
सम्पादकीय
विराटनगरमा आयोजना हुने विराट गोल्डकप नेपाली फुटबलका लागि मात्र नभई खेलकुद क्षेत्रकै लागि महत्वपूर्ण प्रतियोगिता हो । यसले नेपाली फुटबलको जरा बलियो बनाउन र खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ । विगत केही वर्षदेखि रात्रीकालीन खेलहरू आयोजना गरिँदै आएको यो प्रतियोगिता यो वर्ष पनि रात्रिकालिन रुपमा सञ्चालन हुँदैछ । उत्कृष्ट व्यवस्थापनसहित सञ्चालन हुने प्रतियोगिता विराटनगरमा अस्थायी फ्लडलाइट बनाएर रात्रिकालिन बनाइएकोमा अहिले स्थायी फ्लडलाइटको व्यवस्था सहिद रंगशालामा भइसकेको छ । आयोजक ट्रस्टले प्रतियोगितालाई नयाँ उचाइ दिन प्रयास गर्दै आएको छ । विराटनगरको लामो इतिहाससँग यो प्रतियोगिता जोडिएकोले यसलाई महत्वको साथ हेरिएको छ ।
यो वर्षको प्रतियोगितामा भारतका दुई टिमसहित १० उत्कृष्ट डिभिजन क्लबहरू प्रतिस्पर्धा गर्दैछन् ।
यसले स्वदेशी खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने अवसर प्रदान गर्छ । यसपटकको विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख पाउनेछन् । विगतका संस्करणहरूमा आर्थिक समस्याले गर्दा पुरस्कार राशीमा तलमाथि भए तापनि यसपटक प्रथम पुरस्कार केही वृद्धि गरिएको छ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । गोल्डकपले नेपाली फुटबलमा खेलाडी उत्पादन मात्र होइन, व्यवस्थापन, प्रायोजन र दर्शक संलग्नताको नयाँ आयाम सिर्जना गर्ने विश्वास गर्न सकिन्छ । मोफसलमा रात्रीकालीन फुटबलको अवधारणा ल्याएर विराटनगरलाई फुटबलको अर्को केन्द्रका रूपमा स्थापित गर्ने प्रयास भएको छ । फुटबलप्रेमीहरूको अत्यधिक चासोका कारण विराट गोल्डकप नेपाली फुटबलको बहुप्रतीक्षित प्रतियोगितामध्ये एक बनेकै छ ।
नेपालको खेलकुद क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्दै गइरहेको परिप्रेक्ष्यमा विराट गोल्डकप यसको उत्कृष्ट उदाहरण हो । नेपाल उद्योग वाणिज्य संघका सदस्य तथा व्यवसायी नविन रिजालको संयोजनमा यो वर्षको प्रतियोगिता हुँदैछ । ट्रस्टले ७औं र ८औं संस्करणमा घाटा व्यहोरेपछि पुनः निजी क्षेत्रलाई जिम्मेवारी दिएको छ । जसले प्रतियोगितालाई आर्थिक रूपले पनि आत्मनिर्भर बनाउन मद्दत पु¥याउने विश्वास गरिएको छ । तर, यसलाई आम विराटनगरबासीले अपनत्व लिन अझै सकेका छैनन् । त्यसमा आयोजक संस्था चुकिरहेको छ । सीमित व्यक्तिहरुको नियन्त्रणमा रहेको गोल्डकप ट्रष्ट र सीमित व्यक्तिहरु रहेको आयोजक संस्थाको व्यवहारकै कारण आम विराटनगरबासीको मायाँ यसले अझै पाउन सकेको छैन ।
यसपटक विराट गोल्डकपलाई अझ रोमाञ्चक बनाउन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, ‘फेस अफ विराट गोल्डकप’ प्रतियोगिता जस्ता गतिविधिहरूसमेत समावेश गरिएका छन् । यस्ता कार्यक्रमहरूले दर्शक आकर्षित गर्नुका साथै खेलकुद पर्यटनलाई प्रवद्र्धन गर्न मद्दत गर्छ । विराट गोल्डकप केवल खेलकुद प्रतियोगिता मात्र होइन, यो फुटबल प्रवद्र्धनको दियो बन्न सक्नुपर्छ । जसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर दिन सकोस् । सरकारी र निजी क्षेत्रको समन्वयमा खेल क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण यो प्रतियोगिता बन्नुपर्छ । सरकार, खेल क्षेत्र र व्यवसायीहरूको अझ सक्रिय भूमिकामा नागरिक तहको साझेदारी विकास गर्न सक्नुपर्छ । जसले गर्दा विराट गोल्डकपजस्ता प्रतियोगिताहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ । विराटनगरबासीको गौरबको रुपमा यो प्रतियोगितालाई स्थापित गर्ने भूमिका ट्रष्ट र आयोजकले खेल्नुपर्छ ।