विराटनगर । पार्टीको केन्द्रीय कार्यालयले रोक्न निर्देशन दिएपनि नेपाली काँग्रेसको शेखर कोइराला पक्षले विराटनगरमा प्रदेशका पालिका सभापतिहरुको भेला सम्पन्न गर्यो ।
नेपाली कांग्रेस कोशी प्रदेशले मंसिर २२ गते प्रदेश सम्मेलन बोलाएकोमा त्यसअघि मंगलबार नै कोइराला पक्षले पालिका सभापतिको भेला गरेको हो । ‘प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१’ रोक्न पार्टी संस्थापन पक्षले दिएको दबाब अस्वीकार गर्दै कार्यक्रम गरिएको हो ।
गुटको भनाई पार्टीकै कार्यक्रम भएको दावी आयोजकले गरिरहँदा मञ्चमा कोइराला पक्षका बाहेक अन्य नेता थिएनन् । कार्यक्रमको प्रमुख अथिति डा.शेखर नै थिए । पार्टीको महाधिवेशनको चर्चा सुरु भएको बेला आफ्नै प्रदेशमा आयोजित भेलामा देखिएको सहभागिताले स्वयम् कोइराला पनि पुकलित देखिन्थे ।
कार्यक्रममा विभिन्न जिल्लाका पूर्व र वर्तमान सभापति तथा पार्टीका केन्द्रीयस्तरका नेताहरूको सहभागिता थियो । डा मिनेन्द्र रिजाल, गुरु घिमिरे, सरिता प्रसाई, राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापासहित कार्यक्रममा सहभागी थिए ।
कार्यक्रम उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेहरूले शेखर कोइरालालाई १५औँ महाधिवेशनबाट पार्टी सभापति बनाउने र २०८४ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने सम्मको प्रतिबद्धता जनाएका थिए । नेताहरुको धारणा सुन्दा भेला कोइराला पक्षले संस्थापन पक्षमाथि दबाब सिर्जना गर्न गरेको शक्ति प्रदर्शन भएको झल्को दिएको थियो । विराटनगरको भेला पार्टीको आगामी महाधिवेशनको तयारीको सन्देश भएको नेताहरुले बताएका छन् ।
प्रदेशका १३७ पालिकामध्ये ११३ पालिकाका सभापति कार्यक्रममा सहभागी भएको आयोजक समितिका संयोजक काँग्रेस विराटनगर सभापति दिपक चापागाईंले दिएका छन् । संस्थापन पक्षले समानन्तर गतिबिधि गरेको आरोप लगाएको भेलामा सहभागी नेताले समानन्तर गतिबिधि नभएको दावी गरे । स्वयम् कोइरालाले भने सहभागीमाथि पार्टीले कार्वाही गर्नसक्ने संसय व्यक्त गर्दै ‘संरक्षण गर्ने’ प्रतिबद्धता जनाए ।
कार्यक्रम सुरू हुनु अगावै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर निर्देशन पठाउँदै भेला नगर्न र सहभागी नहुन घुमाउरो चेतावनी दिएका थिए । पार्टीका दुई महामन्त्रीहरुको निर्देशनमा मुख्यसचिवले पत्र पठाएको भन्दै भेलामा सम्बोधन गरेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितका नेताहरुले मञ्चबाटै आक्रोश पोखेका थिए ।
सचिव पौडेलले २२ गतेको सम्मेलन बाहेकका कार्यक्रम पार्टीको आधिकारिक कार्यक्रम नभएको भन्दै भेलामा सहभागी नहुन अप्रत्यक्ष रुपमा पालिका सभापतिहरुलाई निर्देशन दिएका थिए । त्यसो त संस्थापन पक्षले कोइराला समूहले गरेको कार्यक्रम अबैधानिक भएको बताउँदै आएको छ ।
गृह प्रदेश पार्टीको नेतृत्व कोइरालाको पक्षमा छैन । पार्टीका प्रदेश सभापति संस्थापन पक्षका उद्धब थापा छन् । यस्तै प्रदेशसभाको संसदीय दलको नेतृत्वमा पनि उनै थापा छन् । कोशी सरकारमा सहभागी हुन गृहप्रदेशमा कोइरालाले २ मन्त्री आफ्नो समूहलाई दिनुपर्ने माग राखेका थिए । तर, सो माग पुरा नभएपछि उनले मन्त्री नै पठाएका छैनन् । जसले गर्दा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले मन्त्री पाएको छैन ।
संस्थापन पक्षले निरन्तर ‘कर्नरमा पार्ने काम’ भएकाले चुनौति दिन थालेको पक्षका नेताहरु बताउँछन् । पछिल्लो समयमा कोइराला पक्षमै रहेका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाको निकट भएपछि विभाग तथा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थामा पनि आफूहरुलाई कर्नरमा पारेको उनीहरुको भनाइ छ । त्यसको प्रतिवाद गर्न पनि भेला गरेको एक नेताले बताए ।
मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बू भने पार्टीको गतिविधि नभएको समयमा राम्रो काम गरेको भनेर धन्यवाद दिनुपर्नेमा उल्टै आलोचना गर्नु लज्जास्पद भएको टिप्पणी गर्छन् । संगठन गरेर बसेका आफूहरुलाई सोधखोज र स्पेस तथा भूमिका नदिएपछि कार्यक्रम गर्नुपरेको उनको भनाइ छ । यस्ता गतिबिधि देशैभर हुनसक्ने उनले चेतावनी दिए । भेलामा प्रदेशका सबै पालिकाका सभापति आउन चाहेको भएपनि संस्थापन पक्षले फोन गरेर धम्क्याउने तथा त्यो कार्यक्रममा नजानु भनेर दबाब दिएको लिम्बूले दावी गरेका छन् ।
संस्थापन पक्षले पनि कोइराला समूहले आफ्नो शक्ति प्रदर्शन गर्न अवैधानिक भेला गरेको बताएको छ । कोइरालालाई वरिष्ठ नेताको मान्यता दिनुपर्ने, प्रदेश सम्मेलनमा उपसभापतिहरूभन्दा माथि आसन ग्रहण गराइनुपर्ने जस्ता विषय सम्बोधन नभएपछि छुट्टै भेला गरिएको एक नेताले दावी गरे । पार्टीका विधान विपरीत भएको कार्यक्रममा गएर कोइरालालाई नै घाटा भएको उनले बताए ।
काँग्रेस कोशीका उपसभापति रमेशजंग रायमाझी मंगलबारको कार्यक्रमलाई प्रदेश कमिटीले मान्यता नदिएकोले कस्तो कार्यक्रम हो भन्ने थाहा नभएको बताउँछन् । ‘पार्टी सभापतिको निर्देशनमा हुन लागेको प्रदेश सम्मेलन २२ गते हो,’ उनले भने, ‘पार्टीको वैधानिकता बाहिर गएर मंगलबार भयो भनिएको कार्यक्रममा प्रदेश कमिटीको सहभागिता थिएन र यसलाई हामीले चिन्ने कुरा पनि भएन ।’
प्रदेश समितिले २२ गतेका लागि आयोजना गरेको सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवादेखि उपसभापति तथा महामन्त्रीलगायत केन्द्रीय पदाधिकारी सहभागी हुँदैछन् । सो कार्यक्रममा भने कोइराला सहभागी हुने संभावना कम रहेको बताइन्छ ।
पार्टी सभापतिमा पराजित भएपछि वरिष्ठ नेता कोइरालालाई बनाउनुपर्ने माग उनीपक्षीय नेताहरुले गरेपनि सभापति शेरबहादुर देउवाले वास्ता नगरेको कारण कोइरालाको बरियता पार्टीमा २६ औं नम्बरमा छ । यसअघि भने पार्टीको सभापतिमा पराजित भएको नेतालाई काँग्रेसमा वरिष्ठ नेताको रुपमा दोस्रो वरियता दिने गरिएको थियो । शुशिल कोइरालासँग पराजित हुँदा शेरबहादुर देउवाले र शेरबहादुर देउवासँग पराजित हुँदा रामचन्द्र पौडेलले सो वरियता पाएका थिए ।
कोइराला पक्षले पार्टी केन्द्रको निर्देशन विपरित अबैध भेला गरेको भन्दै संस्थापन पक्ष भने आक्रोशित छ । भेला अबैध भएको र केन्द्रले रोक्न निर्देशन दिँदा पनि नटेरेको भन्दै स्पष्टिकरण सोध्नेसम्मको छलफल भइरहेको स्रोतले जनाएको छ । ‘सभापति, उपसभापति तथा महामन्त्रीबीच त्यसबारे छलफल भएको छ’ पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘विधान विपरीत तथा केन्द्रीय कार्यालयलाई जानकारी नदिइ गरिएको कार्यक्रमविरूद्ध एक्सन लिने तयारी छ ।’