विराटनगर । गणतन्त्र दिवसका अवसरमा गरिएको कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले बहिष्कार गरेका छन् । प्रदेश सरकारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम उनले वहिस्कार गरेका हुन् । तीन जना पूर्व मन्त्रीहरुलाई बोलाएर गणतन्त्रका विषमा सरकारले छलफल गरको थियो । एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले कार्यक्रममा कार्यत्रपत्र पेस गरेका थिए भने कांग्रेस नेता मिनेन्द्र रिजाल र माओवादीका नेता हरिवोल गजुरेलले टिप्पणी गरेका थिए । संविधानसभाका सदस्यसमेत रहेका तिनै जना नेताले गणतन्त्रको विकल्प नहुने त्यस अवसरमा बताएका थिए ।
विराटनगरको इस्र्टन स्टार होटलमा भएको कार्यक्रममा सभामुख विष्ट भने सहभागी भएनन् । उक्त कार्यक्रम दिउँसो १ बजे आयोजना गरिएको थियो तर कार्यक्रम भने २ बजे मात्र सुरु भयो । सरकारले विराटनगरमा कार्यक्रम गरिरहँदा सभामुख प्रदेशसभामै थिए । सरकारले आयोजना गरेको कार्यक्रम सुरु हुँदा बिहान ११ बजेबाट चलेको प्रदेशसभाको बैठक सकिसकेको थियो । बुधबारको बैठक जम्मा २ घन्टा २० मिनेट चलेको थियो । ‘प्रायजसो प्रदेशसभाको बैठक दिँउसो १ बजेबाट बस्ने गरेकोमा बुधबार सरकारको कार्यक्रमलाई दृष्टिगत गरेरै बिहान ११ बजेका लागि बोलाइएको थियो ।
प्रदेश सरकारले गरेको कार्यक्रममा अनुपस्थित भएका सभामुख विष्टले भने उक्त कार्यक्रमलाई बहिस्कार नै गरेको हो भनेर मुख खोलेका छैनन् तर गणतन्त्र दिवस जसले प्रदेशसभाको सभामुख बन्ने अवसर जुटाइदिएको हो त्यसमा नगएर उनले बहिस्कारकै सन्देश भने दिएका छन् । उनले घरमा त्यो भन्दा ठूलो पारिवारिक कार्यक्रम भएकोले कार्यक्रममा नगएको बताए ।
घरमा त्यस्तो के कार्यक्रम थियो भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् । उनले बहिष्कार भने नगरेको प्रस्टीकरण दिए । ‘पत्र आएको थियो,’ उनले भने ‘ बहिस्कार होइन् । कामहरु पर्छ नि त !’
सभामुख विष्ट २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद निर्वाचित भएका हुन् । सभामुख बनेपछि उनले संविधान र कानुन बमोजिम नै दलीय आवद्धता त्यागेका छन् । यतिबेला राप्रपाले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेको छ । सोही आन्दोलनमा सांकेतिक समर्थन गर्दै उनले गणतन्त्र दिवसको कार्यक्रममा सहभागिता नजनाएको हुनसक्ने अड्कल अरुले गरिरहेका छन् ।
गणतन्त्र दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका कुनै पनि सांसद सहभागी भएनन् । भोलि काठमाडौँमा हुने कार्यक्रममा सहभागी हुनका लागि सबै जना उतै गएकोले कार्यक्रममा कसैको उपस्थिति नभएको हुनसक्ने उक्त दलका प्रमुख सचेतक सविना बजगाईँले बताइन् । ‘काठमाडौँ भोलि हुने कार्यक्रम हाम्रो पहिला नै फिक्स भएको थियो ,’ बजगाईँले भनिन् ‘गणतन्त्र प्रति हाम्रो फरक मत छ तपाइँहरूलाई थाहा नै छ ।’ घुमाउरो भाषामा उनले बहिस्कार गरेको बताइन् । कोशी प्रदेशमा सभामुखसहित राप्रपाका ५ जना सांसद छन् ।