विराटनगर । उत्पादनमा सबैभन्दा अब्बल रहेको कोशी प्रदेशमा धान खेतीका लागि रासायनिक मलको अभाव नहुने कमी नहुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ ।
धान खेतीको लागि चाहिने रसायनिक मल डिएपी र युरियाको मौज्दात पर्याप्त रहेको भन्दै कार्यालयले थप मल आउने क्रममा रहेकोले अभाव नहुने जिकिर गरेको हो ।
प्रादेशिक कार्यालय विराटनगरका अनुसार प्रदेशमा युरिया ५५० मेट्रिक टन मौज्दात रहेको र थप ८ हजार ५ मेट्रिक टन मल आउने क्रममा रहेको छ । यस्तै डिएपी ४ हजार ४९० मेट्रिक टन मौज्दात रहेको र ७ हजार मेट्रिक टन आउन लागेको कार्यालयले जनाएको छ । पोटास भने १ हजार ८९९ मेट्रिक टन मौज्दात रहेको उक्त कार्यालयले जनाएको छ ।
सो कार्यालयले कोशी प्रदेशसहित मधेश प्रदेशका सिरहाको लहान र सप्तरीको राजविराज स्थित कार्यालयलाई रसायनिक मल विक्री वितरण गर्दे आएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका प्रादेशिक प्रवन्धक नरेशकुमार साफकोटाले धान खेतीको लागि चाहिने रसायनिक मल यस पटक कमी नहुने बताए । पहाडका जिल्लामा अहिले रसायनिक मल पठाएको बताउदै उनले भने–‘ आइतबारदेखि सुनसरी, मोरङलगायतका जिल्लाका लागि बिक्री वितरण सुरु गर्ने छौं ं।’
प्रदेश मल वितरण व्यवस्थापन समितिद्वारा निर्धारित कोटा सम्बन्धी स्थानीय तहले बिक्रेतालाई गरेको सिफारिसको अधारमा बिक्री गर्ने गरेको उनले बताए । स्थानीय तहले विगतको बिक्री, खेतीयोग्य भूमिको बाली सघनताको अधारमा कोटा निर्धारण गरेर सिफारिस गर्नुपर्ने प्रावधान रहेको उनले बताए । मौज्दात रहेको मल र पहिलो लटमा आउन लागेको मलले कृषकको आवश्यकता परिपूर्ति गर्दै लैजान कुनै समस्या नभएको उनको दावी थियो । धान खेतीको लागि प्रदेशमा करिब ३० हजार मेट्रिक टन रसायनिक मलको आवश्यता हुने कार्यालयको अनुमान छ । त्यसैले धान रोप्न चाहिने मल दोस्रो लटसम्म आइपुग्दा परिपूर्ति हुने उनको भनाइ थियो । उनले कार्यालयसँग कृषि चुन पनि मौज्दात रहेको बताए । उनले भने –‘मौज्दात रहेको कृषि चुन मागअनुसार उपलब्ध गराउँदै जान्छौं ।
पहाडमा धान रोपाइँ सुरु भइसकेको जानकारी दिँदै उनले तराईमा भने असार सुरुबाट रोपाइँ आरम्भ हुने भएकोले अहिले नै मलको कुनै समस्या नहुने बताए । सरकारले खाद्यान्य उप्दानमा जोड दिएकाले समयमा नै चाहिने मल दिन सकिने अवस्थामा आफूहरु रहेको सुनाए । केहि वर्ष अघिदेखि पूर्वी किसानले मल अभावको चपेटामा पर्दा उत्पादनमा ह«ास आएको गुनासो गर्दे आएका थिए ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित मधेश प्रदेशको राजविराज, लाहानसहित आठ स्थानमा रहेको कम्पनीको कार्यालयले १७० वटा सहकारीमार्फत रसायनिक मल किसानलाई बिक्री वितरण गर्ने गरेको छ ।
नेपालमा मल अभाव हुँदा तराईका किसानले भारतीय सीमा क्षेत्रबाट आउने मलको प्रयोग गर्ने गरेको भए पनि सुरक्षाकर्मीले सहजरुपमा मल ल्याउन नदिने गरेको गुनासो गरे । सरकारले अनुदानमा किसानलाई रसायनिक मल उपलब्ध गराउने गरेको छ ।