण्डारीले ओलीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ र मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्ने बताइन्।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन अगाडि विद्या भण्डारीलक्षित कडा अभिव्यक्ति दिएका थिए। उनले भण्डारीले गुटबन्दी गरेको आरोप लगाउँदै त्यसको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
‘यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो-यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन,’ अध्यक्ष ओलीले भनेका थिए ।
कोशी प्रदेशका मोरङ र सुनसरीमा चार दिन बिताएकी भण्डारीले झापामा एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन्। राष्ट्रपतिबाट हटेपछि पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनेको पहिलोपटक हो। त्यसबाहेक उनले एमालेका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट गरेको निकट स्रोतले जनाएको छ ।
दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने बताइसकेकी छन् । पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको छ ।