मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी बने नमोनारायण माझी । २०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका उनले उपनिर्वाचन जित्नु धेरैका लागि अनेपेक्षित लागिरहेको छ । देशभर अहिले पनि ग्रामथानमा माओवादीले चुनाव जित्नुको कारण के हो भन्ने विषयमा चर्चा भइरहेको छ । पालिकाको २०७९ को निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएका थिए । अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै माझी विजयी बने । उनले जित निकाल्दा ग्रामथानमा काँग्रेसले २ हजार २७२ मत गुमायो भने एमालेले १ हजार ९२४ मत गुमायो । गत निर्वाचनमा काँग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए । तेस्रो दलबाट विजयी बन्न कसरी सम्भव भयो ? र आगामी योजना के छन् ? भन्ने विषयमा अध्यक्ष माझीसँग गरिएको कुराकानी :
अघिल्लो निर्वाचनमा वडाध्यक्षमा पराजित भएको मान्छे पालिका अध्यक्षमा भएको सानदार जितलाई कसरी लिनुभएको छ ?
– राजनीति भनेको हारेपछि असफल हुने र जितेपछि सफल भन्ने हुँदैन । राजनीति भनेको जनतासँगको सम्बन्ध हो । मैले हारेपनि जितेपनि जनताको काम गरे । जुनसुकै कार्यक्रममा सहभागी भए । म घरमा बसिन । जहिल्यै पनि जनताकै लागि मैले काम गरेको छु । वडाध्यक्ष हुँदा कार्यक्षेत्र अलग थियो । अहिले म पालिकाको सरकार प्रमुखको रुपमा उपस्थिति भएको छु । वडाको कार्यक्षेत्र र पालिकाको क्षेत्र फरक छ । म अध्ययन गर्छु, हेर्छु । कानून र संविधानमा भएको व्यवस्था अनुसार अगाडि बढ्छु ।
अब मैले पार्टीको हकहित भन्दा बढी जनताको हकहितमा लाग्नुपर्छ । मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ । मैले मेरो बचनवद्धता पुरा गर्नुपर्ने छ । मेरो लागि दुई वर्ष धेरै लामो समय हो । म ५–६ महिनाभित्रमा ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिन चाहन्छु । त्यसमा ग्रामथानमा भएको संयन्त्रलाई प्रयोग गरेर सेवा प्रवाहमा कुनै कसुर बाँकी राख्ने छैन । आउने समस्यालाई पनि हल गर्दै अगाडि बढ्छु ।
देशभर चर्चा ग्रामथानको छ, तपाईको जित कसरी संभव भयो ?
– काँग्रेस र एमालेका साथीहरुको जनतासमक्ष राख्ने एजेण्डा केही थिएन । उहाँहरु पुरानै एजेण्डा लिएर हिँड्नु भयो । साथै मलाई मात्रै गाली गरेर हिँड्नु भयो । मैले अन्य १५ जना उम्मेद्वारलाई कहिल्यै गाली गरिन । बरु मैले गर्नसक्ने योजना र कामहरुको बारेमा प्रतिबद्धता जाहेर गरेँ । जनताले मलाई रुचाए । त्यसका साथै मलाई जिताउन यहाँका संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीज्यू, पूर्वमन्त्री विजय विश्वासज्यूहरू लाग्नुभयो । गत भदौ २९ गते पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डज्यू नै ग्रामथानमा आउनु भयो र मलाई पार्टी प्रवेश गराउने भयो । यस्तै पार्टीका धेरै नेता कार्यकर्ता खटेर लागेको कारण पनि जित निकाल्न सहज भयो ।
तपाईका प्राथमिकताहरू के–के छन् ?
– मैले निर्वाचनताका जनतासँग जुन बचनवद्धता जाहेर गरेको थिएँ । ती पुरा गर्नसक्ने खालका छन् । गाउँपालिकामा भ्रष्टाचार छ भन्ने जनगुनासो छ, त्यसलाई अन्त्य गर्छु । विकास, निर्माणको गतिरोधलाई हटाउँदै तीब्रता ल्याउने छु । सबैखाले बेथिति, विसंगतिलाई अन्त्य गर्दै सुशासनलाई जनतामाझ प्रत्याभूति दिन्छु । स्वास्थ्यबिमा कार्यक्रमलाई ग्रामथानबासीको घरघरसम्म पुर्याउने छु । शिक्षामा भएका कमजोरीलाई अध्ययन गर्दै आमूल परिवर्तन ल्याउने छु । सामुदायिक स्कुलप्रति अभिभावकको निराशापन र अविश्वासलाई हटाउँदै विश्वासको वातावरण बनाउने छु । कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरी उत्पादकत्वलाई बढाउन विशेष किसिमको कार्यक्रम ल्याउने छु । सुकुमबासी समस्यालाई समाधान गर्नेछु ।
हरेक जात, जाती, धर्ममा रहेकाले समुदायस्तरबाट संरक्षण र सम्बद्र्धनको काममा गाउँपालिकास्तरबाट कार्यविधि बनाउने छु । उनीहरको कला, संस्कार, संस्कृति र सम्पादा संरक्षणको लागि कार्यविधि निर्माण गर्नेछु । २०७२ सालमा साविका तेतरिया गाविस नेपालको पहिलो बालमैत्री घोषणा भएपश्चात अहिलेसम्मको सूचकहरुको अवस्थाबारे अध्ययन गर्दै ग्रामथान गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न विशेष योजना बनाइने छ । मेरो २ वर्षको कार्यकालमा मोरङको १७ स्थानीय तहमध्ये ग्रामथानलाई उत्कृष्ट बनाउन पहल गर्नेछु । गाउँपालिकाभित्र रहेका कर्मचारीलाई म आव्हान गर्न चाहन्छु, ‘अब तपाईहरुले सही अभिभावक पाउनु भएको छ । तपाईहरुसँग सहकार्य गरेर हामी जनप्रतिनिधिले नीति निर्माण गरेर त्यो कार्यान्वयनको लागि राम्रो वातावरण बनाउने छौं ।’ कर्मचारीलाई भयरहित वातावरणबाट काम गर्ने वातावरण दिलाउने छु । समग्र रुपमा ग्रामथानको समृद्धिको लागि सबैसँग सहकार्य गरेर विज्ञहरुको सल्लाह सुझाव अनुसार पालिकाको अग्रगामी सोच, विकास र समृद्धिको काम गर्नेछु ।
पालिकामा तपाईको पार्टीको एक जना मात्र वडाध्यक्ष हुनुहुन्छ । अन्य पार्टीबाट जितेका जनप्रतिनिधिलाई कसरी मिलाएर लानुहुन्छ ?
– २०७२ को संविधान अनुसार स्थानीय सरकारमा पक्ष र विपक्षीको परिकल्पना गरेको छैन । पुरै गाउँपालिका नै सरकार हो । यहाँ पक्ष र विपक्ष हुँदैन । हाम्रो काम कारबाहीको लेखाजोखा गर्ने अधिकार जनतालाई मात्रै छ । गाउँपालिकामा पक्ष र विपक्ष हुँदैन । जनतामुखी कार्यक्रम ल्याउँदा पक्कै पनि एमाले, काँग्रेस भएपनि त्यो पार्टीबाट निर्वाचित भएपश्चात पार्टीको नेता नभएर जनप्रतिनिधि हो । म पनि माओवादीको नेता, कार्यकर्ता भएपनि अब जनताको प्रतिनिधि भएको छु । सारा जनताहरु हाम्रा हुन् । कुन पार्टी, के पार्टी, फलानालाई भोट दियो, फलानाले भोट दिएन भनेर भेदभाव गर्नेछैनौं । समग्र ग्रामथान गाउँपालिकाको विकासको लागि पार्टीको स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा निर्णय लिँदा सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरुले काँधमा काँध मिलाएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।
तपाईको शपथग्रहणमै उपाध्यक्ष अनुपस्थित भएको देखियो । कतिपय वडाध्यक्षहरु पनि देखिएन । यसलाई कसरी हेर्नुहुन्छ ?
– उहाँहरु कुनै कार्यव्यवस्तताले नआउनु भएको होला । उहाँसँग सहकार्य हुन्छ । उहाँ किन आउनु भएन म बुझ्छु । सहकार्य गर्छु । उहाँ पनि ग्रामथानको हितको लागि निर्वाचित हुनुभएको छ । दुई वर्ष कार्यकाल पुरा गरिसक्नु भएको छ । उहाँलाई पनि पक्कै थाहा होला, ग्रामथानको विकास कसरी हुन्छ । उपाध्यक्षको दायित्व के हो ? अध्यक्षको दायित्व के हो ? वडाध्यक्षको दायित्व के हो ? त्यो सबैलाई थाहा छ ।
ग्रामथानमा बेरुजू बढेको, भ्रष्टाचार रहेको तथा सेवा प्रवाहमा समस्या रहेको विषय आइरहेको छ । त्यसलाई कसरी नियन्त्रण गर्नुपर्छ ?
– हामीले राज्यको कानून, संविधान, विधि र पद्दतिलाई मानेर देश चलाउने हो । विगतमा म जनता थिएँ । अब जनप्रतिनिधि भएको छु । स्थानीय सरकार सञ्चालन ऐनमा निर्दिष्ट गरेका विषय छन् । संविधान छ । त्यसले निर्दिष्ट गरेका व्यवस्था अनुसार म अगाडि बढ्छु । बेरुजू हुन नदिने, समयमै काम सम्पन्न नभएर बजेट फ्रिज हुने अवस्थालाई रोक्नेछु । बजेट तथा कार्यक्रमहरु थप ल्याउन प्रयत्न गर्नेछु । सुशासन कायम गर्न प्रयत्न गर्नेछु ।
विकास निर्माणको काममा यसअघि तपाईले आन्दोलनसमेत गर्नुभएको थियो । अब ती काम हुन्छन् ?
– जनताले आन्दोलन गर्नुपर्ने खालको काम मबाट हुनेछैन । जनताको समस्या, जनताको मागलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुरा म वस्तीस्तरबाटै गर्नेछु । डेलिगेसनको लागि आउनु पर्ने अवस्थाका म अन्त्य गर्छु । कुनै काम गर्नका लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई कन्भिन्स गर्नुपर्छ । विश्वास गर्नुपर्छ । भएको बजेटलाई पारदर्शी बनाउनु पर्छ । के गर्न सकिन्छ र के गर्न सकिँदैन भन्ने विषयमा जनतासँगै छलफल गरेर अगाडि बढ्ने हो । स्थानीय सरकार सञ्चालन ऐनमा पनि प्रष्ट व्यवस्था छ । हरेक योजना र बजेट दिँदा पनि जनताकै राय सल्लाह अनुसार गर्ने हो । सार्वजनिक सुनुवाई गरेर योजना छनोट गर्दा कहिँबाट आन्दोलन गर्नुपर्दैन । आएको बजेटलाई समयमै सदुपयोग गर्ने र समयमै काम गर्ने हो भने जनता असन्तुष्टि हुने अवस्था नै हुँदैन ।