कानेपोखरीमा जवाफदेहिताको संकट

 सम्पादकीय

कानेपोखरी गाउँपालिकामा नाला निर्माण गर्ने क्रममा अनियमितता गर्ने नियतले कमसल निर्माण सामग्री प्रयोग गरेको घटना हालै सार्वजनिक भएको छ । सार्वजनिक निर्माण कार्यमा देखिएको अनियमितता र गुणस्तरहीन कार्यको प्रयोगले हाम्रो स्थानीय शासन प्रणालीको सुधारमा देखिएको गम्भीर चुनौतीलाई जनताका बिचमा उजागर पनि गरेको छ । यो एउटा घटना मात्र होइन आम प्रवृत्ति पनि हो । यस्ता प्रवृत्तिले हाम्रो सामाजिक संरचनामा कति धेरै भ्रष्टाचार छ र लापरवाहीको अवस्थालाई चित्रण गर्दछ ।
स्थानीय नागरिकहरूको सजगता र सामाजिक सञ्जालको माध्यमबाट उजागर भएको यो अनियमितताको घटनाबाट सबै नागरिकहरु सतर्क र सचेत हुनुपर्ने सन्देश दिएको छ । वडा नम्बर ४ मा निर्माणाधीन नालामा न्युन गुणस्तरका सामग्रीको प्रयोग, अत्यन्त कम मात्रामा सिमेन्ट र ठूला–ठूला ढुंगाहरूको उपयोग, यी सबै कुराहरूले निर्माण कार्यमा कसरी भ्रष्टाचार हुन्छ र त्यसमा जिम्मेवार अधिकारीहरु कसरी संलग्न बन्छन् भन्ने कुरालाई स्पष्ट पनि गरेको छ ।

गाउँपालिकाका प्राविधिक अधिकारीहरूले नै निर्माण कार्यमा कमसल सामग्री प्रयोग गरेको स्वीकार गर्छन् तर, त्यो घटना नागरिकहरुले सामाजिक सञ्जालबाट सार्वजनिक नगर्दासम्म उनीहरुको ध्यान त्यत्तापट्टि गएको देखिएन । उनीहरुबाटै पुष्टि भएका यी तथ्यहरूले सार्वजनिक संसाधनको दुरुपयोग र भ्रष्ट प्रवृत्तिप्रति भने सबैले गम्भीर हुनुपर्ने शिक्षा दिएको छ ।
कानेपोखरीमा एक हजार पाँच सय मिटर लामो सडक नालाको निर्माण गर्न करिब १ करोड १० लाख रुपैयाँमा सम्झौता गरिएको थियो । तर, ठेकेदारले न्युन गुणस्तरको निर्माण सामग्री प्रयोग गरेर निर्माण गर्यो । जसले सार्वजनिक सेवा प्रवाहमा देखिएको भ्रष्टाचारले सिंगो समुदायलाई नै चिन्तीत बनाएको छ । स्थानीय तहका विकास निर्माण कार्यहरूमा यस्ता अनियमितताहरू अब सामान्य प्रवृत्ति बन्दै गएका छन् । जनताको कर र सार्वजनिक स्रोतको दोहन गर्ने गलत मान्यता समाजमा स्थापित हुँदै गएको छ । यसले हाम्रो प्रशासनिक संयन्त्र र सार्वजनिक सेवा प्रवाहमा भ्रष्टाचारको जरा झन् गाडिँदै गइरहेको र जाने सम्भावना देखिएको छ ।

स्थानीय नागरिकहरूको सतर्कता र निगरानीले यस्ता अनियमितताहरू सार्वजनिक हुन सक्छन् । तर, यो एक ठाउँको र पहिलो घटना होइन यस्ता अनियमितता उनीहरुका लागि सामान्य नै बनिसकेका छन् । यस्तो प्रवृत्तिलाई उजागर गर्न नागरिक तहबाटै बढिभन्दा बढी निगरानी बढाइनु पर्दछ । नागरिकहरु जागरुक भएपछि अहिले कानेपोखरी गाउँपालिकाले उक्त निर्माण कार्य हाललाई रोकेको छ । त्यसलाई भत्काएर पुनः निर्माण गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । यो नागरिकहरुको गुनासो सुनुवाइका दृष्टिले सकारात्मक हो तर नागरिकहरु सचेत नभएको भए हाम्रा स्थानीय सरकारहरुले यस्तो बाटो अवलबन गर्थे होलान् र भन्ने प्रश्न उनीहरुका सामुन्नेमा यथावत नै छ । त्यसैले सार्वजनिक विकास निर्माणको कामप्रति निरन्तर र कडा निगरानी, पारदर्शिता र जवाफदेहिता आवश्यक छ भन्ने देखाउँछ ।

हाम्रो समाजले अब यस्ता अनियमितताहरूलाई सामान्य रूपमा लिन सक्दैन र हुँदैन । सार्वजनिक संसाधनको सदुपयोग, निर्माण कार्यको गुणस्तर र भ्रष्टाचारविरुद्ध लगातार सचेत र सक्रिय रहनु पर्दछ । यो केवल एक स्थानीय निकायको मात्र होइन, पूरै समाज र राज्य संयन्त्रको जिम्मेवारी हो ।

मङ्गलबार, ३० बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर