केबलकार निर्माणको काम नरोक्न सांसदहरूको सुझाव

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम नरोक्न पूर्वी पहाडी जिल्लाका सांसदहरूले सरकारलाई सुझाव दिएका छन् ।

निर्माणको काम अघि बढाउँदा विरोधसहित भइरहेको आन्दोलनका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभाका सदस्यसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी सांसदहरूले वार्ताको माध्यमबाट सहमति खोज्न सुझाव दिएको ताप्लेजुङकी सांसद उर्मिला थेवेले बताइन् ।

‘सरकारलाई हामीले वार्ताको माध्यमबाट असन्तुष्टहरूको सम्बोधन गर्नुहोस् भनेका छौं’, उनले भनिन्, ‘हामीले विकास निर्माणको कामलाई पनि रोक्न हुँदैन भनेका छौं ।’

छलफलमा गृहमन्त्री लेखकसहित वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, सांसदहरू योगेश भट्टराई, उर्मिला थेवे, सुहाङ नेम्वाङलगायत थिए ।

‘नो केबलकार समूह’ले मंगलबार मेची राजमार्ग र तमोर कोरिडोर बन्द गराएका थिए । यही माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र कोरिडोर बन्द गराएका हुन् ।

मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् ।

मङ्गलबार, १५ माघ, २०८१, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर