स्ववियु निर्वाचनको नाममा अराजकता

 सम्पादकीय

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा देशभरका क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको गतिविधिले क्याम्पसहरूमा तोडफोड, अवरोध, र झडपका घटना वृद्धि भएको छ । प्रहरी प्रशासन भने यस्तो स्थितिमा निष्क्रिय र रमिते मात्र देखिएको छ । सत्तारुढ राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबीचको तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । विशेषगरी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बीचको लफडाले स्थिति झनै जटिल बनाएको छ । सत्तापक्षको भ्रातृ संगठनका विद्यार्थीले तोडफोड गर्दासमेत प्रहरी प्रशासनले ठोस कारबाही गर्न नसकेको देखिन्छ ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा चुनावी तनाव उत्कर्षमा पुगेको छ । चुनावी विषयलाई लिएर विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि प्रहरीले स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसअघि गुण्डागर्दीमा संलग्न नेविसंघकै अर्को पक्ष पक्राउ परेको थियो । तर, राजनीतिक दबाबमा उनीहरु लगत्तै रिहा भए । कुनै बेला स्ववियु निर्वाचनमा देशकै केन्द्र मानिने महेन्द्र मोरङ क्याम्पसमा चुनावी रौनकभन्दा विवाद र लफडा धेरै छ । कुनैबेला यो क्याम्पसको स्ववियुको पदाधिकारी रहेकी विद्यादेवि भण्डारी राष्ट्रपति भइन् भने गुरुराज घिमिरे, भुराज राई, भीम पराजुली, ऋषिकेश पोखरेल, सागर थापा जस्ता नेताहरु मोरङ क्याम्पसकै स्ववियुले विकास गरेका नेता हुन् । राजनीतिमा आउने युवाहरुको कारखानाको रुपमा विकास भएको स्ववियु पछिल्लो समयमा भने बद्नाम मात्र भएको छ । न शैक्षिक एजेण्डा आगाडि छन्, न त राजनीतिक नैतिकता र नेतृत्व विकास नै । बरु सत्तारुढ दल निकट नेविसंघको आन्तरिक लफडाले क्याम्पसन नै असुरक्षित मात्र बनेको छैन, निर्वाचन नै अन्यौलमा परेको छ । मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ सात संगठनले उमेदवारी दर्ता गराएका छन् । जसमा एक स्वतन्त्र प्यानल समेत रहेको छ । जसमा ७२ जना पत्यक्षतर्फ रहेका छन् । समानुपातिकतर्फ नौवटा संगठन रहेका छन् । तर, निर्वाचन भाँड्न नेविसंघ सक्रिय देखिएको छ ।

मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विगतदेखि अहिलेसम्म विवादको स्वरुप भने उस्तै देखिन्छ । कहिले अन्तर विद्यार्थी संगठनबीच त कहिले आन्तरिक संगठनबीचको विवाद सतहमा आउने गरेको छ । कतिपय विवाद स्ववियुको को पुग्ने भन्ने मनसाय प्रेरित छन् भने कतिपय विवाद बदला लिनेसम्मको स्थानसम्म विगतदेखि नै देखिन्छन् । २०३८ सालमा स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेता विजयकुमार गच्छदारको टिमले कब्जा गरेपछि अखिलका नो फणिन्द्र तिम्सिनाको हत्या भएको थियो । २०६५ सालमा जयराम सुन्दास निर्वाचित हुनुभन्दा केहि समय अगाडि उनीमाथि तरबार प्रहार गरिउको थियो । अहिले भने नेविसंघकै दुई समूह बञ्चरो र खुकुरीसहित हानाहानमा मात्र उत्रिएका छैनन्, निर्वाचन समितिको कार्यालयमा आगजानी र तोडफोड पनि गर्दै आएका छन् । उनीहरुलाई सत्तारुढ समर्थक भएवापत कानुनी कार्वाही भएको छैन । उन्मुक्त शैलीमा गुण्डागर्दी र अराजकता मच्चाइरहेका छन् ।

मोरङ क्याम्पस मात्र नभएर देशभरका अन्य क्याम्पसको अवस्था उस्तै छ । काठमाडौंका आठवटा क्याम्पसमा तालाबन्दी गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पससहितका क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया समाप्त भइसकेपछि तालाबन्दी गरिएको छ भने कतिय क्याम्पसमा उम्मेदवारी नै दर्ता हुन सकेको छैन । विद्यार्थी संगठनहरूले शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी भएर लोकतान्त्रिक प्रक्रियालाई प्रबद्र्धन गर्नुपर्नेमा जसरी पनि स्ववियु कब्जा गर्ने नियत राख्दा अराजकता बढेको छ । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ रूपमा अघि बढाउन सकेमा मात्र स्ववियु निर्वाचन विवादरहित हुन सक्छ । अन्यथा, विद्यार्थी राजनीतिमा बढ्दो हिंसात्मक गतिविधिले शैक्षिक वातावरण मात्र नभएर स्ववियुको अस्थित्वमाथि नै संकट आउनेछ ।

सोमबार, ०३ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर