तराई–मधेश अभियान : माओवादी फेरि जाग्ने उद्घोष

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले महत्वका साथ प्रचार गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ । अभियानमा उद्घाटन उत्साहजनक भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।

कचनकबल गाउँपालिको बनियानीमा विभिन्न कार्यक्रमपछि अभियान उद्घाटन र बाह्रदशी गाउँपालिको राजगढ बजारमा भएको सभालाई सम्बोधन गरेर झापा गाउँपालिकाको कामाटोली बजारमा प्रचण्डसहितको टोली पुग्दा साँझको ७ बजेको थियो । त्यसबेला पनि सयौं जनताहरु लाम लागेर बसेका थिए ।

अभियानको क्रममा झापामा सोमबार साना र ठूला गरी ७ वटा कार्यक्रम भएको माओवादी संयोजक राजु आचार्यले बताए । ‘झापाको अभियान ऐतिहासिक सफल भयो । झापाका कार्यकर्ता नेताहरु प्रचण्डसँगै नाचे, हाँसे । अभियान सशक्त भयो । एउटा जागरण आएको छ । सबै जनताहरु उद्धेलित भए । सबै जानले प्रचण्ड पुग्दा घरघरबाट फुलमाला लिएर स्वागत गरेका छन्,’ उनले भने, ‘आगामी राजनीतिका लागि हामीलाई धेरै सहज भएको छ ।’

अभियानमा अध्यक्ष प्रचण्डसहित नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेतलगायत सहभागी छन् । अभियानमा पुगेका नेताहरुले विहानै किच्चकबधबाट सगरमाथा चोकसम्म मर्निङ वाक गरेका थिए ।

पछिल्लो समयमा पार्टीभित्र जनार्दन शर्माले प्रचण्डको विरुद्ध गतिबिधि गरेको प्रचार भइहरेको बेला शर्मा र अर्का नेता वर्षमान पुनलाई प्रचण्डले अंगालो हालेको विषय चर्चामा रह्यो । त्यसले पार्टी एकताको सन्देश दिएको नेताहरुले बताएका छन् । अभियान उद्घाटन अगाडि सबै कार्यक्रममा नेताहरु सामुहिक रुपमा सहभागी भएका थिए भने खाना र खाजा पनि सँगै बसेर खाएपछि सभामार्फत पार्टी एकताको सन्देश प्रवाह गरे ।

प्रचण्डसहितका नेताहरुले करिब तीन किलोमिटर मर्निङवाकको क्रममा पनि स्थानीयसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनीहरुले पुराना कम्युनिष्ट अभियान्ता हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरे । सम्मान गर्दै प्रचण्डले क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए । झापाले अब समाजवादी क्रान्तिको लागि भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

प्रचण्डसहितका नेताहरुले नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराए । पर्यटकीय रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि प्रचण्डले अपील गरे । राजवंशी समुदायसँग अन्तरक्रिया गरि उनीहरुका कुरा सुने ।

त्यसपछि प्रचण्डसहितका नेताहरु बालुबाढीस्थित सहिद सुनिल राजवंशीको घरमा पुगेर खाना खाए । स्थानीय पार्टी कमिटिले व्यवस्थापन गरेको मेसको खाना राजवंशी समुदायका आग्रहमा उनीहरुकै संस्कार अनुसा।र प्रचण्डसहितका नेताहरुले भुईमा बेर केराको पातमा खाएका थिए । खाना खुवाउने क्रममा राजवंशी समुदायले आफ्नो संस्कार अनुसार प्रचण्डसहित नेताहरुको हातसमेत आफैं धोइदिन खोजेका थिए । तर, प्रचण्डले आफैं धुन्छौं भन्दै अस्वीकार गरे ।

खाना खाएपछि अभियान उद्घाटन कचनकबल बजारको हुकाहुकी चोकमा भएको थियो । उद्घाटन कार्यक्रममा नेताहरुले पार्टीले विगतमा केहि कमजोरी गरेको भएपनि अब जनतामा फर्किएको र २०६४ फर्काउने उद्घोष गरे । अभियानको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै प्रचण्डले माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको पाएको बताए ।

अध्यक्ष प्रचण्डले आफूहरु जनतामा फर्किएको बताउँदै सरकारमा कुनै सरोकार नरहेको बताए । उत्पीडित समुदायका मुद्दा र जनताको अधिकार बहालीको लागि अन्तिम अभियान सुरु भएको उनले बताए ।

जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि अभियान सञ्चालन गरेको बताउँदै प्रचण्डले जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वीकार्य नहुने बताए । पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजबंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कन्चनपुरमा अभियान समापन गरिने जानकारी दिदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै प्रचण्डले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने उल्लेख गरे ।

अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम् समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको उनको भनाइ छ ।
अभियानको क्रममा जनताबाट एकैदिन सयौं ज्ञापनपत्र प्राप्त भएको र त्यसले नागरिकको वास्तविक समस्या बुझ्न मद्दत पुगेको बताउँदै प्रचण्डले पार्टीको आगामी कार्यक्रम निर्माण गर्न त्यो कोषेढुंगा हुने दावी गरे । वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनताको बिचमा जान मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने उनले जानकारी दिए ।

यो अभियानले पार्टीलाई नयाँ उचाईमा उठाउँदै बताउँदै पार्टीका प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले २०६४ फर्काउने संकल्पसहित अगाडि बढेको दावी गरे । अध्यक्ष प्रचण्डले पूर्वलाई प्राथमिकता दिँदा नेता तथा कार्यकर्तामा पनि त्यो आत्मविश्वास पैदा भएको उल्लेख गर्दै उनले समाजवादको आधार पूर्वी नेपाल र मधेश हुने भएकोले त्यहि अनुसार पार्टी केन्द्रित हुन थालेको बताए ।

माओवादी केन्द्रले तराई–मधेशमा आफ्नो साङ्गठनिक आधार बलियो बनाउन विशेष अभियान सञ्चालन गरेको हो । विगतमा तरार्ई–मधेशमा मधेशवादी दलहरूले प्रभुत्व जमाएका छन् भने कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा एमाले, काँग्रेस, राप्रपा भन्दा माओवादी पछि छ । त्यो अवस्थामा सुधार ल्याउन माओवादी केन्द्रले विशेष रणनीति अपनाएको देखिन्छ ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादीले जनाएको छ । दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले बताए ।

अभियानकै क्रममा प्रचण्डले यो अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने जनाइएको छ ।

नारायणकाजी रिसाए
अभियान उद्घाटनकै क्रममा प्रचण्डले नेताद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई अँगालो हालेको दृश्य चर्चाको विषय बन्यो । यस्तै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मञ्चमा देखाएको असन्तुष्टिले पनि तरङ्ग ल्यायो ।

प्रचण्डले शर्मा र पुनलाई सार्वजनिक रुपमा अँगालो हालेर पार्टीभित्र कुनै समस्ीया नरहेको सन्देश दिएका छन् । पार्टीभित्र शर्मा र पुन प्रतिस्पर्धी मानिन्छन् । दुवै नेतालाई सन्तुलनमा राख्न प्रचण्डलाई बेलाबेला संकट पर्ने गरेको छ । अभियान उद्घाटनको क्रममा नेतृत्वको टिम नै रुपान्तरित भएर अगाडि जानुपर्ने शर्माले बताए भने वर्षमानले प्रचण्डकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरु जनताको बिचमा आएको बताए ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठले बोल्दा–बोल्दै झोंक्किएर पोडियम छाडेका थिए । उनले बोलिरहेको बेला कार्यक्रम सञ्चालक रहेका झापाका माओवादी संयोजक राजु आचार्य छेउमा उभिएका थिए । त्यसैक्रममा श्रेष्ठ, ‘मैले सक्नुपर्ने भयो ?’ भन्दै रिसाएका थिए । आचार्यले ‘होइन, होइन’ भन्दा पनि उनले आफ्नो मन्तव्य नराखी हिँडेका थिए ।

मङ्गलबार, १३ फागुन, २०८१, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर