केबलकार निर्माण रोक्नैपर्छ : अम्बरजङ लिम्बू


ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद भइरहेको छ । उक्त विवाद समाधानका लागि सरकार र नो केबलकार समूहबीच प्रारम्भिक चरणमा वार्ता भएको छ । २७ गते अर्को चरणमा वार्ता हुने भनिएको भएपनि वार्ता हुनै सकेन । प्रारम्भिक चरणको वार्ता समितिमा बसेका नो केबलकार समूहका संयोजक अम्बरजङ लिम्बू सरकारको मानसिकताले वार्ता सफल हुन नसक्ने सङ्केत गर्छन् । उनले त सरकारले केबलकार बनाउन खोजे आफूहरुलाई सिध्याएर मात्रै सम्भव हुने बताए । उनीसँगको कुराकानीको अंश

तपाई वार्तामा बस्नु भयो । सरकारको मनोविज्ञान के पाउनु भयो ?

– वार्तामा कर्मचारी थिए । उनीहरुको कुरा मात्रै हावी भयो । उहाँहरुको आफ्नो सिमा पनि थियो होला । त्यसले पनि त्यहाँ समस्या भयो । उहाँहरुले राजनीतिक कुरा गर्न सक्ने अवस्था पनि थिएन । सहमति गर्दा पनि आफैंले व्यहोर्नुपर्ने अवस्था हुन्छ भन्ने कुरा गर्थे । त्यसैले उहाँहरुले हामीले भनेको कुरा धेरै मान्नुभएन । अर्को कुरा राजनीतिक व्यक्तिहरुसँग भेट्दा ठिकै कुरा गर्ने । तर, यता वार्तामा आउँदा त्यसलाई स्वीकार नगर्ने, सहयोग नगर्ने खालको भयो । उनीहरुको कुरा केबलकार निर्माण गर्नेतिरै जोड रहेको आभास पाइयो ।

तपाईहरुले राखेका मागलाई नजरअन्दाज गर्ने खालको भयो ?

– मूल कुरामा त्यस्तै देखियो । अरु कुरा त हाम्रा सहायक कुरा न हुन् । हामीले तत्काल काम रोक्नुपर्छ भनेका थियौं । त्यो विषयमा निर्णय गर्नै नसक्ने कुरा आयो । राजनीतिक नेतृत्वले गर्दिनु भने पनि कर्मचारीले मान्दैनन् । त्यसकारण कर्मचारीसँगको वार्ताले समाधान दिन्छ जस्तो लागेन ।

तपाईहरुको मूल अडान चाहिँ के थियो ?

– चलिरहेको आन्दोलनलाई वार्तामा ल्याउने वातावरण बनाउनका लागि भनेर हामीले अल्पकालिन र दीर्घकालिन भनेर दुईवटा कुरा अगाडि बढाएका थियौं । अल्पकालिन कुरामा हामीले सशस्त्र प्रहरी र जनपथ प्रहरी नाम्जाङेबाट फिर्ता हुनु पर्ने, निर्माणाधिन केबलकारको काम रोक्नु पर्ने, पक्राउ परेकाहरुलाई छोड्नुपर्ने, घाइतेहरूलाई उपचार गर्नुपर्ने भन्ने थियो । त्यसमध्ये क्याम्प हटाउने र काम रोक्ने विषयमा सहमति हुन लामो वार्ता गर्नुपर्यो । यस्तै केबलकार खारेजीको कुरा छ । क्षतिपूर्ति दिनका लागि अध्ययन समिति गठन गर्ने, छानविन गर्ने र कानुनी कारबाही गर्ने कुरा छ । पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले त्यहाँ करिब ३ हजार घरधुरी विस्थापित गर्ने अवस्था छ । त्यसलाई हामीले पुनःविचार गर या खारेज गर भन्ने माग गरेका छौं । किनभने ३ हजार घरधुरी विस्थापित हुनेवित्तिकै उनीहरु सुकुमबासी हुन्छन् ।

सुरक्षाकर्मी चाहिँ किन फिर्ता हुनुपर्यो त ?

– उनीहरुले मुक्कुम्लुङ संरक्षहरुमााथि अनाहकमा गोली चलाए । अहिले पनि पाथीभराम जाने मानिसहरुलाई सुरक्षाको नाममा खानतलासी गरिरहेका छन् । त्यो गर्ने काम नै होइन । उनीहरुको मुख्य मक्सद भनेकै केबलकार निर्माणको सुरक्षा दिने हो । त्यसकारण पनि उनीहरु हट्नुपर्यो भनेको हो । तर, अन्तिममा काम रोक्ने कुरामा उनीहरु सहमत भए पनि सुरक्षाकर्मी हटाउन बारेमा अर्को पटकको वार्तामा छलफल गर्ने कुरा भयो ।

अब छलफल र संवादले कुनै निष्कर्ष निस्किएला ?

– सरकारको तर्फबाट के गर्छन् त्यो उनीहरुको कुरा भयो । सरकारले बेवास्ता गरे धेरै क्षति हुनसक्छ । सरकारले सधैँ निष्कर्ष नदिएर बस्ने अवस्था त बन्दैन होला । हामीलाई पनि के थाहा छ भने विभिन्न धर्म, तीर्थयात्रा भनेको पर्यटकीयस्थल होइन आध्यात्मिक स्थल हो । त्यहाँ शान्ति पाउने ठाउँ हो, ध्यान गर्ने ठाउँ हो । त्यस्तो ठाउँमा केबलकार लाने, आराधनाको सिस्टमलाई ब्रेक गरिदिने, प्राकृतिक हिसावले जनावरहरुको रुटहरु ब्रेक हुने, हजारौँ वर्षमा हुर्किएका पचासौँ हजार लालिगुराँस र मुन्धुमी वृक्षहरु नासिने, काटिने काम भएको छ । त्यस्तो हुनुहुँदैन । त्यो वातावरणीय हिसावले पनि गर्नुहुँदैन र आध्यात्मिक हिसावले पनि गर्नु हुँदैन । त्यो क्षेत्रमा रेडपान्डा, डाँफेलगायतका लोपोन्मुख पशुपंक्षीको रुट पनि ब्रेक हुन्छ । त्यसले पर्यावरण र जनावरको बसोबासस्थल पनि खलबलिन्छ । त्यहाँ केबलकार लानुहुँदैन । पहिलेदेखि त्यो ठाउँ जुन प्राकृतिक अवस्थामा छ त्यही अवस्थामा हुनुपर्छ । त्यहाँ माथिल्लो फेदिदेखि पूजा सुरु हुन्छ । थानमै केबलकार लगेपछि त्यसको महत्व त सकियो नि । त्यसपछि तीर्थस्थल पनि नरहने अवस्था भयो । हिन्दूहरुको चारधाम पनि सुरक्षित छ । चाइनाको कैलाश पर्वतहरु पनि सुरक्षित छन् । त्यहाँ जाँदा आफ्नो विधि विधानबाट जानुपर्छ भन्ने हाम्रो माग हो ।

सरकारले त निर्माण गर्नुपर्छ नै भनिरहेको छ । अब के हुन्छ ?

– आन्दोलन जारी रहन्छ । सरकारले कतिसम्म दमन गरेर सिध्याउँछ त्यो सरकारको कुरा भयो । आन्दोलन रोकिने कुरा हुँदैन । अहिलेसम्म पनि सरकारले दमन नै गरेको हो । अहिले पनि पर्यावरणीय अध्ययन गरेका कुराहरु सार्वजनिक गरेका छैनन् । चन्द्र ढकालहरुको नियत त चन्द्रागिरीमा पनि देखिन्छ । सदियौं देखिको वनमा होटलहरु चलाउने, आफ्नो उद्देश्यभन्दा फरक कुरा गर्ने, तीर्थयात्रीहरु हिँड्दा पनि शुल्क लिने खालको छ । त्यसकारण हामीले गर्ने आन्दोलन र विद्रोह निरन्तर छ र रहन्छ । कि हामीलाई सिध्याउनु पर्छ । नेपाल सरकार पक्ष राष्ट्र भएको र संसदले समेत पारित गरेको आइएलओ १६९ अनुसार साथै नेपालको संविधान ०७२ को धारा २६ तथा धारा ३२ अनुरूप समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषय सम्बन्धित नागरिक समुदायले संरक्षण गर्न पाउने प्रावधान अनुसार मुक्कुम्लुङ क्षेत्रको संरक्षण गर्ने गर्न पाउने अधिकारले हामीलाई दिएको छ । अहिले मुक्कुम्लुङ पाथीभरामा केबल कार नलाने कुरामा ताप्लेजुङका धेरै जनप्रतिनिधिहरु र पार्टीहरु पनि सहमत छन् । उनीहरुको कुरा पनि केबलकार निर्माण रोकिनुपर्छ भन्ने नै छ । सांसद योगेश भट्टराई फ्रन्टमा बोलेको देखिन्छ । फुङ्लिङ नगरपालिकाको मेयर बोलेको सुनिन्छ । बाँकी सबैको एउटै धारणा केबलकार बन्नु हुँदैन भन्ने छ । त्यसकारण सरकारले सहज ढङ्गले केबलकार बनाउन सक्छ भन्ने लाग्दैन । पवित्र आध्यात्मिक सांस्कृतिक स्थल मुक्कुम्लुङमा केबलकार बनाएर त्यसको पवित्रतालाई ध्वस्त बनाउने काम गर्नुहुँदैन ।

सरकारले पुरै शक्ति लगाएको छ । तर पनि अझै केबलकार बन्दैन भन्ने लाग्छ तपाईलाई ?

– वास्तवमा हाम्रोे आदर्श पवित्र स्थानहरूलाई जोगाउनु पर्छ । मानिलिऔं स्वयंभुको उकालो जान गाह्रो छ नि । जान सजिलोको लागि त्यहाँ पनि घिर्लिङ वा केबलकार राखौं न त । तर, त्यसो होइन । पाथीभरा मुक्कुमलुङको पनि माथिल्लो फेदीदेखि पूजा पाठ सुरु हुन्छ । त्यहाँबाट धागोको डोरो टाँग्दै, टाँग्दै माथि मुख्य थानमा पुग्ने हो नि । त्यसपछि मात्रै सोचेको मनोकांक्षा पूरा हुने भन्ने विश्वास छ । त्यो कुरा नै नभएपछि केबलकारमा सिधै जाँदा त्यसको महत्व हुँदैन । त्यसकारण त्यहाँ केबलकार लानुहुँदैन भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ । हिन्दूहरुले पनि मुक्कुम्लुङ पाथीभरा आरधना गर्नुहुन्छ । लिम्बू मुन्धुम अनुसार पनि त्यस ठाउँ उपर अगाध आस्था राखिन्छ ।

लिम्बू समुदाय र मुक्कुम्लुङको सम्बन्ध चाहिँ के हो ?

मुन्धुम अनुसार जति पनि याक्थुङ लिम्बू जातिहरु उत्पत्ति हुँदा दुईजना स्त्रि पात्र आउँछन् । एउटा मुक्कुम्लुङमा र अर्को भनेको फियाम्लुङ्मा हो । सिकारी सावा युक्पुङगेम्बाले यी दुवैजनासँग संसर्ग गरेपछि जन्मिएका तेल्लारा लाहादङ्ना र सुच्छुरु सुहाम्फेबा एक आपसमा एउटै बाबुका सन्तान भन्ने थाहा नपाएर विवाह भएपछि जन्मिएका सावा येतहाङ अर्थात् सकल आठ मानवहरू नै आजका लिम्बू जातिका पूर्वज हुन् । यिनका आदि जननी नै मुक्कुम्लुङ हुन् । संसारमा भएका लिम्बूहरुको यही अटल विश्वास रहेको छ । मुक्कुम्लुङ क्षेत्र तिनै मुक्कुम्लुङमाको प्रतिक हो । मुक्कुम्लुङमाले यही पहाडमा तान बुनेको, बसेको हाम्रो मुन्धुम हो । डोरो तान्दै जानुको सार पनि उसको तानसँग जोडिएको हो । त्यो चाहिँ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यो कुरा हिन्दूहरुले पनि मानिरहेको कुरा हो । त्यसरी धागोको डोरो टाँगेमा मनोकांक्षा पूरा हुने, धागो तोडियो, लट्टा पर्यो भने अशुभ हुन्छ भन्ने मान्यता पनि छ । यो कुनै थान वा कुनै धर्मसँग मात्रै जोडिने कुरा पनि होइन । जापानमा माउन्ट फुजी छन् । जापानिजहरुले त्यो पहाडैलाई मान्छन् । कोरियाको माउन्ट पाएक्तु हिमाल छ जसलाई कोरियनहरु पूरा हिमाललाई पूजा गर्छन् । यस्तै लिम्बूहरुले पनि मुक्कुम्लुङ पहाडलाई नै मान्छन् र पूजा गर्छन् । हिन्दूहरुले माथिको मन्दिरलाई मान्लान् । जे भएपनि त्यो पवित्रस्थान हो । पवित्र स्थलको अस्तित्वलाई खण्डित हुन दिनुहुँदैन ।

प्राज्ञ तथा वार्ता समितिका संयोजक नो केबलकार समूह

सोमबार, २८ माघ, २०८१, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर