एमाले मोरङ अधिवेशन : समूह नेतृत्वमा ढकाल पक्ष हाबी, भोली दिउँसो २:४५ देखि मतदान

विराटनगर । नेकपा (एमाले) मोरङको दशौं अधिवेशनको बन्द सत्रमा नेता विनोद ढकाल पक्ष हाबी भएको छ । शनिबार अधिवेशन उद्घाटन भएको हो । आइतबार चलेको बन्द सत्रमा भने संगठन समिति मोरङका अध्यक्ष बाबुराम कार्कीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा कमिटीका संयोजक हेमराज सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सो प्रतिवेदन माथिको छलफलका लागि ६ वटा समूह निर्माण भएको थियो । उक्त समूहले छानेका ६ जनै टोली नेता ढकाल समूहका हुन् । निर्वाचन क्षेत्रस्तरीय गठन भएको टोली नेताको १ नम्बर टोलीमा गोपाल प्रसाद रिमाल, २ नम्बरको महेन्द्र विष्ट, ३ भोला अधिकारी, ४ को सुरज न्यौपाने, ५ को सन्तोष साह र ६ नम्बरको सागर थापा टोली नेता भएका हुन् । छलफलले प्रतिवेदनहरु पारित गरेको छ ।

यद्यपि प्रतिवेदनमाथि धेरै प्रतिनिधिले अध्ययन नै नगरेको एक नेताले बताए । ‘जिल्ला समितिमा समेत छलफल नगरी ल्याएको प्रतिवेदन नपढ्ने भनेर धेरैले भने,’ उक्त स्रोतले भन्यो, ‘प्रतिवेदन वैधानिक हिसावले भन्ने हो भने फेल भयो । तर, बाबुराम कार्कीको अनुहार हेरेर पारित भएको भनियो ।’

प्रतिवेदनमा मोरङमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसलाई लिइएको छ । केन्द्र र प्रदेश सरकारमा सत्ता सहकार्य भएपनि चुनावी प्रतिस्पर्धी दल काँग्रेस नै भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा माओवादी केन्द्रलाई उग्रवामपन्थ विगत र चरम दक्षिणपन्थ अवसरवादी नीति वर्तमानमा भएकोले उक्त पार्टीले देश विकास र जनताको भविष्य निर्माण गर्ने अभियानको नेतृत्व गर्न सक्ने अवस्था नरहेको उल्लेख छ ।

आर्थिक प्रतिवेदनमा भने एमालेले आर्थिक वर्ष २०७८÷७९ देखि चालू आर्थिक वर्षको माघसम्ममा २ करोड ५२ लाख ४९ हजार ४८१ रुपैयाँ आम्दानी गरेको उल्लेख छ । सोही अवधिमा खर्च भने २ करोड २२ लाख ९२ हजार ८२१ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । एमालेले सदस्यता शुल्कबाट १ करोड ५० लाख २५ हजार ९३० रुपैयाँ, लेविबाट ९८ लाख ३३ हजार ४२१ रुपैयाँ, विशेष आर्थिक सहयोग १८ हजार ८९५ रुपैयाँ तथा अन्य आम्दानी गरी सो आम्दानी गरेको देखाएको छ । एमाले मोरङको पार्टी सदस्य संख्या १८ हजार ७१२ जना रहेको छ ।

अधिवेशनस्थलमा नाराबाजी

यसैबीच एमाले मोरङको मनोनित प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै ढकाल समूहले अधिवेशनस्थलमा नाराबाजी गरेको छ । अधिवेशनका लागि ४६ जना प्रतिनिधि मनोनित गरिएको थियो । विधि र प्रक्रिया विपरीत आफ्ना नाता गोतालाई प्रतिनिधि बनाएको भन्दै सो पक्षले प्रक्रियाबाट आउनुपर्ने माग गर्दै नाराबाजी गरेको हो । ‘विधि र प्रक्रिया मिचेर एकलौटी ढंगले प्रतिनिधि छनौट गरियो,’ ढकाल पक्षका नेता सागर थापाले भने, ‘जिल्ला समितिको बैठकबाट पारित भएर नाम आउनु पर्छ । कोही दुई, चार जना नेता बसेर मनोनित गरेको विषय मान्य हुँदैन ।’

एमालेले छनौट गरेका प्रतिनिधिमध्ये कतिपय पराजितहरु पनि रहेको, नेताहरुले आफ्नो नातागोता र सवारी चालकहरु ल्याएको सो पक्षको आरोप छ । ‘संस्थापन पक्षले आफू हार्ने डरले एकलौटी ढंगले मनोनित गरेको देखियो,’ नाराबाजीमा संलग्न एक नेताले भने, ‘ड्राइभरदेखि नातागोतालाई पनि मनोनित गरियो ।’ एमाले मोरङले शुक्रबार मनोनित प्रतिनिधिको अन्तिम टुंगो लगाएको थियो । निर्वाचन प्रक्रिया सुरु गर्न लागेपछि भएको नाराबाजीका कारण सोमबार बिहानसम्मका लागि प्रक्रिया स्थगित गरिएको छ ।

मतदान सोमबार दिउँसो २ः४५ देखि

यसैबीच नयाँ नेतृत्व निर्वाचित गर्न गठन गरिएको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने र दिउँसो २ः४५ बजेदेखि ५ः०० बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । निर्वाचन समितिलाई नेताहरुको सुझाव र निर्देशनका आधारमा निर्वाचन कार्यतालिका संशोधन गर्ने अधिकार रहने भएकोले कार्यतालिका सार्वजनिक हुँदैमा मतदानमा गइहाल्छ भन्ने निश्चित नहुने नेताहरुको बुझाइ छ । यस बिचमा पनि सहमतीको सम्भावनाहरु खोजी गरिने भएकोले केही दिन अधिवेशन लम्बिन सक्ने देखिन्छ ।

दुई पक्षबीच आ–आफ्नो पक्षमा प्रचार

उता, नयाँ नेतृत्व चयनका लागि दुई पक्षले छुट्टाछुट्टै प्यानल बनाउने भएको छ । आइतबार दिनभर अधिवेशनस्थलमा अध्यक्षका आकांक्षी राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरुसँग भोट माग्न सुरु गरेका छन् । ओझाले आफू नै पार्टीको आधिकारिक उमेदवार भएको दाबी गरे । उनले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताए । ओझाका अनुसार उनको प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उप–सचिव एर्जालाल राजवंशीको नाम टुंगिएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उम्मेद्वार हुन् ।

उता, अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले निर्वाचनको प्रक्रियाबाट नै नेतृत्व चयन हुने देखिएको बताए । ‘अध्यक्षमा मेरो दाबेदारी हो,’ उनले भने, ‘निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतिको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमति गरौं भनेर कुनै नेताले मलाई भन्नु भएको छैन ।’ राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा रहेको चर्चा छ । राईलाई नेता विनोद ढकाल पक्षले सहयोग गरेको छ ।

यसअघि ओलीले चाहेअनुरुप नहुँदा भोजपुर, इलाम र तेह्रथुममा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको थियो । जसमध्ये तेह्रथुममा संस्थापन इतर पक्षले जितेको थियो । भने इलाम र भोजपुरमा संस्थापनले रोजेकै उम्मेद्वार विजयी भएका थिए । मोरङमा संस्थापन इतर समूहको वर्चस्व रहेको बताइन्छ । मोरङमा १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनित ४६ जना गरी ९१४ जना प्रतिनिधि छन् । मोरङमा एमालेमा इतर समूहको नेतृत्व एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । उनको साथमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायत छन् ।

संस्थापन पक्षबाट भने पार्टी उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले लविङ गरिरहेका छन् ।

अध्यक्षका आकांक्षी राई तत्कालिन दुलारी गाविसका अध्यक्ष हुन् । यस्तै तत्कालिन जिल्ला विकास समितिका सदस्य र हालका जिल्ला समन्वय समितिका प्रमुख हुन् । पूर्व शिक्षक समेत रहेका राई इमान्दार रहेकै कारण उनीप्रति सहानुभूति राख्ने मतदाताको संख्या उल्लेख्य रहेको सो पक्षको दाबी छ । संस्थापन समूहबाट अध्यक्षको आकांक्षी रहेका ओझा कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद हुन् । दुवै जना सुन्दरहरैंचा नगरपालिकाका हुन् ।

आइतबार, १८ फागुन, २०८१, रातीको ०९:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर