एमटुयुको लक्ष्य भ्यागुतोजस्तै उफ्रने अवस्था सर्पजस्तै घस्रिनुपर्ने

  गणेश लम्साल

कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो हो मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) । स्थापनादेखि नै भ्यागुतो जस्तै उफ्रेर आफ्नो दश वर्षे रणनीति सफल बनाएरै छाड्ने लक्ष्य लिएको यो विश्वविद्यालयको अवस्था चाहिँ अझै सर्पजस्तै घस्रिएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहनुपर्ने बाध्यता छ ।

एक्काइस बिघाको परिसर भएको एमटियु केन्द्रीय कार्यालय मोरङको बुढीगंगा ४ हात्तीमुढामा मात्र चालीस अर्ब बढीको आधुनिक पूर्वाधार छ । स्थापनाको दुई वर्षभित्रै आवश्यक कानुन निर्माण गरेर २०७८ देखि उच्च प्राविधिक शिक्षामा पढाई सुरु गरेको एमटियुले दश वर्षभित्र दक्षिण एसियामा चिनिने लक्ष्य लिएको छ । तर, बजेटको सीमितताले गर्दा यो विश्वविद्यालय भ्यागुतोजस्तो उफ्रने लक्ष्य लिएर पनि सर्पजस्तै घस्रिएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

एमटुलाई कोशी सरकारले मुस्किलले हालसम्म बढीमा ३० करोड सम्म बजेट दिँदै आएको छ । तर हरेक वर्ष एमटियुमा शैक्षिक कार्यक्रमहरु थपिएको थपिएकै छन् । विद्यार्थी, शिक्षक र कर्मचारीको संख्या पनि बढेको बढ्यै छ । प्राप्त बजेटले एमटियुलाई पुँजीगत खर्चमा समस्या हुनेगरेको छ । चालु खर्चकै लागि पनि निकै हम्मेहम्मे पर्नेगरेको छ । एमटियु कोशी सरकार आफैले स्थापना गराएकोले यो गौरवको योजना पनि हो । यसैले एमटियुलाई कोशी प्रदेश सरकारले एउटा मन्त्रालय सो सरह मानेर कम्तीमा पाँच वर्षसम्म बजेट उपलब्ध गराएमा भ्यागुतो जस्तै उफ्रेर फड्को मार्न सक्ने थियो । देशको नमूना प्राविधिक विश्वविद्यालय बनेर अन्तर्राष्ट्रियस्तरमा पनि चिनिने थियो । जसले विदेशी विद्यार्थीहरुलाई पनि आकर्षण गर्न सक्ने थियो ।

एमटुयु पूर्वाधार र दक्ष जनशक्ति सम्पन्न विश्वविद्यालय हो । यसले आधारभूत, मध्यमस्तर र उच्चस्तरको जनशक्ति उत्पादन गर्छ । तालिमका तह १ देखि तह ५ सम्म पास गरेका विद्यार्थीलाई तह ६ (स्नातक) देखि तह ८ (विद्यावारिधि) सम्म पढाउने विश्वविद्यालय बनेर स्थापनाको दश वर्षभित्र दक्षिण एसियामा पहिचान बनाउन सफल हुने आत्मविश्वास पनि एमटियुको छ ।
एमटियुले हाल सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र फार्मेसीमा स्नातकतहको बिबिए, एलएलबी, स्नातकोत्तर तहको एलएलएम अनि हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट विषयको पढाइ गरिरहेको छ । यस बाहेक स्नातक तहको बायोमेडिकल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा एण्ड योगिक साइन्स, रेल्वे इन्जिनियरिङ र टनेल इन्जिनियरिङ र प्राकृतिक चिकित्सा विषयको कोर्ष सञ्चालन गर्ने तयारी पनि गरिसकेका छ । तर, स्थापना भएको पाँच वर्ष बितिसक्न लाग्दा पनि मनमोहनले अझै आफ्नो अस्पताल पाएको छैन । जसले गर्दा पाठ्यक्रम तयार गरेर पनि अस्पताल नहुँदा बिएससी नर्सिङ, अप्टोमेसी, रेडियोलोजी, ल्याब प्राविधिक (बिएमएलटी), रेडियोलोजी, फिजिकल थेरापी, र एमबिबिएस र एमडीका कक्षाहरु सञ्चालन गर्न सकिरहेको छैन ।

स्थापना कालदेखि अहिलेसम्म भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रमको अवस्था सीमित बजेट र स्रोतसाधनहरुका बीच पनि सन्तोषजनक छ । तर यतिले मात्र एमटियुले लिएको लक्ष्य पूरा गर्न सक्दैन । तयार पारिएको रणनैतिक प्रतिवेदन अनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नुपर्नेछ । पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पिएचडी र १० वटा मास्टर्स र १२ वटा थप ब्याचलर तहको कक्षा सञ्चालन हुनेछन् । विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन वाटर, जडिबुटी, मेडिसिन, एनिमल टेस्टिङदेखि फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, बायोमेडिकल, हाइभोल्टेज कन्ट्रोल, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी, इकोलोजी लगायत थप १८ वटा ल्याबहरु स्थापना गर्नुपर्ने हुन्छ ।
मिसन २०८५ सम्ममा विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना एमटुयुको छ । दक्ष विद्यार्थी उत्पादन गर्न विभिन्न देशहरुबाट कम्तीमा एउटा विषयमा एक जना विदेशी विज्ञ शिक्षक हायर गर्ने । आफ्नै तारामण्डल र म्युजिएम सहितको विज्ञानपार्क निर्माण गर्ने । मेडिकलतर्फको प्राविधिक विषय अध्यापन गराउनका आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने ।

अनुसन्धान केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने । परिसरभित्रै स्विमिङ पुल, मेडिसिनल (जडिबुटी) गार्डेन, फिजिकल फिटनेस सेन्टर स्थापना गर्ने योजना पनि छ । एक हजार जना सहभागी हुने अडिटोरियम हल, पाँच हजार क्षमताको स्टेडियम निर्माण, अलग्गै टिचिङ ब्लकदेखि आफ्नै ग्रोसरी कम्प्लेक्स बनाउने एमटुयुको थप योजना छ । यसैगरी विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गराउने, आफ्नै कानुन ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, इलेक्ट्रिक टेस्टिङ सेन्टर स्थापना गर्नेदेखि अन्तरिक्षका लागि स्पेस बनाएर आफ्नै चन्द्रयान बनाउने जस्ता महत्वाकांक्षी लक्ष्य पनि एमटुले लिएको छ । मिसन २०८५ भित्र ५ वटा विषयमा पिएचडी, १२ विषयमा स्नातकोत्तर र १७ विषयमा स्नातक तहको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको छ । साँच्चै मिसन २०८५ सफल बनाउन सकियो भने सबै विषयहरुमा पठनपाठन हुन थालेपछि एमटुयूमा स्वदेशी र विदेशी २५ सयजति विद्यार्थी अध्ययनरत हुनेछन् । मिसन २०८५ का लागि आवश्यक १८ कार्यभार पूरा गर्नका लागि एमटियुलाई बीस अर्ब बढी बजेट लाग्ने अनुमान गरिएको छ ।

विदितै छ । नेपालमा अब सैद्धान्तिक होइन प्राविधिक शिक्षाको खाँचो छ । देशको समृद्धिसँग जोडिने, कलकारखाना सञ्चालन गर्न चाहिने जनशक्ति, चिकित्सा शिक्षा, व्यावसायिक विषय, कृषि, पर्यटन तथा खेलकुद क्षेत्रका प्राविधिक जनशक्तिहरूको उत्पादन र रोजगारीको सुनिश्चितता र व्यावहारिक अनुसन्धानले मात्र एमटियु दक्षिण एसियामा चिनिन सक्नेछ । यसैले पनि कोशी सरकारले आफ्नै गौरवको विश्वविद्यालय मानेर बजेट उपलब्ध गराउनुपर्छ । प्रदेश सरकारले यसलाई आफ्नो गौरवको परियोजना मानेर मात्र ५ वर्ष राम्रो लगानी गरिदिने हो भने यो विश्वविद्यालयले पक्कै सर्पजस्तै घस्रिरहनु पर्दैन र भ्यागुतो जस्तै उफ्रेर फड्को मार्न सक्नेछ । अनि मात्र एमटियु देशकै गौरव गर्न लायकको विश्वविद्यालय हुनेछ । जसको श्रेय कोशी प्रदेश सरकारले नै पाउनेछ । एक पटक लक्ष्य पूरा गरिसकेपछि कोशी सरकारले पटक पटक लगानी गरिरहनु पनि पर्दैन । एक पटक पाँच वर्षसम्म मन्त्रालय सो सरह मानेर लगानी गरे मात्र पुग्छ ।

Supported only between 1944-2022