विराटनगर । विराटनगर नागरिक अभियानले विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा साङ्केतिक विरोध कार्यक्रम गरेका छन् । आज उनीहरूले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ। प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको भन्दै आलोचना भइरहेको छ। विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको डिजिटल अधिकार र नजिता संरक्षणलाई गम्भीर रूपमा कमजोर बनाउने विज्ञहरूको चेतावनी छ ।
विरोध कार्यक्रममा ‘सुशासन, न्याय, सेवा प्रवाह र जनजीविका’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक सङ्घसंस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी रहेको छ । उनीहरूले मेरो बोलीमा ताला लगाउने कानुन चाहिँदैन, बोल्न देऊ सरकार, सरकार प्रविधि तिमीहरूको कठपुतली होइन लगायतको प्लेकार्ड बोकेर विरोध प्रदर्शनीमा उत्रिएका थिए ।
विराटनगर नागरिक अभियानले विरोध कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र विधेयकका विवादास्पद प्रावधानहरू खारेज गर्न दबाब दिने अपेक्षा गरेको विरोध प्रदर्शनीका संयोजक वसन्त अधिकारीले बताए ।