काठमाडौं । गत बिहीवार राति पूर्वी भेगबाट प्रवेश गरेको मनसुन अहिले केही निष्क्रिय अवस्थामा रहेको छ। शुरूआतमै सक्रिय भएको मनसुन अहिले कोशी प्रदेशमा मात्रै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन पुनः सक्रिय हुन र अन्य प्रदेशहरूमा फैलिन केही दिन लाग्ने मौसमविद्हरूको भनाइ छ। नेपाल भित्रिएको एक साता बित्न लाग्दा पनि मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन।

यसैका कारण अब केही दिन देशभर ठूलो पानी पर्ने सम्भावना छैन। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनी बाढीपहिरो आउने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ।

आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश र बागमतीलगायत बाँकी भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशीका थोरै स्थान तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।