निरन्तरको ताकेतापछि सडक निर्माण सुरु

बाङ्गेबाट–धरान जोड्ने सडक धमाधम कालोपत्रे गरिँदै

विराटनगर । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेर अलपत्र बनेको सुनसरीस्थित बराहक्षेत्र नगरपालिका महेन्द्रनगरको बाङ्गेबाट हल्दिया कालाबंजर तिनकुने भलुवा चौरी हुँदै धरान जोड्ने सडक कालोपत्रे सुरु भएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको निरन्तरताको ताकेता र ठेक्का तोड्ने चेतावनीपछि उक्त सडक कालोपत्रे सुरु भएको हो । सडकको कालोपत्रे सुरु भएपछि सोमबार मन्त्री राईसहितको टोली सो स्थानमा पुगेको थियो । लुम्बिनी गजुरमुखी जेभीले २०७६ साल भदौ १२ गते ठेक्का सम्झौता गरेको थियो । २०७८ साल असोज १५ गते सक्नुपर्ने सडकको काम नसकिएपछि पटकपटक म्याद थप्दै निर्माण गरेको थिएन ।

कम्पनीले आफूले लिएको ठेक्का समयमै सम्पन्न गर्न २०७९ साउन ८ गते नै पूर्वाधार विकास कार्यालय मोरङलाई प्रतिबद्धता पत्र दिएको थियो । हालसम्म ३१ करोड ६० लाख ५१ हजार ७२३ रुपैयाँ अर्थात् ठेक्का सम्झौता रकमको ७८ प्रतिशत भुक्तानी लगिसकेको उक्त कम्पनीको भौतिक प्रगति भने ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मोरङ बताउँछ ।

साढे १३ किलोमिटर लामो उक्त सडक सुनसरीको बाङ्गेदेखि सुरु भएर धरानको चतरा सडकसम्म पुग्नेछ । सडक निर्माणको लागि ३७ करोड २३ लाख ३० हजार २५ रुपैयाँमा ठेक्का लागेको हो । भ्यारिएसन पश्चात उक्त आयोजनाको लागत ४० करोड २७ लाख ८३ हजार ७६० रुपैयाँ पुगेको छ । उक्त आयोजना पनि २०७६ साल भदौ १२ गते ठेक्का सम्झौता भएर २०७८ साल असोज १५ गते सक्नुपर्ने थियो । हालसम्म २ पटक म्याद थप भएको छ ।

गत कार्तिक र मंसिरमा पटकपटक अनुगमन र निर्माणको ताकेताका लागि मन्त्री आफैं सो स्थानमा पुगेका थिए । उनको साथमा राज्यमन्त्री भूमि राजवंशी, मन्त्रालयका सचिव अशोककुमार साह, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ, निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभी प्रतिनिधि सन्तोष गौतमसहितको टोली रहेको थियो । मन्त्री राईकै पहलमा सार्वजनिक सुनुवाई गर्दै निर्माण कम्पनीलाई थप गरेको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्ने माइन्युटमा हस्ताक्षर गराइएको थियो । उक्त सडकको निर्माणको काम ०८२ साल असार मसान्तसम्ममा सक्नुपर्ने छ ।

बिहिबार, १७ माघ, २०८१, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर