विराटनगर । पूर्वमन्त्री मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । कांग्रेस नेतासमेत रहेका पुर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार सफाइ दिएको हो ।
मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
अहिले आलमसहित ४ जनाको हकमा उक्त फैसला उल्टिएको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीले बताए ।
न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमका अलावा महताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीलाई पनि सफाइ दिएको भण्डारीले बताए ।
वि।सं। २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकर्ता जलाएको अभियोग आलममाथि थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।
त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलममाथि लागेको थियो ।