पुण्य पि अधिकारी
पश्चिमी वायुको प्रभाव पूर्वतर्फ सर्दै गएका कारण वितेको २४ घण्टायता अत्यधिक चिसो महसुस गरिएको छ । पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदै गएका कारण अझै चिसो बढ्ने मौसम विद्हरूले बताएका छन् । चिसोका कारण नवजात शिशु, बिरामी र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित छन् । मौसमका आएको परिवर्तनका कारण विराटनगर एयरपोर्टबाट हुने उडान प्रभावित भएका छन् ।
शीतलहर तथा हुस्सुका कारण तराईको जनजीवन प्रभावित हुँदै गएको छ । चिसोबाट बच्नका लागि ग्रामीण क्षेत्रमा पराल, भूस वा दाउरा बाल्ने चलन छ । बजार क्षेत्रमा हिटर चलाउने गरिन्छ । तर, यसबाट हुने जोखिमलाई ध्यानमा नराख्दा आगलागी वा अक्सिजन कम भएर मृत्यु हुनेको सङ्ख्या उत्तिकै छ ।
ग्रामीण क्षेत्रमा पराल, भूस वा दाउरा बाल्ने र त्यसैको छेऊमा सुत्ने गर्नाले आगलागीका घटना विगतका वर्षहरूमा भएका थिए । चिसोबाट बच्नका लागि आगो वाल्ने तर त्यसको उचित व्यवस्थापन नगर्दा आगलागीमा परेर अकालमा ज्यान गुमाउनुका साथै अङ्गभङ्ग भएर बाँच्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । कोठामा विद्युतीय हिटर चलाएर सुत्ने गरेका कारण अक्सिजन कम हुँदा निस्सासिएर मृत्युवरण गर्नुपर्ने खतरा उत्तिकै रहन्छ ।
चिसो बढेसँगै स्थानीय सरकारको जिम्मेवारी समेत बढेको छ । अहिले जनताको आँगनको सरकार भनेकै स्थानीय सरकार हो । चिसोबाट आफ्ना नागरिक बचाउनु राज्यको पहिलो जिम्मेवारी र कर्तव्य पनि हो । चिसोबाट बचाउँनका लागि धेरै स्थानीय सरकारले दाउराको व्यस्थापन गरिदिने गरेको पाइन्छ । जुन सुरक्षाका दृष्टिकोणले खतरापूर्ण छ भने दीगोपनाका दृष्टिकोणले अनुपयुक्त छ ।
चिसोबाट बचाउँनका लागि स्थानीय सरकारले दाउरा वितरण भन्दा पनि न्यायो कपडा वितरणलाई प्रभावकारी बनाउन आवश्यक छ । न्यायो कपडा सुरक्षा र दीगोपनका दृष्टिकोणले सबैभन्दा उपयुक्त छ । चिसो मौसममा कसलाई र कतिलाई ? कपडा बाँड्ने भन्ने प्रश्न उठ्न सक्छ । स्थानीय सरकार निर्माणको संरचनालाई हेर्ने हो भने त्यो त्यति जटिल विषय होइन ।
वडावडाबाट सदस्य निर्वाचित भएका छन् । तिनै वडा सदस्यलाई आधारभूत गरिबीको रेखामुनि रहेका र चिसो मौसममा ओढ्न वा लगाउन न्यायो कपडा उपलब्ध नभएका परिवार वा व्यक्तिको अभिलेख गरी सोही आधारमा स्थानीय सरकारले न्यायो कपडा वितरण गर्न सक्छ ।
चिसो अत्यधिक बढेका कारण आम सर्वसाधारण सबैभन्दा सचेत हुन आवश्यक छ । विभिन्न अध्ययनहरूले समेत अत्यधिक चिसो मौसममा सखारै हिड्डुल नगर्न सुझाव दिएका छन् । यसतर्फ समेत ध्यान पु¥याउन आवश्यक छ ।