लोड हुँदैछ...

मेनु

आयोजना बैंकमा एउटै पालिकाको पाँच हजार योजना

आयोजना बैंकमा एउटै पालिकाको पाँच हजार योजना

कोशी प्रदेश योजना आयोग मातहतमा रहेको योजना बैंकमा हालसम्म ४४ हजार बढी आयोजना समावेश भएका छन् । पहिलो पटक कार्यान्वयनमा लैजान लागिएको योजना बैंकमा यति धेरै आयोजना समावेश हुँदा कार्यान्वनयमा समस्या हुनसक्ने देखिन्छ । प्रदेशले आगामी आर्थिक वर्षका लागि असार १ गतेसम्ममा बजेट ल्याइसक्नु पर्नेछ । जेठ २३ गते रातीसम्मका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालय र कार्यालयलाई बजेटका कार्यक्रम समावेश गरिसक्न समयसीमा दिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले योजना बैंकमा समावेश भएका बाहेकका योजना परे परेनन् भनेर जाँचबुझ गर्नुपर्नेछ । त्यसमा प्रदेश योजना आयोगले थप हेर्ने जनाइएको छ । तर, त्यस अवधिसम्ममा ४४ हजार योजनाहरुको प्राथमिकीकरण कसरी गरिन्छ ? यस पटक कुनै नेता वा सांसदको गोजीबाट निकालिएका चिर्कटोको आधारमा बजेट र योजना पर्छन् कि पर्दैनन् ? साँच्चै योजना बैंकको अवधारणा कार्यान्वयन होला ? चासो र संशय छ । यही विषयमा हामीले कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश ।
……………….

प्रदेश योजना बैंकमा ४४ हजारबढी योजना इन्ट्री भएको देखियो । ती योजनामध्ये कार्यान्वयन नभएका ४१ हजारबढी छन् । आगामी आर्थिक वर्षको बजेटमा तीमध्येबाट कस्ता कस्ता आयोजना कसरी छनोट हुन्छन् ? त्यसको स्क्रिनिङ कसरी गर्नुहुन्छ ?
– हो, योजना बैंकमा ४४ हजारबढी योजनाहरु इन्ट्री भएको छ । त्यसमा क्रमागत आयोजना, सालबसाली आयोजना, बहुवर्षीय आयोजनाहरु छन् । प्रदेशले सुरुवात गरेको आयोजनाहरु सम्पन्न गर्नुपर्ने प्रदेशको दायित्वभित्र पर्छ । बहुवर्षेमा र क्रमानुगत आयोजनाहरुलाई यस पटक निरन्तरता दिइन्छ । नयाँ आयोजनाहरु पनि यस पटक पर्छन् । हामीले यसअघि १४ जिल्लामा २१ वटा ठाउँमा आयोजना तर्जुमा गोष्ठी गरेका थियौं । सर्वसाधरणदेखि पालिका र माननीयज्यूहरुका समेत आयोजनाहरु संकलन गरेर ल्याएका पनि थियौं । त्यसलाई हामीले सफ्टवेयरमा इन्ट्री गर्यौं । रातारात इन्ट्री गरेरै अहिलेसम्मको प्रगति भएको हो । सबै माननीयज्यूहरु यसपटक आयोजना बैंकका आयोजनाहरु मात्रै कार्यान्वयनमा जान्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । अहिले पनि माननीयहरुको योजना इन्ट्री भइरहेको छ ।

एक हिसाबले भन्ने हो भने प्रदेश योजना बैंकमा आयोजनाको बहार छ । थुप्रै आयोजनाहरुमा डुब्लिकेसन पनि भएको छ । कतिपयले १० लाखमा सम्पन्न हुने आयोजनालाई पनि ५० लाख, १ करोड, २ करोडसम्म बजेट माग् गर्नुभएको छ । त्यसको कुनै स्टिमेट भएको छैन । आगामी वर्षको बजेट आएपछि प्रदेश योजना आयोगले कुन कुन आयोजना प्रदेशको एकल अधिकारभित्र पर्छन्, कुन कुन साझा अधिकार सूचीमा पर्छ ? कुन कुन स्थानीय तहले गर्न सक्छन् ? भन्ने विषयमा स्क्रिनिङ गर्छौं । त्यसपछि स्थानीयले गर्ने आयोजनाहरु, केन्द्रबाट हुने आयोजना प्रदेशको सफ्टवेयरबाट हट्छन् । प्रदेशको एकल अधिकार र साझा अधिकारका विषय मात्रै सफ्टवेयरमा राख्छौं । यसो गर्दा हामीसँग आधा भन्दा कम आयोजना रहन्छन् । त्यसमा पनि योजना आयोगले आर्थिक दृष्टिकोणले र आवश्यकताको हिसाबले सम्भव हुने र गर्नै पर्ने आयोजनालाई योजना बैंकमा राखेर प्राथमिकता निर्धारण गर्छ । पहिलो वर्ष यो गर्ने, दोस्रो वर्ष यो गर्ने भनेर छुट्याइन्छ । त्यसरी छुट्याउनका लागि हामीसँग सुत्र छ । त्यसपछि सम्बन्धीत मन्त्रालयले आयोजनाहरुको प्राथमिकीकरण गर्छ र सोही अनुसार बजेट, नीति तथा कार्यक्रममा समेटिन्छ र कार्यान्वयनमा जान्छ ।

प्रदेश सरकारले आठवटा बजेट ल्याइसक्यो । प्रदेश योजना आयोग बनेको पनि त्यति नै समय भइसक्यो । अहिले आएर योजना बैंक कार्यान्वयन गर्ने चरणमा जाँदैछ । तर, योजना इन्ट्रीमा नै गोलमाल देखियो नि किन ?

– तपाईले उठाउनु भएको कुरा सही हो । पहिलो वर्ष भएको हुँदा हामी पनि अन्यौलमा रह्यौं । हाम्रो सफ्टवेयर पनि केन्द्रले हस्तान्तरण गरेको हो । त्यो पनि जटिल खालको थियो । त्यसलाई हामीले अलिक सरलीकृत बनायौं । सुरुमा त्यसले एक करोडभन्दा तलका आयोजनाहरु लिँदै लिँदैनथ्यो । अहिले ५० लाखसम्मका आयोजनाहरु लिनेगरी त्यसलाई हामीले सुधार गर्यौं । सुरुमा के गर्नु पथ्र्यो भन्दा प्रत्येक पालिकाहरुलाई भौतिकतर्फका सडक बाटो कम्तीमा ३ देखि ५ वटा, कृषिका एतिवटा, पर्यटनका एतिवटा भनेर हामीले पालिकाहरुलाई माग्नुपर्ने रहेछ । यो ट्रायल गरेजस्तो भयो । त्यहाँबाट गल्ती भएको महसुस गर्यौं । उहाँहरुले चाहेजति सबै हाल्नुभयो । एउटा पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजनाहरु हाल्नुभएको छ । सुरुका वर्ष भएको कारण हामीले पनि कति आयोजना आउँदो रहेछ त भनेर हामीले लिएका हौं । अब हाम्रो कार्यविधिलाई पनि सरलीकृत गर्दै आगामी वर्षहरुमा अझै बढी वैज्ञानिक बनाउनेछौं । भएका त्रुटीलाई सच्याएर अब अलिक सचेत ढंगले र प्रदेशको पनि क्षमताले धान्न सक्ने गरीका आयोजनाहरु इन्ट्रि हुन्छन् । कार्यान्वयन योग्य आयोजना मात्रै सफ्टवेयरमा राख्ने प्रतिबद्धता जनाउँछु ।

भनेपछि ५० लाखभन्दा माथिका ४४ हजार बढी आयोजना इन्ट्री भए होइन ? त्यसलाई कार्यान्वयनमा गर्न कति बजेट आवश्यक पर्ने रहेछ ?

– हामीले कति रकम बराबरको योजनाहरु इन्ट्री भए भनेर हिसाब गरेका छैनौं । सुरुमा अन्यौल पनि थियो । केदार कार्की मुख्यमन्त्री भएकै बेला योजना बैंकलाई कार्यान्वयनमा लैजानुपर्छ भन्ने थियो । त्यसलाई हामीले कार्यान्वयनमा लगेका हौं । त्यसकारण यो सिक्दै गएको कुरा पनि हो । पालिकाहरुले सिफारिस पनि दिन नचाहेको अवस्थामा प्रदेश सरकारको पहुँचबाहिरै सर्वसाधरण हुनसक्ने अवस्था पनि हुनसक्छ भनेर हामीले खुल्ला गरेका थियौं । तर, अहिले ४४ हजार योजना आए । अब हामी सबै मन्त्रालय, मन्त्री, सांसदहरुसमेतलाई राखेर योजनाहरु छनौट गरेर सानो सूचि बनाउने प्रयास गर्छौं ।

यद्यपि यसले प्रदेश सरकार अलोकप्रिय छ, प्रदेशसँग जनता केही चाहँदैनन् भन्ने त देखिएन नि ? योजना त अत्याधिक माग्दा रहेछन् । धेरै अपेक्षा पो रहेछ त होइन ?

– हो यो चाहिँ प्रदेशप्रति अति नै भरोसा गरेको देखियो । प्रदेश योजना आयोगमा योजना इन्ट्री नगराउने भनेको नेपाली सेना मात्रै हो । प्रहरी, सशस्त्र प्रहरी, संघीय सांसद, पूर्व संघीय मन्त्रीहरु, पालिकाका जनप्रतिनिधिहरु र सर्वसाधारणहरु योजना माग्न अत्याधिक आउनु भएको छ । यो प्रदेशको लोकप्रियता बढेको र यसको आवश्यकता महसुस भएको छ । किन भने यहाँ मुख्यमन्त्री र मन्त्रीज्यूहरुसँग जनताको सोझो भेट छ ।

प्रदेश सरकारसँग हजारौं मानिस आउन सक्छन् । घर आँगनमै सरकार छ । जनताको गुनासो सुन्ने काम भएको छ । संघीय सरकारबाट आउने अनुदान निरन्तर घटिरहेको छ । प्रदेशले आफ्नो आम्दानी बढाउन पहल गरिरहेको छ । संघीय सरकारले चाहिँ ती प्रदेशका अधिकारहरुलाई दिइरहेको छैन । कानून निर्माणमा उदासिनता देखिएको छ । यदि प्रदेशलाई अधिकार दिने त्यो कार्यान्वयन हुने हो भने भविष्यमा प्रदेश सरकारको लोकप्रियता बढेर जाने देखिन्छ ।

विगतका वर्षहरुमा प्रदेश योजना आयोगलाई बजेट ल्याउने कुरा मितिबारे जानकारी हुन्थ्यो । देखावटी भूमिकामा खुम्च्याइएको थियो । अन्तिममा हस्ताक्षर गराउने वा मोहरा बनाउने काम मात्रै हुँदै आएको थियो । यस पटक त्यसमा परिवर्तन होला ?
– यस पटक विगतमा जस्तो छैन । हामी बजेट निर्माण प्रक्रियाको सुरुदेखि नै सहभागी छौं । आर्थिक मामिला मन्त्रालयले सिस्टममा इन्ट्री गरेको बजेट र कार्यक्रम जेठ २४, २५ गते नै हामीलाई दिनुहुन्छ । योजना बैंकमा रहेका योजना बाहेकका योजना हालिएको रहेछ भने त्यसलाई हामी हटाउँछौं । विगत वर्षमा जस्तो कुनै पालिकामा २० औं आयोजना पर्ने कुनैमा शून्य हुने अवस्थाको यस पटक अन्त्य हुन्छ भन्ने विश्वास छ ।

तपाईंलाई यो विषय कार्यान्वयन हुन्छ भन्ने लाग्छ ? मुख्यमन्त्रीज्यूले नै २४, २५ गतेको ठाउँमा २८ गतेसम्म समय सारौं भन्नुहोला नि ?
– कार्यान्वयन हुन्छ । किनभने मुख्यमन्त्रीज्यूले नै योजना आयोगले जे गर्छ त्यस कुरालाई मानेर जाने भन्नुभएको छ । पूर्वमुख्यमन्त्रीज्यूहरु, सांसदहरु सबै यो कुरामा सहमत हुनुहुन्छ । आजको मितिसम्म म ढुक्क छु । सरकारले यो आयोजना हालिदिनु पर्यो भनेर योजना आयोगलाई कुनै प्रकारको दबाब दिने छैन । सबै मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा आयोजना पठाउनु हुनेछ । अनि आर्थिक मामिला मन्त्रालयले त्यसलाई हेरेर हामीलाई दिनुहुन्छ । हामीले त्यसलाई पनि हेरेर एप्रुभ गर्छौं ।
गत वर्षमा राजनीतिक हिसावले सरकार बन्ने ढल्ने परिस्थिति थियो । गठबन्धन दलहरुबीच पनि केही समस्या थियो । आयोजना बैंकबाट जाने भन्ने पनि कार्यान्वयन गरिएको थिएन । त्यसकारण अहिले मुख्यमन्त्री र मन्त्रीज्यूहरुले नै आयोजना कोही माग गर्न आयो भने योजना बैंकमा इन्ट्री छ भने ठिक छ छैन भने अब साउन पछि अर्को वर्षका लागि प्रयास गर्छौं । हाम्रो विधि भन्दा हामी बाहिर जाँदैनौं भनेर विदा गरेको अवस्था छ । योजना माग्नेहरु पनि यो कुरामा सहमत भएर जाने गर्नुभएको छ ।

अर्को कन्फ्युजन पनि छ । प्रदेश सरकारले अहिले प्रत्येक प्रत्यक्ष सांसदलाई अढाइ करोड र समानुपातिक सांसदलाई डेढ करोड बराबरको योजना दिने भनेर माग गरेको हामीले देखेका छौं । अब ती सांसदले माग्ने योजनाहरू योजना बैंकमा इन्ट्री गरेको रहेनछ भने के हुन्छ ?

– योजना बैंकमा इन्ट्री नगरेका आयोजनाहरु बजेटमा पर्दैनन् । परेछन् भने मलाई यसो भन्नुहुन्थ्यो के हो ? भन्नुहोला । त्यसबेला म जवाफ दिन्छु । जहाँसम्म सांसदलाई योजना बाँड्ने भनिएको विषय योजना आयोगलाई थाहा छैन । यसखालको बहस र निर्णय भएको पनि छैन । किनभने सांसदहरु भनेको विधायक हो । उहाँहरुले कानुन बनाउने हो । विधेयक माथि छलफल गर्ने हो । बजेटलाई बाँडफाँड गर्ने विषयमा उहाँहरु हुनुहुन्न । उहाँहरुको नाममा बजेट कानूनले नै दिँदैन । कानूनले नदिएको विषय पक्कै पनि गर्नुभयो होला भन्ने मलाई लाग्दैन ।

भनेपछि मुख्यमन्त्री र मन्त्रीका योजनाहरु मात्रै पर्ने अवस्था यस पटक हुँदैन ?

हो । त्यस्तो हुँदैन । किनकि मुख्यमन्त्री वा मन्त्रीहरु १४ वटै जिल्लाको हो । त्यसकारण आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना लाने अरुलाई हेरेको हेर्यै पार्ने अवस्था हुनुहुँदैन । यो विषयमा मुख्यमन्त्री आफू पनि स्पष्ट हुनुहुन्छ । उहाँले त अहिले नै योजना माग्नेहरुलाई समानुपातिक हिसाबले बजेट विनियोजन हुने जवाफ दिने गर्नुभएको छ । त्यसकारण विगतमा जस्तो यस पटकको बजेटमा हुँदैन । क्रमागत र बहुवर्षे आयोजनालाई पुरा गर्ने प्रदेशको दायित्व हो । नयाँ योजनाहरुमा समानुपातिक ढंगले राख्ने उहाँको सोच छ । म त्यो कुरामा विश्वस्त छु ।

प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन भएको एक वर्ष भयो । तपाई पनि प्रदेश योजना आयोगको उपाध्यक्ष हुनुभएको वर्षभन्दा भन्दा बढी भयो । तपाईंले प्रदेशको अवस्था के देख्नुभयो ?

– प्रदेशले आफूले गर्नुपर्ने काम गरिरहेको मैले पाएको छु । यस पटक हामीले सबै मन्त्रालय र सचिवलाई भनेका छौं । हाम्रा आवधिक योजनाको रणनीति, कार्यनीति, उद्देश्य र कार्यक्रम अनुसार बजेट आउनु पर्यो भनेका छौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा पनि आवधिक योजना अनुसार नै आएको छ । नपरेका र छुटेका कुराहरुलाई सम्बोधन गर्नेगरी सुझाव दिएका छौं । त्यसलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नेछ । उदाहरणको लागि धरान भनेको खानेपानीले काकाकुल बनेको शहर हो । तमोरको पानी लेउती हुँदै सुनसरी, मोरङ र झापामा खानेपानी योजना दिने भनेर नीतिमा राखेका छौं । त्यो प्रदेशको रुपान्तरणकारी कार्यक्रमको १९ वटा कार्यक्रमध्ये १ नम्बरको कार्यक्रम हो । त्यसलाई सम्बोधन भएको छ ।त्यस्तै भेटेरीनरी अस्पताल र कृषि अनुसन्धान केन्द्रको विकास गर्ने भनेर पनि सुरुवात भइसकेको छ । त्यसको अध्ययन सुरु भएको छ । ती पनि प्रदेशका रुपान्तरणकारी कार्यक्रमभित्र पर्दछन् । रेडपाण्डाको संरक्षण र बर्थ सेन्टरको रुपमा इलामको सन्दकपुरमा विकास गर्ने भन्ने कुरा पनि नीतिमा परेको छ । हाम्रो दोस्रो आवधिक योजनामा उल्लेख भएका नीति अनुसार नै यस पटकको नीति कार्यक्रम आएको छ । विगतमा जस्तो आवधिक योजना एकातिर, बजेट तथा कार्यक्रम अर्कोतिर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।