कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ड्युटीमा खटिएका प्रहरीलाई मनपरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।

सुरक्षामा खटिएका प्रहरीलाई पालिका अध्यक्ष अन्सारीले अपशब्द प्रयोग गर्दै मनपरी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।गाउँपालिका अध्यक्ष अन्सारीले मनपरी बोल्दै प्रहरीको मनोबल गिराएको भन्दै सुनसरी प्रहरीलाई अनुसन्धान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले बताए ।

‘गाउँपालिकाको अध्यक्ष जस्तो व्यक्तिले सुरक्षामा खटिएको प्रहरीमाथि मनपरी तरिकाले अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। ‘मैले सुनसरी प्रहरीलाई यस घटनालाई गम्भीर रूपमा अनुसन्धान गर्न भनेको छु,’ डिआइजी कार्कीले भने, ‘दोषी देखिनेलाई कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छु। सुनसरी प्रहरी त्यही अनुसार अगाडि बढ्नेछ।’पालिका अध्यक्ष अन्सारीले कोशी कटानमा ड्युटीमा रहेका ट्राफिकका सई कमलप्रसाद दाहाल र ट्राफिक असई सन्तोष मिश्रमाथि अपशब्दसहित गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले तीन वटा विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।
‘ड्युटीमा रहेका असई र ट्राफिकमाथि गालीगलौज गरेको तथा सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेको देखिएको छ। यस घटनालाई गम्भीर रूपमा लिएर हामीले अनुसन्धान अगाडि बढाएका छौं,’एसपी तिम्सिनाले भने।

सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको, राष्ट्र सेवक कर्मचारीलाई कर्तव्य निर्वाहको क्रममा बाधा अवरोध गरेको, ब्यारिकेट फाल्न लागेर अपराधिक उपद्रव प्रदर्शनी गरेको एसपी तिम्सिनाले बताए।‘हामीले यी तीन विषयमा अनुसन्धान सुरु गरेका छौं,’एसपी तिम्सिनाले भने, ‘यस मुद्दाको तीन महिने हदम्याद हुन्छ। हामी त्यही अनुसार प्रक्रिया अगाडि बढाउनेछौं । ’

प्रहरी र पालिका अध्यक्षबीच भएको के हो ?

जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्र्याक्टर ट्राफिक प्रहरीका असई रामराजा यादवले रोक्छन्। ट्र्याक्टर ओभर लोड पाइएपछि जरिबाना तिराइन्छ। ट्र्याक्टरका चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त हुन्। ती चालकले फोन गरेपछि पुगेका अध्यक्षले मेरो पालिकाका जनतालाई दुःख दिने भन्दै मुखमा आएजति गाली गरेका छन्।

अन्सारीले प्रहरीले घुस खाएको आरोप लगाउँदै आफूले गरेको फोन पनि नउठाएको भनेर गाली गरेका छन् । केही दिनअघि दूध बोकेको मोटरसाइकललाई पनि ओभरलोडमा ५ सयको चिट काटिएको थियो। त्यो मोटरसाइकल रोकेका कारण दूध फाटेको पनि अन्सारीले आरोप लगाएका छन् । मनपरी गाली गरेको भिडियो भाइरल भएर आलोचना बढेपछि पालिका अध्यक्ष अन्सारीले मैले कुनै पनि अपशब्द नबोलेको दाबी गरेका छन्। ‘मैले कुनै भिडियोमा पनि केही बोलेको छैन। मलाई यो विषयमा थाहा छैन,यति भनेपछि उनले फोन काटिदिए।

आइतबार, २६ जेठ, २०८२, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर