माओवादीको नयाँ कार्यविभाजन : कोशीमा कसलाई के जिम्मा ? (अपानीसहित)

विराटनगर । नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्यविभाजन गरेको छ । केन्द्रीय समितिको पछिल्लो बैठकको निर्णयअनुसार नयाँ कार्यविभाजन सहितको अन्तरपार्टी निर्देशन जारी भएको माओवादी केन्द्र कोशी प्रदेश कमिटिले जनाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको अपानी अनुसार प्रदेश इञ्चार्जमा उपमहासचिव हरिबोल गजुरेल छन् । यस्तै प्रदेशको सहइञ्चार्जहरुमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राईलाई तोकिएको छ ।

प्रदेश अन्तर्गत जिल्ला इञ्चार्जहरुमा केहि परिवर्तन भएको छ । ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथरमा सितादेवी थेवे, इलाममा धिरेन्द्र शर्मा, झापामा रञ्जित तामाङ, मोरङमा कुलप्रसाद साम्बा लिम्बु, सुनसरीमा अनिता परियार, धनकुटामा धनकुमारी बिक र तेह्रथुममा होमकुमारी खापुङलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै संखुवासभामा रिपुकुमार राई, भोजपुरमा नगेन्द्र राई, सोलुखुम्बुमा हेमकुमार राई, ओखलढुंगामा चम्पा कार्की, खोटाङमा समिता कार्की र उदयपुरमा मणि खम्बु किराँतीलाई इञ्चार्ज तोकिएको छ ।

अपानी अनुसार सामान्य प्रशासन विभागको प्रमुखमा अमनलाल मोदीलाई जिम्मेवारी दिइएको छ । मोरङका मोदी पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन् ।

पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको अपानीमा उल्लेख छ । यस्तै उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।

प्रदेशमा इञ्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरु रहेको समन्वय कार्यालय गठन गरिएको छ । महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेकाहरुको जिम्मेवारी यथावत राखेर संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित समन्वय कार्यालयले गर्ने अपानीमा उल्लेख गरिएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार जनतासँग माओवादी अभियानअन्तर्गत फागुनमा सञ्चालन गर्ने तय गरिएको हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेश जागरण अभियान फागुन १२ गते झापाबाट सुरु गरी कञ्चनपुरसम्म सञ्चालन गर्ने निश्चित गरिएको अपानीमा उल्लेख छ । त्यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरुसँगको परामर्शका आधारमा तय गरिने जनाइएको छ । यस्तै फागुन महिनामा शैक्षिक संस्थाकेन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान सञ्चालन गरिनेछ ।

अपानी अनुसार झापाका विरेन्द्र बस्नेतसहित ७ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यस्तै अखिल क्रान्तिकारीको हालै सम्पन्न महाधिवेशनबाट विदा भएका उपाध्यक्ष र महासचिवहरुलाई केन्द्रीय प्रतिनिधि तोकिएको माओवादीले जनाएको छ ।

आइतबार, २७ माघ, २०८१, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर