उदयपुर । पुर्व पश्चिम नेपाल जोड्ने मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा अत्यधिक सवारी दुर्घटना हुने गरेको छ । उक्त लोकमार्गको उदयपुर खण्डमा झण्डै १०९ किलोमिटर दुरी पर्दछ । त्यही खण्डमा तीनवर्षमा ४७९ वटाभन्दा बढी दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको तीन वर्षको तथ्यांकअनुसार कुल ४७९ दुर्घटना हुँदा ५६ जनाको मृत्यु र ६१२ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्काका अनुसार लोकमार्गको उदयपुर खण्डमा चालु आर्थिका वर्षको हालसम्म १७८ वटा दुर्घटना हुँदा १८ जनाको मृत्य र २६७जना घाइते भएका छन् ।
आर्थिक वर्ष ०८०÷८१ मा १६९ सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु र १९८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । आव ०७९÷८० मा १३२ दुर्घटनामा परी १६७ घाइते र १६ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यङक छ ।
इन्सपेक्टर खड्काले भने, ‘उदयपुरमाहुने सवारी दुर्घटनामध्ये मदन भण्डारी लोकमार्गमा हुने दुर्घटना ७८ प्रतिशतभन्दा बढी छ ।’ ट्राफिक प्रहरीले मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा पर्ने झन्डै दुई दर्जन ठाउँलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ । जसमा बेलका नगरपालिकामा पर्ने बाकुन्द्रे खोला, मुस्कान चोक, घुम्ने, चौदण्डीगढी नगरपालिकामा पर्ने द्ववार खोला पुल, इक्राहा, फुलजोर, त्रियुगा नगरपालिकाका चुरे, भातीखर्क, झिल्केटोल, झोडा खण्ड, उदयपुरगढी गाउँपालिकामा पर्ने अँधेरी–जोगीटोल खण्ड, तीनचोके खण्ड, कटारी नगरपालिकाको बिजुले मोड, भुल्के र डाङडुङेमाड पर्दछन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा हुने दुर्घटना न्युनीकरण गर्न अँधेरी जोगीटोल खण्डमा रम्बल स्ट्रिप लगाइएको र अन्य दुर्घटनाग्रस्त खण्डमा दुर्घटना सचेतना सम्बन्धी बोर्ड, घुम्ती (टनिङ) मा प्लास्टिक, टिनका ड्रम, कन्भेक्स मिरर, गाईघाट बजार क्षेत्रमा ट्राफिक लाइटको व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘हामीले ट्राफिक गस्तीसमेत बढाएका छौँ ।’
मदन भण्डारी लोकमार्ग भएर पश्चिम सिन्धुलीबाट पूर्व आउँदा अँधेरी जोगीटोल खण्ड टर्निङ नै टर्निङ भएको ओरालो मात्र तीन किलोमिटर पर्छ । त्यही क्षेत्रमा बढी दुर्घटना हुने भएकाले अहिले रम्बल स्ट्रिप निर्माण गरिएको योगीको भनाइ छ ।
मदन भण्डारी लोकमार्गको उदयपुर खण्डक हेर्ने जिम्मा पाएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक योजना कार्यालयका हाइवे इन्जिनियर सुमन गोलेले उदयपुरगढी गाउँपालिका–७ जोगीटोल अँधेरी खण्डमा दुर्घटना न्युनीकरण गर्न रम्बल स्ट्रिप निर्माण गरिएको जानकारी दिए । उनका अनुसार अँधेरी जोगीटोल खण्डमा जम्मा तीन किलोमिटर सडकमा २० ठाउँमा रम्बल स्ट्रिप निर्माण गरिएको छ । उक्त लोकमार्ग पुरानै एलाइमेन्टमा निर्माण गरिएकाले टर्निङ बढी भएको र नयाँ एलाइमेन्ट बनाइएर निर्माण गरिएको भए टनिङ कम हुने जानकारी दिए ।
२०७७ सालपछि दुई लेन भएको मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको हो । अहिले पूर्वी नेपाल र काठमाडौंको दुरी छोटो बनेको छ । त्यस बाटो भएर दैनिक हजारौँ सवारी साधानहरु गुड्ने गरेका छन् । उदयपुरको भित्री मधेसको लागि आर्थिक सम्बृद्धिको मार्ग कोर्ने सडक पनि हो । यही सडकमा सवारी साधानलाई प्रतिघण्टा ४० किलोमिटर स्पिड कायम गरिएको छ ।
भित्री मधेसमा पर्ने बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगानगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकालाई मदन भण्डारी लोकमार्गले देशका ठूला सहरसँग जोेडेको छ । यसको दुःखद पक्ष बढी दुर्घटना हुनु नै हो ।
यस्तो छ, सवारी चालकको अनुभव
गएको केही अघि मात्रमदन भण्डारी लोकमार्गको गाईघाट खण्डमा भेटिएका ४० वर्षे ट्रक चालक हिरामान तामाङले अनुभाव सुनाउँदै भने, ‘मैले इन्डिया, दुबैमासमेत ट्रक चलाए । पूर्व पश्चिम जोड्ने पुरानो महेन्द्र राजमार्गमा धेरै पटक चलाए । ट्रक चलाएको झण्डै १९ वर्ष भयो ।’
उनले थप्दै भने, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा ट्रक चलाउँदा धेरै समाधान हुनुपर्छ । दुई लेनको सडक भएपनि छोटा घुम्ती र उकालो आरोलो धेरै छ । एउटै स्पिडमा हिड्न सकिँदैन् । उकालो आरोलोमा धेरै टर्निङ छन् । ब्रेक फेल भएर दुर्घटना हुने धेरै सम्भावना हुन्छ । समाधानी अपनाए भने दुर्घटनाबाट बाँच्न गाह्रो छ । एक घण्टामा पार गर्नुपर्ने दुरी ट्रकहरुलाई साढे दुई घण्टासम्म लाग्छ । यो रुटमा नयाँ चालकलाई झनै समस्या हुन्छ । सडक फराकिलो र पिच छ । स्पिडमा गयो । अर्को टर्निङ (घुम्ती) आइहाल्छ । जोगिएन भने मृत्यु कै मुखमा पुगिन्छ ।’
यस्तै काठमाडौंबाट विराटनगर हिंडेका काठमाडौं घर भएका कार चालक दिनेश कुँवर अन्य राजमार्गमा हिंडेको भन्दा धेरै समाधानी अपनाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘दुईसय मिटरको खण्डमा घुम्ती (टर्निङ) छ । सडक खुला छ । स्पिड ग¥यो भने सडक मुनि, दाँयाबाँयामा पुग्न सकिन्छ । जोगिन हम्मे पर्दछ । तर, पनि छोटो सडक भएकाले समाधानी अपनाएर हिड्ने गरेको छु ।’
मोटरसाइकलबाट मदन भण्डारी लोकमार्ग हुँदै सिन्धुलीबाट विपी राजमार्ग हुँदै काठमाडौंको यात्राको क्रममा बेल्टारमा भेटिएका मोरङ पथरीका राजु केसीले मोटरसाइकलको यात्रा झनै जोखिमपूर्ण हुने बताए । उनले भने, ‘खुला हाइवे छ । स्पिडमा जाँदा नियन्त्रण गर्न नसके दुर्घटनाको शिकार हुनुपर्छ । धरै मात्रमा घुम्ती (टर्निङ) उकालो अरोलोका टर्निङ झनै जोखिमपूर्ण छ ।’ ठुला चार पाङग्रे सवारी ब्रेक फेल भएर र दुई पाङ्ग्रे मोटरसाइकल र साना चार पाङ्ग्रे साधन तीब्र गति भएका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।