विराटनगर । भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा रुपन्देहीको बुटवलका युवाको पनि मृत्यु भएको खुलेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिएकी हुन् ।
बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासी गोली हानेको थियो । घटनामा न्यौपानेकी आमा रिमा घाइते भएकी थिइन् । उनी आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित पर्यटकीय क्षेत्र जम्मु कश्मिरको भ्रमणमा गएका थिए ।
सुदीप परिवारका एक्ला छोरा भएको र उनी सुनसरीको धरानमा पब्लिक हेल्थ पढ्दै गरेको बताइएको छ । गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित उनी कश्मिर भ्रमणमा गएको बताइएको छ । घटनापछि सुदीपका बुवा बुटवल १४ बेलबरियामा विक्षिप्त अवस्थामा रहेको काका दधिराम न्यौपानेले बताए ।
परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल– ११, कालिकानगर रूपन्देहीका सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सो आतङ्ककारी हमलामा परेर घाइते हुनुभएकी उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बन्दूकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको बताइएको छ । घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएपछि पहिचान खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन् ।
ुद रेसिस्टेन्ट फ्रन्टु नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ। यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
घटनापछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन्। नेपालले पनि घटनाको निन्दा गरेको छ ।