कोशी प्रदेश सरकारको ७ वर्ष : एक महिनाभित्रै प्रदेशको छुट्टै आन्तरिक राजश्व कार्यालय

विराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ ।

सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरु समेटिएको हाते पुस्तक विमोचन गरिएको छ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरुपमा ‘कोशी प्रदेश सरकारको ७ वर्ष’ नामक पुस्तक विमोचन गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमबाट जनताको विकासको आकांक्षा पूरा गर्न यो व्यवस्था सफल हुने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारबाट उल्लेखनीय प्रगति भइरहेको विश्वास व्यक्त गर्दै जनताको विकासको आकांक्षा पूरा गर्न, जनताको हित, सामाजिक न्याय, नागरिक स्वतन्त्रता र सेवा प्रवाहको क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री हिकम्तकुमार कार्कीले सात वर्षसम्म प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेकोमा अब मानवीय र सामाजिक क्षेत्रको विकासलाई पनि सँगसँगै अगाडि बढाउने बताए । ‘हामीले अहिलेसम्म बाटो, पुल झोलुङ्गेपुलहरु मात्र बनाइरहेका छौं । अब मानवीय र सामाजिक काममा अब ध्यान दिनेछौं र यी कामहरुलाई पनि सँगसँगै अगाडि बढाउने छौं,’ मुख्यमन्त्री कार्कीले भने । उनले स्थानीय तहसँगको सहकार्यलाई बढाउने, उनीहरुलाई दिनुपर्ने अधिकार र सहयोगहरु दिने र आपसी समन्वयलाई बढाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले गरेका कामहरुको सकारात्मक र आलोचनात्मक टिप्पणी सरकारका लागि महत्वपूर्ण रहेको भन्दै सरकारबाट भएका कमजोरी औंल्याइदिन उनले विशेष आग्रह गरे । प्रदेश सरकारले सीमित जनशक्तिबाट प्रदेशमा सेवा प्रवाह गरिरहेको भन्र्दै उनले भने, ‘हामीले ५० प्रतिशत जनशक्तिको माध्यमबाट यी कामहरु गरिरहेका छौं, अब आगामी वर्षभित्रमा ७० प्रतिशत जनशक्ति पु¥याएर प्रदेशको कामलाई प्रभावकारी बनाउने लक्ष्य लिएका छौं ।’

प्रदेश सरकारले राजश्व संकलन गर्न र त्यसको दायरा विस्तार गरी प्रदेशको आय बढाउन आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने प्रहल नयाँ भएको र कोशी प्रदेशले त्यसको माध्यमबाट चालु वर्षमै लक्षित आय प्राप्त गर्ने दावी गरे । ‘यो नयाँ पहल र उचाइ हो । यसका माध्यमबाट आन्तरिक राजश्वको लक्ष्य प्राप्त गर्नेछौं,’ मुख्यमन्त्री कार्कीले भने, ‘राजश्व नबढाउँदासम्म विकासको लक्ष्य पूरा गर्न नसक्ने भएकोले करको दर होइन दायरा बढाएर बढी भन्दा बढी राजश्व संकलन गर्ने आधार तयार पार्न सरकार क्रियाशील छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश योजना आयोगलाई अर्थमन्त्रालयभित्र संकुचनमा राखिएको भन्दै अब त्यसलाई पूर्णरुपमा काम गर्नसकिने गरी अगाडि बढाउने पनि बताए । प्रदेश योजना आयोगले योजना बैंकको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको र धेरै कामहरु भइरहेका भन्दै त्यसलाई स्वतन्त्ररुपमा अझ प्रभावकारी बनाउने सरकारको योजना रहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको कामलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशनसमेत दिए । प्रदेशका केही भागमा प्रदेश नामकरणको विषयलाई लिएर भइरहेका असन्तुष्टिलाई सरकारले सम्बोधन गर्ने र सहमतिका आधारमा यस क्षेत्रको पहिचान र विकासलाई प्राथमिकतामा राखेर लैजाने आश्वासन पनि दिए । उनले सात प्रदेशमध्ये पहिचानको पक्षमा सबैभन्दा धेरै काम कोशी प्रदेशमै भएको दावी पनि गरे ।

कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सरकराले स्थायी आम्दानी बढाउने तर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले प्रशासनिक खर्च घटाउने र पुँजीगत खर्च बढाउने तर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले चिया सम्मेलन, लगानी सम्मेलन, पर्यटन वर्ष आदि कार्यक्रमहरुलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले कोशी प्रदेशमा पूर्वाधार विकासको काममा ध्यान दिए पनि यथोचित रुपमा सामाजिक र मानवीय क्षेत्रमा काम नभइरहेको बतात्तए ।उनले बजेटको ५० प्रतिशतभन्दा बढी अंश पूर्वाधार विकासमा लगानी भइरहेकोले अब अन्य क्षेत्रलाई पनि सँगसँगै बढाउने र प्रदेशको आय बढाउन सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
फोटो क्याप्सन ः कोशी प्रदेश सरकार स्थापनाको ७ वर्ष पूरा भएको सन्दर्भमा आयोजना गरिएको समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट, राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीलगायत विशष्टि अतिथिहरु

आइतबार, ०४ फागुन, २०८१, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर