विराटनगर । ताप्लेजुङको फुङलिङ बजारलगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हट्ने भएको छ । यही फागुन ११ गतेदेखि ताप्लेजुङमा निषेधाज्ञा लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मंगलबार साँझ निकालेको सूचना अनुसार राति ११ बजेदेखि निषेधाज्ञा अन्त्य हुने भएको हो ।
‘मिति २०८१–११–१० गते जारी भएको आदेश बमोजिम २०८१–११–११ गते बिहान ५ बजे देखि लागू भएको निषेध आदेश जिल्ला सुरक्षा समितिको मिति २०८१–११–१३ गतेको सिफारिस बमोजिम आज मिति २०८१–११–१३ गते राति ११ बजेबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच १० गते साँझ सदरमुकाम फुङलिङमा झडप भएको थियो । झडपमा परी आन्दोलनकारी र प्रहरी गरी दर्जनौं घाइते भएका थिए
त्यसपछि पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार क्षेत्र र सदरमुकाम फुङलिङ बजारमा निषेधाज्ञा जारी भएको थियो । नो केबलकार समूहले सरकारले आह्वान गरेको वार्ताको वातावरण बनाउन निषेधाज्ञा हटाउनु पर्ने सर्त राखेको थियो । सरकारले सोमबार नै उक्त समूहलाई पुनस् वार्ताका लागि आह्वान गरेका थियो ।