बालिका बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

विराटनगर । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ ।

उनि माथि घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै बालिकालाई बिर्तामोड नगरपालिका–५ स्थित आफ्नै घरमा राखेका थिए ।

उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

सोमबार, २४ मंसिर, २०८१, साँझको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर