विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् ।
प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए । ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो,’ प्रचण्डले टेलिफोनमा भनेका छन्, ‘देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौं ।’
त्रिभुवन विश्वविद्यालयको तीन आंगिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीनवटै आंगिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले ३ र अनेरास्ववियुले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।