विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।लेखा समितिको मंगलबार बसेको बैठकमा सदस्य दाहालले सभापति पोखरेको राजिनामा मागेको हुन् । नैतिक हिसाबले कमजोर भएकाले सभापति पोख्रेलको राजिनामा दिनु पर्ने दाहालले बताए ।
सहकारी ठगी प्रकरणमा श्रीमती र भ्रष्टाचारमा पीए जोडिए पनि दाहाल समिति सभापतिमा टाँसिएर बसेको उनले आरोप लगाए । ‘सहकारीमा ‘श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,’ उनले भने, ‘नैतिक प्रश्न जोडिएपछि मार्गप्रशस्त गर्दिनुस् ।’
लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिने अभ्यास भएको उनले बताए ।
उनले समिति सरकारको लाचार छायाजस्तो भएको टिप्पणी गरे । उजुरीमाथि छलफल नभएको उनले उल्लेख गरे । ‘समिति सरकारको लाचार छायाजस्तो भएको छ । अपारदर्शी भयो । लाचार छाया बनाइनु हुँदैन,’ उनले भने, ‘९५ वटा उजुरी छन्, ती उजुरी तत्काल छलफल भएन । डम्पिङ गरेर राखियो ।’
लेखा समितिले दायित्व वहन गर्न नसकेको उनले बताए । बेरुजु फर्छ्योटमा उपसमितिलाई कानुनी अड्चन भएको उनको भनाइ थियो ।