इटहरी । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल (सितल कुमार) ले अहिले माओवादी पार्टीले अवलम्बन गरिरहेको चुनावी प्रक्रिया बुर्जुवा भएको बताएका छन् ।
पार्टीको युवा संगठन वाइसीएलको १ नम्बर प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रदेश इन्चार्जसमेत रहेका गजुरेलले पार्टीका विभिन्न अंगहरुको नेतृत्व चयन प्रक्रिया माक्र्सवाद सुहाउदो नरहेको बताए ।
गजुरेलले बुर्जुवा प्रकारको चुनावले पार्टी, संगठनलाई हानी गर्ने हुँदा सहमतीय प्रक्रियाबाट प्रदेशको वाइसीएल नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । उनले भने–‘हाम्रो पार्टीभित्रको नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनु पर्छ, त्यो भनेको ५० प्रतिशत नम्बर मूल्यांकन कमिटिले दिने ५० प्रति नम्बर चुनावी प्रक्रियाबाट प्राप्त गर्ने हुन सक्छ, यसो गर्यो भने सहित नेतृत्व आउन सक्छ ।’ अन्यथा बुर्जुवा प्रकारको चुनावले पार्टीलाई क्षति गर्छ ।
नेता गजुरेलले वाइसीएललाई एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरेका छन् । उनले एकताबद्ध भएर अघि बढेमात्रै वाइसीएल सक्षम र जुझारु हुने विचार व्यक्त गरे । पूर्वमा वाइसीएललाई नयाँ शिराबाट उठाउन नयाँ मोडलको वाइसीएल निर्माण गर्नका लागि पार्टी नेतृत्व लागि परेको बताए । गजुरेलले वाइसीएललाई आत्मनिर्भर भएर अघि बढ्न सुझाव पनि दिए ।
वाइसीएलको प्रदेश सम्मेलनलाई वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा –दीपशिखा) केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पाली, नेकपा माओवादी केन्द्र संसदीय दल नेता इन्द्र आङ्बो (मौसम), प्रदेश पार्टी अध्यक्ष हर्क नेम्वाङ –मिक्सो), सचिव गणेश उप्रेती (शुशील), अनेमसंघ क्रान्तिकारी प्रदेश इन्चार्ज उर्मिला तामाङ्ग, वाइसीएल प्रदेश सहसंयोजक विक्रम शंकर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
