विराटनगर । कुनै समय माधबकुमार नेपाल निकट रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचना गर्ने एमाले नेता रघुजी पन्त ओली क्याबिनेटकै शिक्षामन्त्री नियुक्त भएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाथि बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरिएको हो । पन्तको शपथ भने बिहीबार हुनेछ ।
प्रधानमन्त्रीकै असहयोग र अपमानपछि शिक्षामन्त्री भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन् । उनको राजीनामालाई प्रधानमन्त्रीले ठूलो मन्त्रालयको काम गर्न नसकेको र विरामी भएकोले राजीनामा दिएको बताएका थिए ।
पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् ।ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए । माधव नेपाल नेतृत्वको समूहमा रहेका उनी एमाले विभाजन हुँदा भने ओलीलाई साथ दिएपछि उनको प्रशंसामा सबैभन्दा खरो बोल्दै आएका नेता हुन् । संसदमा प्रधानमन्त्री र सरकारको विपक्षीले आलोचना गर्नसाथ उनी तत्काल प्रतिवाद गर्दै जवाफ फर्काउने गर्दै आएका थिए ।
संसदमा विपक्षीलाई कडा प्रहार गर्न र ओलीको प्रशंसा गर्नेमा पन्त र एमाले सचिव योगेश भट्टराई अगाडि थिए । यो सरकार गठनको सुरुवातमै भट्टराई मन्त्री बन्ने चर्चा भएपनि ओलीले बनाएनन् । अहिले पन्तले भने अवसर पाएका छन् ।
माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गर्नु अघिसम्म रघुजी पन्त माधव नेपालका दाहिने हात मानिन्थे । नेपाल प्रधानमन्त्री भएका बेला पन्त प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिका थिए । तर, एमाले विभाजन गर्ने नेता नेपालको योजनामा पन्तले साथ दिएनन् ।
पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।