विराटनगर । राजनीति दल र प्रमुख नेतृत्वले आफ्नो कार्यशैलीमा सुधार ल्याएर जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने प्रमुख तीन दलका नेताहरुले बताएका छन् ।
कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार विराटनगरमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा नेताहारुले गणतन्त्रपछि देशमा प्रगति व्यापक भएपनि नेता र नेतृत्वको आचरणको कारण प्रश्न उठ्ने गरेको बताए ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले २०४८ सालको अवस्थासँग तुललना गरेर हेर्दा नेपालमा सबै क्षेत्रमा प्रगति भएको दावी गर्दै त्यो विश्वका औषत मुलुकको हाराहारीभन्दा कम नभएको दावी गरे । राजश्व, प्रतिव्यक्ति आय, उत्पादन, गरिबी सबै क्षेत्रमा सुधार भएपनि असन्तुष्टि चुलिनुमा आफूहरुको आचरण भएको उनले बताए ।
‘हामीले संविधान संशोधन गरेर मात्र हुँदैन, नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या छ’ उनले भने, ‘यसलाई सुधार गरेर जाउँ । निराशा हटेर जान्छ ।’ केहि पनि भएन भन्ने गलत भाष्यलाई चिरेर परिवर्तन पक्षधर शक्तिहरुले प्रतिस्पर्धासँगै लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासमा एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यो विकासलाई हामीले नजरअन्दाज गर्न नहुने बताए । ‘सबै विकासका पक्षलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौं’ उनले भने, ‘साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आय, सुत्केरी मृत्युदर जस्तामा भएको प्रगति उत्साहजनक छ ।’
मुलुकको विकास तथा राष्ट्रिय मुद्दाहरुमा सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्यो अनुसार काम नभएपछि जनतामा निराशा बढेको चर्चा गर्दै रिजालले दलहरुले सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने बताए । नेपाली काँग्रेस र एमाले मिलेर बनेको सरकारको १० महिने अबधिले जनतामा उत्साह जगाउन नसकेको भन्दै उनले त्यसमै प्रतिगामीहरुले खेल्न खोजेको बताए ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले राजनीतिक दल र नेतृत्वमा नैतिकता र इमान्दारिताको खाँचो रहेको औल्याउँदै दलहरुले सुशासन, सेवाप्रवाह, सामाजिक न्याय र आर्थिक विकासमा जनचाहना अनुसार काम गर्न नसकेको बताए । ‘जनताले चित्त दुुखाएका छन्, अर्कालाई मात्रै दोष दिएर भएन’ उनले भने, ‘पानी धमिलो पार्ने काम गरेपछि त्यसमा सबैखाले माछाहरु पौडन आउनु स्वभाविक छ ।’
अहिलेको दुईतिहाइको सरकार भष्टाचारमा लिप्त भएको र प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियान नयाँ सरकार बनेपछि रोकिएकोले जनतामा आक्रोश बढेको गजुरेलले बताए । ‘सिंहदरबारमा भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने बोर्ड टाँगिएको छ, तर खुलेआम भ्रष्टाचार भइरहेको छ’ गजुरेलले भने, ‘मन्त्रीहरु नै गम्भीर काण्डमा मुछिएको अवस्थामा पनि छानविन र कार्वाही नभएपछि जनतामा आक्रोश बढेकोले सरकार गम्भीर हुनुपर्छ ।’
दलहरुले आफ्ना कमजोरी स्वीकार गर्दै सच्चिएर अगाडि बढेमा राजावादीको आन्दोलन तुहिएर जाने बताउँदै गजुरेलले माओवादीको हकमा त्यहि भएको उदाहरण दिए । ‘सरकार छाड्दैगर्दा अब माओवादी सकियो भन्ने विश्लेषण जनताको बिचमा गएर सुरु गरेको अभियानपछि तोडिएको उदाहरण छ’ उनले भने, ‘गत स्थानीय तहको उपनिर्वाचन र स्ववियु निर्वाचनले त्यसलाई प्रमाणित गरेको छ ।’
कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छोटो अबधिमा गणतन्त्र आएपछि उल्लेख्य प्रगति भएको भन्दै त्यसलाई आम जनतामा बुझाउनुपर्ने बताए । कार्यशैली र ढाँचामा जनताले प्रश्न उठाएको बताउँदै उनले त्यसलाई निरूपण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरु जनतासमक्ष राख्दै जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बावजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिए ।